दूतावासको बजेट फ्रिज, कार्यक्रमका लागि नेपाली पैसा उठाउँदै

सन्तोष न्यौपाने-

बेल्जियमको विभिन्न शहरहरूमा यही महिना देखि ट्रेड फेयरहरु सञ्चालन हुन गइरहेका छन् । ति फेयरहरुमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाली दुतावासले पनि भाग लिंदैछ । ट्रेड फेयरका लागि भनेर यहाँस्थीत विभिन्न नेपाली संघ संस्थाले रकम संकलन तिव्र पारेका छन् । तर विडम्वना नेपाल सरकारले पर्यटन प्रवद्र्धन लगायत अन्य खर्चका लागि भनेर पठाएको रकम खर्च हुन नसकेर फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७४-७५ मा विनियोजित बजेट मध्ये ३३ लाख ३ हजार १ सय ७९ रुपैंया २८ पैसा रकम फ्रिज भएको छ । नेपाल सरकारले दुतावासलाई ६ करोड ६८ लाख ७८ हजार नेपाली रुपैंया बजेट पठाएको थियो जसमध्ये दुतावासले ६ करोड ३५ लाख ७४ हजार ८ सय २० रुपियाँ ७२ पैसा मात्र खर्च गरेको छ ।

बेल्जियमस्थीत नेपाली दुतावासले दिएको तथ्याँक अनुसार सबैभन्दा धेरै बजेट सेवा शुल्क शीर्षकमा विनियोजित गरिएको देखाएको छ जसमा १ करोड ४० लाख रुपैया छ । तथ्याँक अनुसार यसमा ९ लाख १५ हजार ८ सय ६ रुपैंया फ्रिज भएको देखिन्छ । यसैगरी दोस्रो बढी रकम घर भाडाको लागि छुट्याइएको १ करोड ३६ लाख रुपैंया मध्ये ३९ हजार ८ सय ३५ रुपैंया फ्रिज भएको छ । तेस्रो ठूलो रकम अन्य भत्ता शीर्षकमा १ करोड २७ लाख मध्ये ६२ हजार २ सय ३७ रुपैंया फ्रिज भएको छ । यसैगरी विगत ९ महिनादेखि तृतिय सचिवको पद खाली रहेको बेल्जिमय दूतावासका लागि विनियोजित रकम मध्ये ३९ हजार ९ सय १३ रुपैंया फ्रिज भएको छ ।

अचम्म लाग्दो कुरा के छ भने औषधि उपचारको लागि भनेर गत आर्थिक वर्षमा सरकारले छुट्याएको ८५ लाख मध्ये ८० लाख २२ हजार २ सय ७ रुपैंया खर्च गरिसकिएको छ । खर्च नभएको रकम दूतावासले नेपाल नै पठाउनु पर्ने हुन्छ भने कतिपय अवस्थामा आउँदो आर्थिक बर्षको निश्चित समयभित्र खर्च गर्न पाउने व्यवस्था पनि हुन्छ ।

बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले सेवा शुल्क शीर्षकमा आएको बजेट खर्च नभएको खण्डमा उक्त रकम पर्यटन प्रवद्धन गर्ने यस्ता ट्रेड फेयरको लागि खर्च गर्न नमिल्ने जिकिर गरे । त्यसैले बेल्जियमस्थीत एनआरएन बाहेक अरू नेपाली संस्थाले अहिलेसम्म ४ हजार युरो भन्दा धेरै रकम संकलन गरिसकेका छन् ।

(बेल्जियममा कार्यरत पत्रकार न्यौपानेले तयार पारेको यो सामग्री पुष २७, २०७५ मा प्रकाशित भएको हो) 

यो पनि पढ्नुहोस् लाखौं तिरेर युरोप आउनेहरु समस्यामा, अधिकाँशको गन्तव्य पोर्चुगल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: