खाडीबाट परदेशीको प्रश्नः खाडीका उम्मेदवारको प्रतिवद्धता के ?

 

विष्णु न्यौपाने “परदेशी”, साउदी अरब

देश ढलेको छ, मुटु  जलेको छ सडक र पेटीमा राँको बलेको  छ !
अधिकारको नाउँमा गोलि चलेको छ,  नामर्द नेता ट्वाल्ल परेको छ !!
विदेशिनेको संख्या ह्वात्तै बढेको छ, महंगाईले हिमाल चुली चढेको छ !
बिदेशमा श्रमको शोषण बढेको छ, तैपनि रेमिट्यान्स देशमै चढेको छ !!
बिदेशी नीति खुकुलोको कारण, विदेशीले हेप्नु स्वाभाविक बनेको छ !
अन्यायमा पर्दा न्याय दिने कोहि छैन त्यसैैले “परदेशीको“ मनै डढेको छ !!
 

चर्चा परिचर्चाः देशमा यस्तो दैवी प्रकोप आयो कि बयान गरि साध्य छैन । त्यसमाथि देशका भ्रष्ट नेताहरुले देशलाई बर्वाद पारिसके । न्यायको नाउँमा लाठि, बज्रिएको छ । आफ्नो दुनो सोझ्याउन पापी केहि रावण नेताहरुले द्वन्दचर्काएका छन् ! हामी नेपाली जनता हाम्रो परिचय नेपाली भनेर माग गरेका छौं तर पापीहरु जात,धर्म, मजहब, सम्प्रदायको नाउँमा देशलाई टुक्रा टुक्रा पार्न  तत्पर छन् । संविधानको मस्यौदा पनि देखियो के हालत भयो ? अझै के हुँदै छ र अझै के हुने हो ? न देशमा उज्यालो छ, न जनताको मनमा खुशी, न बिदेशमा श्रमिक सुरिक्षित छ, न परिवारमा खुशी । न्याय माग्न कहाँ जाने हो जब आफ्नै सरकार मूढ़ छ ! यस्तो अवस्थामा विदेशबाट विभिन्न संघ संस्थाहरुले आफ्नो अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम गर्दै आवाज उठाउँदै आएका छन् तर ती मध्ये कति आवाजहरु श्रम मुखी(मैत्री) छन् भने कति पार्टी मुखी त कति गुण्डा मुखी । तिनै गुन्डाका संरक्षक सरकार मुखी केहि नेता ! 

सन्दर्भ संघ संस्थाको: हालै संसारभर तातो तातो खबर, चर्चा परिचर्चा एन आर एन कै छ । खै यसको बिदेशमा जन्म हुँदा परिभाषा यो संस्थाले कसरी बोकेर ल्यायो कुन्नि “माथिको माथि तलको तल” जहाँ न्युन ज्यालामा काम गर्ने श्रमिकको आवाज नै माथि पुग्न सक्दैन, सकिरहेको छैन । खाडी मुलुकको एनआरएन भर्यांग बनेको छ ! बल्ल बल्ल कमाएको पसिनाको थोपा खाडी मुलुकबाट नै एनआरएनमा पंजीकृत सदस्यबाट पुगेको छ । पछिल्लो उदाहारण साउदी अरबकै कुरा गरौं । २०१३–१५ मा झन्डै ४०० प्रतिशतले उँभो लाग्यो यो संस्था । धेरैको योगदान राम्रो थियो र छ पनि । तर पहुँच भने प्रायः शुन्य छ साउदी अरबबाट ।

एनआरएनको अन्तराष्ट्रिय महाधिवेशनः आगामी अक्टोबर १४,१५,१६ र १७ मा हुँदै छ भन्दा संसारमा छरिएर रहेका नेपालीहरुको चासो बढेको धेरै संजाल मार्फत देख्न पाइयो ! साउदीबाट पनि उत्सुकताका साथ जान पाइने भयो भन्ने एउटा गरिब भाइको भनाइ थियो ।

भाइको भनाइ: दाजी हामीले त एनआरएनको लागि मरीमेटी रातदिन खटेर काम गरेम् नि अनि आफ्नै संस्थाको अधिवेशनमा जान पनि शुल्क लाग्ने यो कस्तो न्याय हो र मैले त बुझिन नि दाजी ! म केहि दिनमा नेपाल जाँदै छु ! मेरा साथी २ जना अस्तिनै १ महिना पहिला नेपाल गैसके ! हामीलाई महाधिवेशनमा जाने एकदम ठुलो धोको छ तर दाजी मेरो घर पूर्व झापा पर्छ ! दशैंको रेला, गाडी पाउन कठिन, अनि त्यहि माथि बन्द हड्ताल कतै आउन पाइएन भने मैले बुझाएको २०० रियल त च्वाट हुन्छ नि दाजी ! येसो गरम् न, नेपाल जाने, सिधै काठमाडौँ सम्मेलनमा पुग्ने, त्यहिं परिचय पत्र देखाउने शुल्क तिर्ने अनि भित्र पस्ने कुनै उपाय छ भने हल निकाल्ने प्रयास गर्नुस न है !

अर्को सानो भाइ भन्छनः  ओहो दाजु त्यत्रो पैसा तिरेर हामी त्यहाँ गएर के पाइन्छ र ?नेपालको काठमाडौँ स्थित पाँचतारे सोल्टी होटेलमा हुँदै छ रे ! दैव जानुन कति बियर र ह्विस्कीका बोतल फुट्ने होलान ! कति लाखौंको चुना लाग्ने होला ! बरु खुल्ला मैदानमा गरेको भए त सबै आम नेपालीले देख्ने थिए नि हैन र दाइ ? बेकारमा हामी जस्ता सदस्यबाट लिएको रकम दुरुपयोग हुने भयो ! बरु त्यहाँ खर्च हुने पैसा कुनै बेखर्चीलाई अरव वा मलेसियाबाट घर फर्काउन प्रयोग गरे कति सुन्दर हुन्थ्यो होला ?आखिर त्यो भोजमा हामी जस्तो साउदीबाट जाने निम्छरोलाई उसैपनि कसले पो हेर्ला र ? त्यसैले खै दाइ म त जान्न होला !

म परदेशीको मनमा चसक्क चस्को पस्यो । मैले जे जानकारी पाएको थिएँ सम्झाउने प्रयास गरेँ । भाइ हो यो निर्देशन सचिवालयबाट नै आएको हो ! हामीले जाने भए शुल्क र परिचय खुल्ने  कागजात  पहिले  नै जम्मा  गर्नु  पर्छ । साउदीबाट बिशेष उपस्थिति भयो भने पक्कै पनि खाडीको आवाज माथि गुन्जिने छ । खाडीबाट नेतृत्व पंक्ति खडा गर्न सकिने छ । त्यसैले तिमि हामी सबै जानु पर्छ भनि सम्झाउने प्रयास गरेँ ।

अर्का एक साथिको प्रतिप्रश्नः साउदीबाट श्रमिक हक हितका मुद्धा धेरै उठेका हुन् । जसले यो संस्थालाई हृदय देखि मायाँ गर्नु हुन्छ, जसले श्रमिक हित(अधिकार सुनिश्चितता) को लागि रात दिन खटेर एनआरएन लगाएत सरकारको माथिल्लो निकायसम्म आवाज उठाउनु भयो त्यस्ता व्यक्तित्वहरुको साउदी लगायत खाडीको आवाजलाई माथिबाट बेवास्ता गरेको तीतो यथार्थ छ । गत २०१४ को बहराइन भेला देखि यता साउदीमा कत्रो आँधी बेहरी आयो, श्रमिकको हितको लागि एनआरएन साउदीले न्युन ज्यलादारिहरुको लागि भनेर सबै भन्दा कम सदस्यता शुल्क ३० रियल मात्र निर्धारण गर्यो । मध्यपूर्व लगायत खाडीका अन्य मुलुकको लागि पनि सो कार्वान्वयनको माग गरियो । आखिर खै त कहीं कतै साउदीले गरेको महान निर्णय प्रति एनआरएनको माथिल्लो निकायबाट प्रतिक्रिया, प्रशंसा, सुझाव आयो त ? उल्टै शुल्क वृद्धि गरेर मजदुरको ढाड सक्ने काम भयो । तर साउदीका हामी सबै मिलेर शुल्क वृद्धिको बिरोधमा उत्रियौं अन्ततः बल्ल आएर आइसिसिले साउदीबाट पंजीकृत सदस्यको शुल्क ३ डलर बुझ्न बाध्य भयो !

यी कुरा सुनिसकेपछि मैले ठानें खाडीको आवाजलाई बुलन्द गराउनको लागि, खाडीबाटै त्यस्तो श्रमिक सोच भएको महान व्यक्तिको खाँचो छ । अब जुट्नु आवश्यक छ । एनआरएनको यात्रा हो तेसैले:

जीवन यस्तो यात्रा हो साथि, जहाँ चुनौती र अप्ठ्याराहरु भेटिन्छन धेरै

जीवन यस्तो संगम हो साथि, जहाँ राम्रा भन्दा नराम्रा जोडिन्छन धेरै !

अनमोल छ जीवन यहाँ सबैकोमुल्य बिनानै दिल यहाँ तोडिन्छन धेरै !

सबैमा हुन्छ विचार आ आफ्नै, कोहि हुदैनन् एउटै यहाँ, फोडिन्छन धेरै !!

दौडिन्छ जो पुग्छन धेरै अगाडी,सबै शिखरमा पुग्दैनन यहाँ, छोडिन्छन धेरै !

उर्लिन्छन मनमा असिमित छालहरू पाउदैनन सबै फक्रिन यहाँ, गोडीन्छन धेरै !!

चुनौती : खै कसरी बुझाउँ ? महाधिवेशनको लहर संसारभर चल्दै छ ।  खुल्ला प्रवेशको नीति अपनाएको भए साउदीबाट उपस्थिति बढ्थ्यो कि जस्तो लाग्छ । उमेद्वारी कुन कुन देशबाट छ कुन्नि र के के घोषणा पत्र बनाएका छन् ?अबको कार्यकालमा साउदी लगाएत खाडी मुलुकबाट प्रतिनिधित्व गर्नेले के गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् हेर्न बाँकी छ !

जहाँ बाट उपस्थिति बढी हुन्छ त्यहाँको आवाज बुलन्द गर्न सकिन्छ भन्ने रुढिबादी सोंच हो भने पक्कै पनि साउदी अरबले हार ब्यहोर्नु पर्ने होला । जे देखियो त्यो लेख्न आज यो परदेशी बाध्य छ । गैर राजनीतिक संस्था भनेपनि राजनीतिको कोल्टो भित्र नै यो महाधिवेशन हुने यो परदेशीको पूर्व अनुमान छ ।

अबको कार्यकालमा हेर्न बाँकी छ :

  • अब ती भुकम्प पिडितलाई आवास बनाइदिने घोषणा कहाँको पिडितको उद्धार हुने हो हेर्न बाँकी छ ।
  • बैदेशिक रोजगार ऐन २०६४ त्यति प्रभावकारी रहेन । अबको नीतिमा खाडी मुलुकमा कामदार पठाउनु अघि सम्बन्धित देशको दुताबासको प्रमाणीकरण र अनुमति लिएर सम्बन्धित देशको परराष्टसंग समन्वय गरी ज्याला निर्धारणको नीति खै कसले उठाउला हेर्न बाँकी छ !
  • बैदेशिक रोजगारीमा जाने प्रवृति र श्रमिकको हैसियत, अनुभवको आधारमा अन्यायमा नपरुन् भन्ना खातीर हरेक देशमा लेवर टास्क फोर्स कमिटी बनाइ सम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगसँग समन्वय गरि श्रम बजार फष्टाउने नीति कसले ल्याउँछ हेर्न बाँकी छ ।
  • श्रम बजारमा महिलाको सुरक्षाको ग्यारन्टी बारे कस्तो कानुनी संरचना ल्याउँछन हेर्न बाँकी छ ।
  • खाडी मुलुकका घरेलु कामदारलाई ब्यवस्थीत गर्ने कार्यविधि सम्बन्धि आवाज कसले ल्याउँछ हेर्न बाँकी छ ।
  • बिदेशमा काम गर्दा गर्दै ज्यान गुमाएका र गुमाउने श्रमिकको जीवन बिमाको लागि कस्तो कार्य योजना ल्याउँछन हेर्न बाँकी छ ।
  • नेपाल सरकार  परराष्ट मन्त्रालयले बिदेशमा रहेका एनआरएनए लगाएत सम्पूर्ण श्रमिकहरुको हक हितको लागि सरोकारवालासँग कस्तो नीतिको माग गर्छन हेर्न बाँकी छ ।
  • नेपालबाट छिमेकी मुलुक हुँदै खाडी तथा बम्बैमा बेचिने नेपाली चेलीको उत्थान सम्बन्धि कुन महान व्यक्तिले आवाज उठाउँछ हेर्न बाँकी छ ।
  • झुटा सम्झौता पत्र बनाएर लाखौं ठगेर विदेश पठाउने दलालहरुको बिरुद्ध कडा कानुनको माग गर्दै आवाज बुलन्द बनाउने घोषणा कस्तो हुने हो हेर्न बाँकी छ ।

अन्तमा: नेपाल र नेपालीको आवाज एउटै होस्, नेपालीको भलाइ हुने संविधान बनोस्, परदेशमा नेपालीको न्याय होस्  ।नेपालको शिक्षा नीति एउटै होस् । गरिवको उत्थान होस् । नेपालको जय होस् । नेपालीको जय होस् । एनआरएनको जय होस् ।।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय