कथित ‘आजाद’ भिसामा आउनेहरु थप समस्यामा

करिम बक्स मियाँ, दोहा-

चितवनका मोहन अधिकारी कथित आजाद भिसामा कतार आए । कफी वरिष्तामा अनुभवी उनले काम पनि पाए, तर भिसा परिवर्तन हुन नसक्ने कम्पनीले जानकारी दियो । अजाद भिसामा नै कतार आएका धरानका अशोक राईले पनि सेल्समा काम त पाए कम्पनी परिवर्तनमा समस्या आएपछी उनी पनि निराश छन् ।

राई र अधिकारी दुवै करीव १ लाख ७५ हजारको हाराहारी खर्चेर कतार छिरेका हुन् । यी दुई प्रतिनिधि पात्र मात्र हुन् । अरु धेरै छन् जसले आजाद भिसाको नाममा यस्तै समस्या खेपिरहेका छन् । दुःखको कुरा यस्ता घटनाका पीडित दिनहुँजसो भेटिइरहन्छन् ।

दाङकी सुस्मिता थारु, तनहुँकी सरिता दरैहरु पनि ब्युटिसियनको काममा अनुभवी हुन् । उनीहरुको पनि गुनासो उस्तै छ । लाखौं खर्चेर दलालको प्रलोभनमा परेर कतार छिरेका उनीहरु यहाँ आइपुगेपछि रनभुल्लमा छन् ।

दलालहरुले काम खोजेर लगाईदिने, काम नपाएसम्म खान बस्नको व्यबस्था आफुले गरिदिने भनी कतार ल्याएपछी सम्पर्क विहिन हुने गर्दछन् । त्यसैले रियालको सपनामा आजाद भिसामा कतार छिर्नेहरुको बेहाल भइरहेको छ । 

धन्न केहि पैसा लिएर आएको थिएँ र अहिलेसम्म धानिएको छचिन्तित मुद्रामा भेटिएका अधिकारीले भनें एजेण्ट गायव छ, पाएको काम पनि गुम्यो, अब के गर्ने हो टुँगो छैन ।

नेपालमा स्थापित कतार भिसा सेन्टर (क्युभिसी) मार्फत प्रक्रिया पूरा गरेर आएका कामदारहरुले कतारमा कुनै दोस्रो कम्पनीमा भिसा परिवर्तन गर्न कठिन हुन्छ । क्युभिसीको प्रावधान बमोजिम  प्रक्रिया मार्फत कतार आउँदा विगतमा कतारमा आएर गर्ने सम्पूर्ण विधि पूरा गरि सकेको हुनु पर्दछ । जस्तै विगतमा कतारमा आएर गरिने मेडिकल, फिंगरप्रिण्टका प्रक्रिया सवै हाल कतार सरकारले स्थापना गरेको क्युभिसीमा नै हुने हुनाले कतारमा आएर कतार सरकारको सम्वन्धित निकायबाट जारी गरिने रेसिडेन्स परमीट (आरपी) कार्ड आफू जुन कम्पनीको भिसामा आएको हो त्यही कम्पनीको नाममा पाईन्छ । कुनै एक कम्पनीको नामबाट आरपी जारी भएपछि कम्तिमा एक वर्षसम्म अर्को कम्पनीमा काम गर्न वा कम्पनी परिवर्तन गर्न सकिंदैन । जुन देशमा क्यूभिसी छ, सो मुलुकबाट कतारमा रोजगारीका लागि आउने प्रकृया गर्दा नै आरपी जारी गर्ने काम बाहेकको सबै प्रक्रिया कामदारको आफ्नै मुलुकमा हुँदा नै पूरा भई सकेको हुन्छ । आरपी कार्ड पनि बनिसकेको हुन्छ जुन कतार आएपछि जारी हुने मात्र हो । 

आजाद भनिने कुनै पनि भिसा नै हुँदैन । आजाद भिसा भनेर दलालले ठूलै रकम कुम्ल्याउने त्यस्तो भिसा वर्किंङ भिजिटभिसा हो । अर्थात आम रुपमा श्रम गर्न आउने भिसालाई नै दलालहरुले आजाद भिसाको नाम दिएर ठग्ने काम गर्दै आई रहेका मात्र हुन् । तर यो कुरा अझै पनि धेरै नेपालीले थाहा नपाउँदा समस्यामा फस्ने गरेका छन् ।

आजाद भिसा के हो ?

कतारमा कुनै पनि कम्पनी भिसाको कारोवारको लागि खोलिएका हुँदैनन् । तर केही ट्रेडिंङ र कन्ट्र्याक्टिङ  कम्पनीहरुसँग दलालहरुको आन्तरिक मिलेमतोमा कतार सरकारबाट प्राप्त श्रमिक  भिसाहरु बेच्ने र सो वापत कतार आएपछी नो अब्जेक्सनलेटर दिएर अर्को कम्पनीमा काम गर्न वा कम्पनी परिवर्तन गर्ने अनुमती दिने गरि भिसाको व्यापार गर्ने गरेका हुन्छन् । तर आरपी कार्ड बन्ने प्रक्रिया भन्दा पहिले नै अर्को कम्पनी परिवर्तन गरि सक्नुपर्ने हुन्छ जुन अवका दिनमा सहज छैन । किनकी विगतमा कामदारको मेडिकल देखि आरपी कार्ड बन्नेसम्मको काम सवै कामदार कतार आइसकेपछि हुने गर्दथ्यो । त्यसैले सो प्रकृयामा छिर्नु भन्दा पहिला कुनै अर्को कम्पनी खोजेर कम्पनी परिवर्तन गर्न सहज हुने गर्दथ्यो । तर आफ्नै देशमा रहेको कतार भिसा सेन्टर मार्फत काम सुरु भएपछि आजाद भिसामा आउनेहरु थप समस्यामा पर्न थालेका छन् । आजाद भिसामा आउनेहरुले काम त पाउन सक्छन् तर कम्पनी परिवर्तन गर्न पाइन्न जसले ठूलो जोखिमका वीच काम गर्नुपर्ने र कुनै भवितव्य आइपरेमा त्यसको सम्पूर्ण जिम्मेवार आफैं हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

यो समस्याका बारेमा अझै पनि धेरै नेपाली अनभिज्ञ नै छन् । त्यसैले आजाद भनिएका भिसा कारोवारीहरुलाई कारवाही गर्ने देखि यसबारे सचेतना फैलाउनु आवश्यक छ । तर यो सहज भनें छैन, किनकी मुख्यतः ठगी गर्ने तत्वहरु कतारमा जमेर बसेका छन् भने यस्तो मामिलामा नियोग निरीह जस्तो देखिने गरेको छ । कुटनीतिक मर्यादाभित्र रहनु पर्ने देखि निश्चित परिधिमा रहेर नेपाल सरकारको नीति र निर्देशनमा बाँधिएर काम गर्नुपर्ने जस्ता बाध्यता नियोग सामु छ ।

विगतको अनुभव हेर्दा दलालहरुले नटेर्नेदेखि धम्क्याउनेसम्मका हरकत देखाउँदै आएका छन् । नियोगले के गर्न सक्छ र ? भन्ने मानसिकताले दलालहरुले काम गर्दै आएका छन् । त्यसैले कतारमा बसेर निर्धक्क रुपमा ठग्दै आईरहेका दलालहरुलाई निमिट्यान्न पार्न नेपाल सरकारले नियोगलाई प्रशासनिक कार्वाहीदेखि आवश्यक परे डिपोर्ट गरेर नेपालमा कानुनी उपचार गर्न सक्ने गरि मजबुत बनाउन आवश्यक देखिन्छ ।

(नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष मियाँ कतारमा कार्यरत छन् । लेख प्रकाशित मिति, २०७६ असोज २४) 

यो पनि पढ्नुहोस् वैदेशिक रोजगार विभागमा मैले जे भोगें

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय