१० गते १० बजेः देश परदेशका छ बर्ष

यतिबेला प्रवासमा हजारौं व्यक्ति नेपाल फर्काइको प्रतिक्षामा छन् । उनीहरु कार्यरत मुलुकमा कोभिड १९ को महामारी सुरु भयो, त्यो उच्च शिखरमा पुग्यो र महामारी अहिले विस्तारै घट्दै गएको छ । सोही महामारीकै कारण कतिपयको जागिर गयो, खान समेत अरुको भर पर्नुपर्यो तै पनि उनीहरुको घर फर्किने दिन आएन । यसबीचमा थुप्रै स्वदेश फर्केका छन् तर ति फर्किनेहरुको भीडमा ठूलो संख्या पहुँचवालाहरुको थियो भन्ने गुनासो छ । अनी चर्को हवाई भाडा तिरेर फर्किन सक्नेहरुले मात्र स्वदेश टेक्न पाए । जो वास्तविक पीडित हुन् तिनिहरु अहिले पनि पीडामै छटपटिरहेका छन् स्वदेश फर्किने आश सहित । तर प्रवासमा श्रमरत श्रमिकले भोगेको यो समस्या न त पहिलो हो न त अन्तिम नै । यस्ता समस्या सदैव उनीहरुकै भागमा पर्दै आएको छ ।

रोजगारीका लागि परदेशिनु कसैको रहर होइन, बाध्यताले डोर्याउँदै पुर्याउँछ । पाइलैपिच्छेजसो ठगिएका र कतिपय अवस्थामा बेचिएका समेत हुन्छन् उनीहरु । परिवारको बस्ने बास र खाने गाँसको जोहो गर्न विदेश जानेहरुमाथि विगतमा हुने शोषण वर्तमानको भन्दा चर्को थियो । तर उनीहरुका पक्षमा बोल्ने, आवाज उठाउनेहरुको संख्या तुलनात्मक रुपमा कम थियो । कोहि चाहिन्थ्यो जसले वैदेशिक रोजगारमा जान चाहनेहरुलाई आफ्नै जन्मभूमिमा लुट्नेहरुका विरुद्धमा बोल्नु आवश्यक थियो । कोहि चाहिन्थ्यो जसले आफ्नै भाइबन्धुको नाममा परदेशमा श्रमिकलाई ठग्न र चुस्न बसेकाहरुका विरुद्धमा आवाज उठाउन जरुरी थियो । हो, त्यहि आवश्यकता महशुश गर्दै देश परदेश डटकम सुरु गरिएको हो ।

देश परदेशको ६ बर्षमा हामीले त्यहि विकृति विसंगति विरुद्ध बोल्ने, पीडितको न्यायका लागि आवाज उठाउने प्रयत्न गर्यौं । वैदेशिक रोजगारका क्रममा देश परदेशमा हुने ठगिका विरुद्धमा हामीले निरन्तर आवाज उठायौं । नेपाल देखि मलेशिया र कतारसम्म तथा युएई देखि साउदी र कुवेतसम्म नेपाली श्रमिकलाई ठग्नेहरुका विरुद्धमा हामीले निरन्तर आवाज उठाइरह्यौं । यसक्रममा थुप्रै सञ्चारकर्मीहरुले स्वदेश र विदेशबाट देश परदेशका लागि योगदान गरेका छन् । निडरतापूर्वक उनीहरुले गरेको प्रयत्नकै कारण विकृति विसंगतिमा संलग्न कतिपय व्यक्तिहरु निरुत्साहित भए, यो प्रवृत्ति निरुत्साहित भयो जसले थप व्यक्ति पीडित हुने क्रममा कमि आयो । वैदेशिक रोजगारको समग्र क्षेत्रमा रहेको विकृति विसंगति कम गर्न यसले पनि मद्धत गर्यो भन्ने हाम्रो बुझाई छ ।

तर विकृति, विसंगति विरुद्ध आवाज उठाउनु त्यति सहज छैन । धेरै व्यक्तिलाई ठगेर कमाएर बसेकाहरु, साम, दाम, दण्ड र भेदको नीति अनुरुप चल्न जानेकाहरु विरुद्ध बोल्नु आफैंमा चुनौतिपूर्ण कार्य हो । हो, हामीले त्यति चुनौति स्वीकार्यौं र सोही अनुरुप काम काम गर्यौं । यसमा हामीले यस्ता प्रवृत्ति विरुद्ध लागेकाहरु र मूलभूत रुपमा वैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारको क्रममा रहेकाहरु तथा उनीहरुका परिवारका सदस्यहरु, सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरतहरुको बलियो साथ पाएका छौं । यो हाम्रा लागि सम्पत्ति हो भन्ने हामीले ठानेका छौं ।

एकातिर विकृति विसंगति विरुद्धको अभियान र अर्कातर्फ सुरक्षित वैदेशिक रोजगारका बारेमा सचेतना फैलाउने हाम्रो प्रयत्न रह्यो । यसक्रममा सुरक्षित वैदेशिक रोजगारका बारेमा आवश्यक सुचना, जानकारी सम्वद्ध पाठकहरुसम्म पुर्याउने काम हामीले गरिरहेका छौं । यो क्रम निरन्तर जारी छ ।

देश परदेशले सुरु गरेको हराएका परदेशी खोज्ने अभियान निक्कै सफल रहेको छ । वैदेशिक रोजगारमा गएर बर्षौंसम्म परिवारको सम्पर्कमा नरहेकाहरुलाई खोज्ने हाम्रो अभियानमा थुप्रै व्यक्तिले नेपाल र विभिन्न गन्तव्य मुलुकबाट सहयोग गर्नुभएको छ । त्यहि एकिकृत प्रयत्नको फलस्वरुप १९ जना त्यस्ता व्यक्तिहरु हाल परिवारको सम्पर्कमा आएका छन् जुन सुखद कुरा हो । हामीले फ्रिभिसा, फ्रिटिकटको प्रभावकारी कार्यान्वयनको पक्षमा उठाएको आवाज होस् वा वैदेशिक रोजगारबाट महामारीका कारण स्वदेश फर्किन चाहनेहरुलाई फरक व्यवहार गर्नुहुन्न भन्ने अभियान सवैमा हामीले देश र परदेशबाट राम्रो साथ, सद्भाव पाएका छौं । गरे के हुन्न र भन्ने स्तम्भ मार्फत स्वदेशमै उद्यम गरिरहेकाहरुको सफलताका कुरा देशपरदेशको रुचाइएको अर्को हाम्रो प्रयास थियो । हामी प्रयोगमा विश्वास गर्दछौं र सीप, समृद्धि र सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चार माध्यम मार्फत गर्न नीति निर्माता देखि आम नागरिकसम्मलाई झक्झक्याई रहन्छौं ।

२०७१ असोज १० गते १० बजे देश परदेशमा रहेका हजारौं नेपालीले एकैपटक सामाजिक सञ्जालमा लेख्दै देशपरदेश सुरु भएको जानकारी गराउनु भएको थियो जसलाई हामीले हाम्रो औपचारिक सुरुवात मानेका थियौं । आज त्यो यात्राले सात बर्ष टेकेको छ ।

यो सात बर्षको बीचमा नेपाली पत्रकारितामा वैदेशिक रोजगारको विषय महत्वपूर्ण बीटको रुपमा स्थापित भएको छ । हिजो यसविषयमा सिमित सञ्चारमाध्यमले मात्र लेख्ने गरेकोमा हाल प्रायः सवै नेपाली सञ्चारमाध्यमको महत्वपूर्ण बीट वैदेशिक रोजगार बनेको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउँदै श्रमिकमूखि पत्रकारिता हिजोको तुलनामा अहिले बलियो बन्दै गएको छ, यो सुखद पक्ष हो ।

सात बर्षको यात्रा सुरुवात गर्दै गर्दा यसबीचमा देश परदेशका लागि योगदान गर्ने सम्पूर्णमा हार्दिक आभार । श्रमिकमूखि पत्रकारिताको हाम्रो यात्रा निरन्तर जारी रहनेछ । यसमा विगतमा जस्तै तपाईको साथ, सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय