ठगि अभियोगमा एउटै मेनपावर कम्पनीले १ करोड २१ लाख तिर्नुपर्ने ठहर

वैदेशिक रोजगारका नाममा ठूलो रकम ठगि गरेको अभियोगमा काठमाडौं स्थित एक मेनपावर कम्पनीले ठूलो रकम क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने ठहर भएको छ । विभिन्न व्यक्तिलाई अफ्रिकी मुलुक घानामा आकर्षक रोजगारीमा लगाइदिने नाममा रकम ठगेको र विना अनुमति विदेश पठाएको अभियोगमा बि एण्ड बि एचआर म्यानेजमेण्ट प्रालीले पीडितलाई क्षतिपूर्ति र कानुन अनुसारको जरिवाना गरि १ करोड २१ लाख ६ हजार ४ सय तिर्नुपर्ने निर्णय वैदेशिक रोजगार विभागले गरेको हो ।

सो मेनपावर कम्पनीले घानामा सुरक्षा गार्डको काममा मासिक १ हजार ५ सय ७० अमेरिकी डलर तलव सुविधा हुने भन्दै विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ११ लाखसम्म असुलेको थियो । यसरी रकम उठाइएका मध्ये कतिपय घाना पुगेर अलपत्र परेर एक महिना पश्चात स्वदेश फर्किएका थिए भनें नक्कली कागजातमा पठाइएका कतिपय युएईको विमानस्थलबाट फर्काइएका थिए । केहिलाई भनें घाना पठाउने नाममा रकम उठाइसकेपनि विदेश पठाइएको थिएन ।

सो मेनपावर कम्पनीले गत अगष्टमा ४ जनालाई दुवई हुँदै घाना पुर्याएको थियो । घानाको राजधानी आक्रामा उत्रिएपछि उनीहरुलाई गाडीमा राखेर झण्डै साढेचार घण्टा टाढा जंगलमा पुर्याइयो । “न त्यहाँ कुनै कम्पनी थियो न त काम नै” घानामा एक महिना बसेर फर्केका सन्तोष थापाले भने “काम नपाउने निश्चित देखिएपछि नेपाल फर्किनुको विकल्प थिएन ।” थापा यसअघि मलेशियामा ५ बर्ष सुरक्षा गार्डकै काम गरेर फर्केका व्यक्ति हुन् । एक महिना बसेर उनीहरु गत नोभेम्वर ८ तारिख नेपाल आइपुगेका हुन् । विभिन्न समुहमा गरेर १६ जना नेपाली सो मेनपावर कम्पनी मार्फत त्यहाँ पुर्याइएको थापाले बताए ।

ठगिमा परेर फर्केकाहरुले सामुहिक रुपमा उजुरी हाल्न थालेपछि सो मेनपावर कम्पनीको कर्तुत सार्वजनिक भएको हो । उनीहरुले हालेको उजुरीमा अनुसन्धान पश्चात विभागले माघ ५ गते पीडित ७ जनालाई ५९ लाख ७६ हजार ४ सय सो मेनपावर कम्पनीले क्षतिपूर्ति तिर्नुपर्ने ठहर गरेको छ । यसैगरी कानून विपरित रकम उठाएको अभियोगमा सो मेनपावर कम्पनीले थप १ लाख जरिवाना तिर्नुपर्ने ठहर विभागले गरेको छ ।

यसअघि गत पुष २१ गते सोही अभियोगमा अन्य ८ जना पीडितलाई सोही मेनपावर कम्पनीले ५८ लाख ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने ठहर विभागले गरेको थियो । यसैगरी ठगिको कसुरमा थप २ लाख रुपैंया जरिवाना पनि तोकिसकेको छ । विभागले तोकेको क्षतिपूर्ति र जरिवाना रकम सो मेनपावर कम्पनीको धरौटीबाट नै कट्टा हुन्छ । तर त्यसका लागि ३५ दिनको पुनरावेदनको समय बाँकी भएका कारण पीडितले तत्कालै रकम भनें पाइसकेका छैनन् ।

सो मेनपावर कम्पनीका सञ्चालकहरुले जापान पठाउने नाममा समेत मोटो रकम उठाएको आशंकामा थप अनुसन्धान भइरहेको छ ।

प्रहरीमा छुट्टै मुद्दा
आकर्षक रोजगारी दिलाइदिने भन्दै ठूलो रकम उठाएको भएपनि सो मेनपावर कम्पनीले वैदेशिक रोजगारमा पठाउन विभागबाट अनुमति भनें लिएको थिएन । विभागका निर्देशक हरि प्रसाद ज्ञवालीका अनुसार घाना पठाउने गरी सो मेनपावर कम्पनीले विभागमा मागपत्र पेश गरेर स्वीकृति लिएको रेकर्ड छैन । वैदेशिक रोजगारमा पठाउने भएमा ईजाजत लिएको कम्पनीले अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएर छनौटका प्रकृयाहरु पुरा गरेको हुनुपर्दछ ।

स्वीकृति नलिई रोजगारीको प्रलोभनमा विदेश पठाएको देखिएका कारण विभागले थप कारवाहीका लागि सो मेनपावर कम्पनी विरुद्द थप कारवाहीका लागि प्रहरीमा पठाएको छ । गत पुष २४ गते नै विभागले प्रहरीलाई सो मेनपावर कम्पनीले स्वीकृति नलिई कामदार विदेश पठाए वापत हुने सजाय र सञ्चालक मध्येका दुईजनाले अलग्गै बैंक खाता खोलेर सोही खातामा घाना पठाउने नाममा रकम संकलन गरेको कसुरमा कारवाहीका लागि प्रहरीलाई लेखेर पठाएको हो । सो मेनपावर कम्पनीका सञ्चालकहरु अजय तामाङ, अरुण कुमार मगर, निरज पोखरेल तथा डिल्लीराम दहाल हुन् ।
यो पनि पढ्नुहोस् कतारले गर्यो अर्को महत्वपूर्ण कानूनी सुधारको घोषणा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय