
करिम बक्स मियाँ-
सदा झैं दुतावासका श्रम सहचारी नरेन्द्रराज ज्ञवालीको कक्ष पिडितहरुले भरिभराऊ थियो । अधिकांश वैदेशिक रोजगारका नाममा ठगिएका पिडितहरु श्रम सहचारीको कार्यकक्षमा देखिन्थे । भुईंतलामा रहेको ज्ञवालीको कक्षमात्र होईन, पहिलो तल्लामा रहेको श्रम कन्सुलर शिवराम पोखरेलको कक्षमा समेत पिडितहरुको घुईंचो देखिन्थ्यो ।
सो भिडमा पोर्चुगल जाने भनेर हिंडेका दुईजना पिडितहरु श्रम सहचारी ज्ञवाली समक्ष आफ्नो पीडा सुनाउँदै थिए । पिडितहरुको पीडा सुनिसकेर ज्ञवालीले कार्यालयबाट एजेण्टलाई फोन गरे । ल्याण्ड लाईनबाट र मोवाईलबाट करीव २० पटक एजेण्टलाई फोन सम्पर्क प्रयास गरे, तर एजेन्टले फोन नउठाएपछि उनले म्यासेज लेखे ’दूतावासमा तुरुन्त सम्पर्क गर्नु ।’
’यो मान्छेले दूतावासलाई पटक्कै टेर्दैन’ विगतमा समेत धेरै उजुरीहरु आएका र एजेण्टले नटेरेको गुनासो गर्दैथिए श्रम सहचारी ज्ञवाली । ‘कहाँसम्मको फटाहा छ भने तत्कालिन कार्यवाहक राजदुत मणिरत्न शर्माका आफन्तहरुलाई समेत ठगेको उजुरी परेर हामीले दुतावासमा बोलाउँदा आएन’, आजित भएर दुतावासले कतारमा कृयाशिल बागलुङ सेवा समाजका पदाधिकारीहरुको सहयोगमा दुतावासमा उभ्याउनु परेको उनी बताउँदै थिए ।
पछिल्लो घटना
पोर्चुगल पठाउने भन्दै करिव १३ लाख रुपैयाँ लिएर कास्की रुपाकोटका रामशरण थापा र चितवन कृष्णपुरका प्रेम बहादुर थापालाई कतारमा ल्याएर एजेण्टहरु सम्पर्कविहिन छन् । नेपालबाट प्यासिफिक ह्युमन रिसोर्सेज मेनपावर मार्फत कतारको मदर कन्स्ट्रक्सन एण्ड कन्ट्याक्टिङ कम्पनीको भिसामा कतार ल्याईएका पिडितहरु एजेण्टहरु सम्पर्कमा आउन नचाहेपछि दुतावास पुगेका थिए ।
पीडितहरुको भनाई अनुसार टंक बहादुर थापाले कतारको कम्पनीबाट भिसाको बन्दोबस्त गर्ने, सन्तोष तामाङ भनेर चिनिने कृष्ण तामाङले पैसाको डील गर्ने र नेपालदेखि कतारसम्म मान्छे ल्याएर इब्राहिम शर्मा भनेर चिनिने रामचन्द्र शर्मालाई दिने अनी शर्माले कतारदेखि पोर्चुगल लगायत युरोपेली मुकुकहरुमा विभिन्न व्यक्तिहरुसँग मिलेर कामदार पठाउने गरेका छन् ।
वर्किंग भिसामा कतार ल्याएर पिडितहरुलाई कतारस्थीत मदर कन्ट्याक्टिङ कम्पनीको आईडी कार्ड (आरपी) दिएर राहदानी र १३ हजार रियाल बुझेपछि मुख्य एजेण्ट रामचन्द्र शर्मा (इब्राहिम) र अर्का एजेन्ट कृष्ण तामाङ (सन्तोष) सम्पर्कमा आउन नचाहेको पिडितहरुको आरोप छ ।
बागलुङ जिल्ला जैमिनी नगरपालिका ८ का रामचन्द्र शर्मा (इब्राहिम) तथा चितवन जिल्ला टाँडीका कृष्ण तामाङ (सन्तोष) लाई कतारमा कथित आजाद भिसा लगायत कतारदेखि विभिन्न मुलुकहरुमा मान्छे सप्लाई गर्ने धन्दा गर्ने गरेको आरोप समेत पीडितले लगाएका छन् ।
पीडितको आरोपका विषयमा आरोपित शर्मा र तामाङसँग कुराकानी गर्ने पंक्तिकारले निक्कै प्रयत्न गर्दा पनि त्यो सम्भव भएन । पटक-पटक गरिएको टेलिफोन दुवैले उठाएनन् भनें पठाइएको म्यासेजको पनि कुनै जवाफ प्राप्त हुन सकेन । त्यसैले पीडितको आरोपका सम्वन्धमा आरोपित शर्मा र तामाङको भनाई समावेश गर्न सम्भव भएन ।
वर्किङ भिसामा कतार आएकाहरु जानै पाउँदैनन्
वर्किंङ भिसामा कतार आएकाहरु वैधानिक बाटोबाट तेस्रो मुलुकमा काम गर्न जान पाउने प्रावधान छैन । केही बहुराष्ट्रिय कम्पनीहरुको हकमा आफ्ना कामदारहरुलाई कुनै तेस्रो मुलुकमा सरुवा गर्न सक्ने भए पनि कुनै एजेन्ट वा एजेन्सी मार्फत त्यस्तो काम गर्न पाउने कुनै प्रावधान नै छैन । तर यसका वावजुद अवैधानिक बाटोबाट विभिन्न प्रलोभनमा पारी कतारको बाटो हुँदै तेस्रो मुलुकमा मान्छे पठाउने गिरोहहरु सकृय रहँदै आई रहेका छन् जसबारेमा केहि समय अगाडी कतारस्थीत नेपाली दूतावासले सुचना समेत प्रकाशित गरेर सजग गराएको थियो ।
पिडितहरुको भिड, फितलो राहतः
दूतावासमा दिनहुँजसो पिडितहरुको भिड लाग्ने गर्छ । तर पिडितहरुले पिडकहरु खुलेआम घुम्ने गरेको गुनासो गर्ने गरेका छन् । दलालहरुले दूतावासलाई पटक्कै नटेर्ने तथा दुतावासमा गए झन् दुःख पाउने धम्की दिने गरेको पिडितहरुको भनाइ छ । अधिकांश पिडितहरुको एउटै प्रश्न हुन्छः के दलालहरुले भन्ने गरेको जस्तै दूतावास केही होईन त ?
नियोग एक कुटनीतिक निकाय मात्र होईन किनकी यहाँ श्रम र श्रमिक समस्या हेर्ने डेस्क पनि छ । पिडितहरुको भनाई र दलालहरुको अटेरी मानसिकतालाई मनन् गर्ने हो भने दुतावास श्रमिकहरुका पिडालाई समाधान गर्न सक्षम देखिएको छैन ।
दूतावासका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने ‘पहिलाका राजदुतहरु अस्थिर थिए, कतिबेला सरकार बदलिन्छ र फर्किनु पर्दछ भन्ने तनाव हुन्थ्यो, तर अहिलेका राजदुतलाई त्यो तनाव छैन’ उनले भने ‘राजदुतले इच्छाशक्ति देखाए र दलालहरुलाई कानुनी दायरामा ल्याउन हिम्मत गरे भने श्रमिक समस्या हल गर्न समय लाग्दैन ।’ पंक्तिकारको पनि यहि आशा छ नयाँ राजदूतसँग ।
(मियाँ नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष हुन् । यो सामग्री २०७६ असोज ३० गते प्रकाशित भएको हो ।)
यो पनि पढ्नुहोस् नेपालको प्राथमिकता श्रमिकको सुरक्षाः मन्त्री विष्ट