“अर्को गर्मीमा दोहा जानु पर्ला, त्यहिं गएर बुझेपछि कुनै उपाय त लाग्ला नी”

लमजुङको पहाडी गाउँको एउटा सानो घर । वरीपरी कोदो र मकै फल्ने थोरै पाखो बारी छ । गोठमा केहि गाई र वाख्रा छन् । लाग्यो, यसैमा अलमलियो भनें जुनी दुःखै दुःखमा वित्नेछ । दुईचार पैसा खेलाउन पनि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हुनेछ । हो, यहि पीरले कतार उडायो शुकबहादुर तामाङलाई पनि ।

नाम खुवै सुनेको थियो कतारको । तर थाहापत्तो थिएन त्यो विरानो मुलुक कस्तो छ भनेर । लाग्यो नेपाल जस्तै त होला । दुःख नै गर्नुपरे पनि कमाई त रियालमा हुन्छ नी । त्यसलाई नेरु बनाउँदा अलिक धेरै हुन्छ भन्ने पनि थाहा थियो उनलाई । त्यहि रियालको सपनाले तान्यो शुकबहादुरलाई लमजुङको एउटा पहाडी गाउँबाट मरभूमिको विरानो देशसम्म । ७ बर्ष अघि एउटा ठूलो जहाज चढेर कतारको दोहा उत्रिंदा जीवन यति बैरागलाग्दो होला भन्ने कल्पना पनि त थिएन ।

कतारको राजधानी दोहाबाट झण्डै ७०–८० किलोमिटर टाढा जमेलियाको मरभूमिका बीचमा एउटा हरियो बगैंचा छ । वरीपरी अग्ला–अग्ला रुख छन् बीचमा हरियो तरकारीको फाँट । स्थानीय भाषामा ‘मजरा’ भनिन्छ यसलाई। अर्थात शुकबहादुरको भागमा नेपालमा तुच्छ ठानेर आएको उहि खेतीपातीकै काम परेको छ ।

मरभूमिको बालुवामाथि माटो छरेर तयार पारिएको जमिनमा मलजल गर्दै तरकारी छर्नु, त्यसलाई गोडमेल गरी हुर्काउनु र बेचविखनका लागि तयार पार्नु उनको ‘जागिर’ हो । उनीजस्तै ६ जना त्यहि मरभूमिमा बर्षौंदेखि यसरी नै तरकारी फलाइरहेछन् देख्नेले आश्चर्यले जिव्रो टोक्नेगरी ।

परदेशको बसाई पनि अचम्मकै छ । मजरामा दुईजना बंगाली छन्, एकजना सुडानी अनी तीनजना नेपाली । नेपालीले बोलेको बंगाली र सुडानीले बुझ्दैनन् अनी उनीहरुले बोलेको नेपालीले । बंगाली र नेपालीलाई त साथि छन् कुराकानी गर्न, सुडानीको भनें विजोक नै छ । इशाराकै भरमा कुरा बुझ्नु पर्छ । “के के न खाउँला भनेर आएको यो कालेको हेर न कन्तविजोग” शुकबहादुरले उ तिरै हात तेस्र्याएर गिज्याउँदै हो  …. हो ……  हो …… गरेर हाँस्दा पातलो ज्यानका अग्ला ति सुडानी भनें सेता दाँत टिलिक्क टल्काउँदै मुस्कुराए । विचराले बुझे पो ।

तर कुरो शुकबहादुरको पनि कम टिठ लाग्दो छैन । गतिलै कमाइ होला र बर्षभरी खानपुग्ने धानखेत जोडौंला भनेर कतार हान्निएका उनी पनि ७ बर्षदेखि उतै फसेका छन् । सुरुमा गएको कम्पनीले उनलाई चुर्लुम्मै डुवायो । विहान ४ बजे उठेर काममा गयो सुत्ने ठाउँमा फर्किंदा ८ बजिसक्छ । महिनाभरी जोतियो जम्मा हात पर्छ ६ सय रियाल । बस्न त सित्तैंमा दिएको थियो, खाने र फोन खर्च काट्दा महिनामा २ सय रियाल जोगाउन पनि हम्मेहम्मे पर्यो । त्यसैले कतारमा जुनी नै काटेपनि नेपालमा गरिखाने मेलो मिलाउन सकिएला भन्ने लागेन शुकबहादुरलाई । कतार उत्रेको ५ महिना पछि एकरात उनले निर्णय गरे अव भाग्छु ।

भोलिपल्टै उनी भाग्न त भागे तर समस्याले उनलाई छोडे पो । भनिन्छ नी ‘बर्मा गए कर्मसँगै नेपाल आए कपालसँगै ।’ ठ्याक्कै भयो पनि त्यस्तै । गाउँले एकजना साथिको चिनारु थिए जमेलियाको मरभूमिको बीचमा कतै भेडीगोठ रुँगेर बसेका । उनैलाई खोज्दै त्यहाँ पुगेपछि उनले काम पाए तरकारी लगाउने । जुन काम अहिले पनि चलिरहेकै छ । खान बस्न कपिल (मालिक) ले नै दिएको छ । तलव हातपर्छ महिनाको ८ सय रियाल । कमाई नराम्रो छैन । तर समस्या अरु नै छन् ।

भागेर मजरा पसेदेखि उनले दोहा देखेका छैनन् । यो सात बर्षको बीचमा दोहामा कति अग्ला घर बने, साँझ ढल्केपछि दोहामा कति धेरै झिलिमिलि हुन थाल्यो यो उनको चासोको विषय पनि त होइन । सर्लक्कै जीउ नै सुकाइदेला की भने झैं गरी लाग्ने घाममा पूरै जीउ ढाक्ने लुगा लगाएर अनी मुखमा पनि देशी तौलिया बाँधेर केवल आँखा मात्र देखाएर काममा जुट्दै उनलाई फुर्सद पनि कहाँ हुन्छ र ? केवल ध्याउन्न छ त अव जसरी पनि नेपाल फर्किने ।

उमेरले ३४ छोइसक्यो । अव बैंश पनि त जान लाग्यो । नेपाल फर्केर विहे गर्न बाँकी नै छ । घरमा आमा र दुई बहिनी छन् । एउटा भाइ मलेसियामा यस्तै दुःख भोग्दै छ रे । फोनमा कुरा गरेपिच्छे आमा र बहिनीले घर फर्की भनेर कर गरिरहन्छन् । अझ दशैं र तिहारको छेको पारेर त फोन गर्नै हुन्न, बोलावटमा अलिअलि रोदन पनि मिसिन्छ । लुकेर बसेका उनलाई घर फिर्तिको बाटो कस्तो हुन्छ भन्ने पनि थाहा छैन । “खै अव अर्को गर्मीमा दोहा जानु पर्ला, त्यहिं गएर बुझेपछि कुनै उपाय त लाग्ला नी” उनले गरेको निधो यहि हो । तर ‘केहि पैसा बोकेर घर फर्किने’ आशमा यसरी नै हरेक बर्षका उनका गर्मीहरु कतारको मरभूमिमा सुलुलु चिप्लिरहेछन् ।

(तामाङको आग्रहमा उनको तस्वीर प्रकाशित गरिएको छैन)

कुवेतमा दुई हप्ता सार्वजनिक विदा, फेब्रुअरी २७ पछि कुवेत फर्केकाले अनिवार्य स्वास्थ्य परिक्षण गराउनुपर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय