फसाउला है वैदेशिक रोजगारको नाममा फेसबुकमा आउने विज्ञापनले

मकवानपुरका राजन तामाङको दिनचर्या हिजोआज दलाल खोजेरै वित्छ । स्पेनमा मासिक ७ सय अमेरिकी डलर(झण्डै ७५ हजार) तलव हुने र प्रशस्त ओभरटाइम पाइने काम भएका कारण न्यूनतम पनि मासिक एक लाख कमाइ हुने प्रलोभन देखाउँदै उनीसँग ४ लाख रकम लिएका विनोद भनिने एक व्यक्ति फरार छन् । न त उनीसँग ति व्यक्तिलाई दिएको रकमको भपाई छ न त उनको कुनै कार्यालयको ठेगाना नै । फेसबुकमा देखेको विज्ञापनमा दिइएको नम्वरमा फोन गर्दै दलालसँग पुगेका उनी अहिले पुर्पुरोमा हात राख्नु पर्ने अवस्थामा छन् ।

राजन जस्तै पीडितको संख्या पछिल्लो समयमा निक्कै बढेको छ । फेसबुकमा निक्कै आकर्षक ढंगमा विना कुनै ठेगाना, केवल फोन नम्वर सहितका त्यस्ता विज्ञापनको जालमा परेर रकम डुवाएकाहरुको निवेदन प्रहरीमा बढ्दो क्रममा छ ।

विशेषगरी यसरी फेसबुक मार्फत रकम उठाउनेहरुले मध्यमवर्गिय र ठूलै रकम खर्च गर्नसक्नेहरुलाई लक्षित गर्ने गरेका छन् । उनीहरुले युरोपका विभिन्न मुलुकको रोजगारीको प्रलोभन देखाउँदै विज्ञापन प्रकाशित गर्दछन् । रोमानिया, चेक गणतन्त्र, मौरिसस लगायतका मुलुकमा रोजगारीको प्रलोभन सहित फेसबुकमा विज्ञापन गर्ने गरेका छन् ।

जिफन्टकी सचिव समेत रहेकी अधिवक्ता निशा बानियाँ फेसबुक मार्फत फसेका र आफ्नो डुवेको रकम उठाउन सहयोग गरिदिन भन्दै थुप्रै व्यक्तिको निवेदन आफ्नो संस्थामा परेको बताउँछिन् । केहि समय अगाडी रुस लैजाने भन्दै आफूहरुको रकम खाएर एक व्यक्ति भागेको भन्दै ६ ७ जना व्यक्ति उजुरी लिएर आएको तर उनीहरुसँग रकम दिएको कुनै प्रमाण नभएको बानियाँले बताइन् । एउटा नागरिकताको फोटोकपी दिएको भरमा दुईचार लाख दिन तयार हुने प्रवृत्तिका कारण समस्या जटिल भएको भन्दै उनले यस्तो ठगको फन्दामा नपर्न सचेत हुन आग्रह गरिन् ।

सोमवारको संवाद
फेसबुकमा पछिल्लो समयमा गलत विज्ञापन प्रकाशित गर्दै युवाबाट रकम उठाउने गरिएको गुनासो धेरै सुनिएका कारण देशपरदेश सम्वादादाताले एउटा त्यस्तै विज्ञापनमा फोन गरेको थियो । जुन वार्तालाप जस्ताको तस्तैः

देशपरदेशः हेल्लो, नमस्कार, मैले तपाईको मौरिससको विज्ञापन देखेर फोन गरेको ।

एजेण्टः अँ, कुन पोजिसनको लागि हो ?

देशपरदेशः एयरपोर्ट क्लीनर

एजेण्टः ठिक छ, तपाईको नाम के हो, कहाँ बस्नुहुन्छ ?

देशपरदेशः मेरो नाम …. र …. मा बस्छु

एजेण्टः अंग्रेजी बोल्न आउँछ ? कस्तो छ ?

देशपरदेशः अलिअलि

एजेण्टः कति पढ्नु भएको छ ?

देशपरदेशः प्लस टु पास गरेको छु

एजेण्टः ओके, टेल मि अवाउट योरसेल्फ

देशपरदेशः सुन्नुस् न, तलव चैं कति हुन्छ नी ?

एजेण्टः यु निड टु आन्सर फष्ट ईन ईंग्लिस, ओके, देन वन्ली यु विल गेट डिटेल्स ……

त्यसपछि आफ्नो बारेमा, अनुभव, किन विदेश जान लागेको, कमाई कति हुने अपेक्षा छ लगायतका विषयमा अंग्रेजीमा संवाद पश्चात,

एजेण्टः ल तपाईको ठिकै रहेछ । बुधवार आउनु अन्तर्वार्ता दिन । सिभी, पासपोर्ट, शैक्षिक प्रमाणपत्र र दुईटा पासपोर्ट साइजको फोटो लिएर ।

देशपरदेशः कहाँ छ अफिस ? कहाँ आउनु ?

एजेण्टः अँ, बसुन्धरा आउनुस् । विहान ८ बजे एकपटक फोन गरेर आउनु । फोन गर्दै आउनु, हामी रिसभ गरौंला ।

देशपरदेशः पैसा चैं कति लाग्ने हो ?

एजेण्टः त्यो सवै अन्तर्वार्तामा नै भनौला । ल अहिले फोन राख्नुस्, अर्को फोन आयो ।

तत्काल फोन काटिन्छ ।

धमाधम अन्तर्वार्ता भइरहेको छ भन्ने शिर्षकमा फेसबुकमा राखिने यस्ता विज्ञापनको कुनै आधिकारिता भनें हुन्न । वैदेशिक रोजगार विभागका अनुुसार यसरी अनधिकृत रुपमा विज्ञापन गर्नेहरुले विभागको कुनै अनुमति लिएका हुँदैनन् । विभागका महानिर्देशक भिष्म कुमार भुषाल यस्ता अनधिकृत विज्ञापनको भर नपर्न आग्रह गर्दछन् ।

शंका लागे प्रहरीमा उजुरी
वैदेशिक रोजगारको नाममा गैरकानूनी रुपमा काम गर्नेहरुले विगतमा कानुनमा रहेको अस्पष्टताको फाइदा उठाउँदै आएका थिए । वैदेशिक रोजगारसँग सम्वन्धित मुद्दा भन्ने वित्तिकै प्रहरीले अनुसन्धान नगर्ने र वैदेशिक रोजगार विभागको क्षेत्राधिकार भन्दा बाहिरको हुने भएका कारण विभागमा दर्ता नरहेका यस्ता संस्था वा व्यक्तिले गर्ने ठगिमा विगतमा कारवाही फितलो रहँदै आएको थियो । यस्तो कानुनी अन्यौलको फाइदा ठगहरुले उठाउँदै आएका थिए ।

तर दुई साता अगाडी मात्रै नेपाल प्रहरी र वैदेशिक रोजगार विभागबीच भएको समझदारीले अव यस्ता ठगिका विषयलाई सिधै प्रहरीले अनुसन्धान गर्दछ । यसको सुरुवात भइसकेको विभागका महानिर्देशक भुषाल बताउँछन् । तसर्थ आफूलाई कुनै व्यक्ति वा अनधिकृत संस्थाले ठगि गर्न लागेको थाहा पाउने वित्तिकै प्रहरीमा उजुरी दिन महानिर्देशक भुषाल आग्रह गर्दछन् ।

यो पनि पढ्नुहोस् ठगि अभियोगमा एउटै मेनपावर कम्पनीले १ करोड २१ लाख तिर्नुपर्ने ठहर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय