मेघराज सापकोटा- अक्टोबर महिनाको तेश्रो हप्ता जस्तो लाग्छ एकजना अग्रज दाईले मोबाइलको घण्टी बजाए । यस्तै रातको १० बजेको हुनु पर्दछ । उनलाई रसअल खैमह प्रहरीले भोलिपल्ट हाजिर हुन निम्तो दिएको रहेछ । उनी सम्भाबित कारणहरु पहिल्याउदै समाधान पनि बोकेर भोलिपल्ट हाजिर भए र आफ्नो तर्फबाट स्पष्टिकरण दिए ।

युएईको उत्तरी राज्य रसअल खैमहको सानो सहर नखीलबाट झण्डै ३० किमी जति टाढा युएईकै अग्लो पहाड छ। ओमानसँग सिमाना जोडिएको उक्त जब अल जाइस पहाडको उचाई ६,००० फीट भन्दा बढी छ । जबअल जाइस पहाडको बनौट, पहाडको बिचबाट पथ्थर काटेर बनाईएको चौडा बाटोको दृश्य झनै रमाइलो छ । फेदी भन्दा झण्डै १० डिग्री कम तापक्रम रहने उक्त पहाड गर्मीमा पनि चिसो नै रहन्छ । पहाडबाट देखिने मनोरम दृश्यले जो कोहीलाई नै लोभ्याउने नै भयो । यस्तै लोभ्याईले ती दाईलाई हाजिरी गराएछ प्रहरी थानामा ।

दाई पनि बलियै थिए । युएईमा आईपर्ने सानो तिनो झैझमेला त सित्तैमा मिलाईदिने उनलाई यसले भने झण्डै झण्डै गार्हो पो बनायो । अनजानमा गल्ती भएकोले फेरीदेखी नदोहोर्याउने बाचा गर्दै अली माथिकै च्यानल लगाएर उनी एकपल्टलाई छुटे ।
सम्बन्धित ब्यक्तीले नै यो कुरालाई बाहिर नल्याउन भने पनि मलाई चाँही यसले निकै घोची रहयो । छटपट भईरहयो । लेखौ कि नलेखौ द्विबिदा हुँदा हुँदै यति त लेख्न पर्ने नै भयो र आज लेखें । नलेखी लुकाउनु भन्दा लेखेर भोली पर्न सक्ने सम्भाबित दुर्घट्नाको लागि अहिले नै झकझक्याउन सके भलो हुने ठाने ।
केही महिना पहिले भएको लोकसेवाको परिक्षामा गुल्मी जिल्लाबाट मात्रै ३५ जनाले पास गरेको सुनेको थिएँ । त्यसो त लोकसेवा मार्फत धेरै परिक्षार्थी पास हुने भनेर स्याङ्जा, झापा र गुल्मी जिल्ला चिनिएका छन । कसैकसैले यी जिल्लाको हावापानी नै त्यस्तो भनेर पनि भन्ने गर्छन् ।
नेपालीहरुको लागि आजकल युएई त्यस्तै त्यस्तै हुँदै गएको आभास हुँदैछ । युएईमा धेरै कलाकर्मीहरु जन्मिदै छन । एक दिन एक दिन बिराएर गीतहरु लेखिन्छन, गीतहरु गाइन्छ्न, गीतहरु नाचिन्छन र गीतहरु छापिन्छन ।
युएईमा रहेर गला र कलामा अब्बल देखिएका आफ्नो अन्तर्निहित प्रतिभालाई प्रस्फुटित गराउन नपाएका कलाकारहरुको लागि यो अवसर अत्यन्तै खुशीको कुरा हो । दिनभरी कसैको काम गरेर उब्रिएको हप्ताको १ दिनलाई संगीतमै समर्पित गराउन सक्ने जोसलाई सलाम गर्नै पर्दछ । अवसरले नै हो दक्ष प्रतिभालाई बजारमा ल्याइदिने । त्यो अवसर अहिले युएईमा देखिएको छ ।

युएईमा रहेर निरन्तर लोकगीतको क्षेत्रमा लागिपर्ने गोपी कृष्ण पङेनी, आधुनिक गायिका रेखा घिमिरे, सुमन उदय, रुन्चे गायक प्रकाश पौडेल छुटाउनु नहुने गहना हुन । यिनीहरुले आफ्नो जागिर सँगँगै गायनलाई निरन्तरता दिएर आफुलाई नेपाली गीत संगीतमा स्थापित गरेका छन । त्यसैगरी उत्तरी इमिरेट्समा रहेका राम सापकोटा, दुबईका नन्दु राई, रनु जबेगु, क्षितिज चिन्तन, चुमन काउछा, अर्जुन भण्डारी, हरी डुम्रे, गगन बिके, बुनु उप्रेती आदी धेरै कलाकारहरु युएईमा भेटिन्छन् । म आफु पनि गीत संगीतको पारखी भएकोले यी सबैलाई मेरो नमन ।
मैले फेरी पनि दाईकै प्रसँग जोड्दै छु । दाईका केही मिलनसार साथीहरु जो संगीत क्षेत्रमा बिशेष दखल राख्दथे, नेपालबाट युएई घुम्न आएका रहेछन । घुमाईकै शिलसिलामा उनीहरुले एउटा म्युजिक भिडियो पनि बनाई हाले । त्यो म्युजिक भिडियोको छायांकन पनि त्यही जबअल जाइसको पहाडमा भएको थियो । युटुबमा अपलोड गरिएको उक्त भिडियोमा दाईकै सवारीसाधन प्रयोग गरिएको थियो । सवारीसाधनको नम्बर प्लेटबाट दाईलाई चिन्न प्रहरीलाई के गार्हो थियो र ?
ब्यक्तीगत प्रायोजन बाहेक ब्यापारिक प्रायोजनको लागि बनाइने म्युजिक भिडियोहरु खिच्नको लागि कसको अनुमती लिईस ? उनलाई सोधिएको पहिलो प्रश्न यस्तै थियो । टुरिजम बोर्डको लिएको हो ? च्याम्बर अफ कमर्शको लिएको हो ? जसजसको लिनु पर्ने हो त्यस त्यसको अनुमती लिएको हो ? हैन भने अनुमती नलिईकन किन खिचेको ? तेर्स्याइएका प्रश्नहरु यस्तै थिए ।

आजकल युएईमा नेपाली म्युजिक भिडियो छायाँकन गर्ने लहर नै चलेको छ । त्यसो त नेपालमा प्रतिष्ठित गायकहरुका ३०० भन्दा बढी म्युजिक भिडियो तयार पारेका निर्देशक मुनालशिशिर कोइराला जी धेरै लामो समय देखि युएईमा रहेर भिडियोहरु तयार पार्दै हुनुहुन्छ । यसले गर्दा मोडलिङमा क्षमता भएर अवसर नपाएकाहरुले पनि आफ्नो प्रतिभा देखाउने मौका मिलेको छ । युएईमै रहेका अन्य केही मित्रहरु पनि दुबई शहरका मनोरम दृश्यहरुलाई आफ्नो क्यामेरामा कैद गर्दै बिभिन्न म्युजिक भिडियोहरु बनाउदै गरेको देख्न सकिन्छ । केही दिन पहिले मात्र नेपाली नायिका खुस्बु खड्का र गायिका सहिमा श्रेष्ठले पनि युएईमा आएर म्युजिक भिडियो छायाँकन गरेर फर्किसकेका छन । अहिलेसम्म कति नेपाली म्युजिक भिडियोको छायाँकन युएईमा गरियो भन्ने यकिन तथ्याँक नभए पनि २० वटा भन्दा बढी छायाँकन भएर बजारमा आईसकेको अनुमान छ भने छिट्टै नै यो संख्याले १०० छुने सम्भावना पनि त्यत्तिकै देखिन्छ ।
त्यसो भए स्थानिय प्रशासनको अर्को बोलावट कसलाई होला ? हो मेरो चिन्ताको बिषय यही हो । भिडियोमा देखिने सवारीसाधनका मालिक ? मोडल ? गायक ? छायाँकार ? वा निर्देशक ? कसले धाउनु पर्ने हो तारिक ? कसले तिर्नु पर्ने हो भारी रकमको सजाय ? सुरक्षाका कारणले सम्बेदनशिल बन्दै गएको मध्यपुर्बको अवस्थामा हामी कतिन्जेल ढाट्न सकौला ? कतिन्जेल छक्याउँला ?
अनी कथमकदाचित कसैले प्रहरीलाई पोल लगाइदिए भनें त्यसको जरिवाना कति होला ? कसले तिरिदेला ? मेरो चिन्ता यही हो । निर्णय हजुरहरुकै ।
