
सन्तोष न्यौपाने-
अहिले नेपाली नपुगेको देश कुन होला ? अनुमान गर्न पक्कै सजिलो छैन । किनकी अहिले नेपाली नपुगेको देश सायदै कम होला । पछिल्लो केहि बर्षयता अवसरको खोजिमा भौंतारिने नेपालीको संख्या बढ्दै जाँदा खाडी मुलुक देखि अमेरिका, यूरोप र अफ्रिकी मुलुकहरुमा समेत ठूलो संख्यामा नेपाली पुगिसकेका छन् ।
सन् ९० को दशक देखि यूरोपका मुलुकहरुमा नेपाली सिमित मात्रामा छिर्न थालेका थिए । यो क्रम क्रमिक रुपमा बढ्दै गएर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्दताका नेपालीको पहिलो गन्तव्य नै यूरोपका देशहरु बन्न पुगे । धेरै नेपाली बेल्जियम, बेलायत, नेदरल्याण्ड, फ्रान्स, जर्मनी लगायतका देशमा शरण माग्दै बस्न सुरु गरे । मुलुकको तत्कालिन अवस्थाले गर्दा उनीहरुले स्थाई वसोवासको अनुमति पनि प्राप्त गरे ।
अर्कोतर्फ विगतमा अध्ययनको लागि आएका नेपाली विद्यार्थीहरु यूरोपेली देशहरुमा आउने र यतैको स्थायी बसोसाव अनुमति(पीआर) पाएर नेपाल नफर्कने क्रम पनि बढ्यो । धेरै नेपालीको यूरोप बसाईको क्रम यीनै दुई कारणले बृद्धि भएको देखिन्छ । हिजोआज बेल्जियम, पोर्चुगल, बेलायत लगायतका मुलुकमा पाइलै पिच्छेजसो नेपाली भेटिन थालेका छन जसले नेपालीको अवसर खोज्दै घुमन्ते हुने प्रचलनलाई बढाउँदैछ ।
अव केहि तथ्याँकको कुरा गरौं । स्पेनको तथ्यांक विभागले दिएको जानकारी अनुसार हाल त्यहाँ ४ हजार ३ सय १ नेपाली छन । यो त्यहाँ दर्ता भएका नेपालीको बैधानिक संख्या होे । यसैगरी तथ्याँक विभाग नेदरल्याण्डका अनुसार अहिले त्यहाँ ३ हजार ९ सय ७७ नेपाली छन् । पोर्चुगलमा यसको झण्डै दोव्वर अर्थात ७ हजार ४ सय ३७ नेपाली वैधानिक रुपमा वसोवास गरिरहेको देखिन्छ । डेनमार्क तथ्यांक विभागको जनंसख्या र शिक्षा क्षेत्रका प्रमुख अफिसर दोर्थे लार्सेनले इमेलमा दिएको जानकारी अनुसार हाल त्यहाँ ४ हजार ५ सय ६७ नेपाली छन । केहि कम नेपाली रहेको देश नर्वेमा भने २ हजार ३ सय ३८ नेपाली छन । अर्कोतर्फ यूरोप भरिकै तथ्यांक राख्ने यूरोस्टाटका अनुसार अहिलेसम्म बेल्जियममा ६ हजार ८ सय ३७ नेपाली वैधानिक रुपमा बसोबास गरिरहेका छन ।
पछिल्लो दुईबर्षको अनुपातमा यो संख्या २५ प्रतिशतले वृद्धि भएको देखिन्छ । यी तथ्याँकहरुबाट युरोपमा नेपालीको उपस्थीति दिनप्रतिदिन बढ्दै गएको प्रष्ट नै छ । पछिलो समय रोजगारीको लागि पोल्यान्ड, चेक रिपब्लिक, माल्टा लगायतका देशमा नेपाली युवा आउने क्रम ह्वात्तै बढेको छ जसले नेपालमा रेमिट्यान्स भित्रियाउन सहयोग गर्नुका साथै थप समस्या पनि सिर्जना गरेको छ । धेरै नेपाली श्रमको नाममा युरोप आउँदा भनेजस्तो नहुँदा विभिन्न मानसिक तनावका सिकार समेत हुने गरेका छन् ।
युरोपमा नेपालीको संख्यात्मक उपस्थीति बढेसँगै व्यवसायमा पनि नेपालीले हात हालेको देखिन्छ । बेल्जियममा मात्रै २ सय ४६ नेपाली आफ्नै ब्यवसाय गरेर बसेका छन् जसमा रेस्टुरेन्ट, ग्रोसरी जस्ता ब्यवसाय छन् । यसैगरी पोल्यान्ड, पोर्चुगल, फ्रान्स, जर्मनी, नेदरल्याड्स, चेक, स्पेन लगायतका देशमा नेपालीको व्यवसाय बढ्दो क्रममा छ जसले गर्दा नेपालीको छवि दिनानुदिन फेरिदैछ । यसका बावजुत धेरै नेपाली श्रमिकको रुपमा कृषि, होटल, रेस्टुरेन्ट, कलकारखानामा कार्यरत छन् ।
त्यसो त नेपालीहरु श्रमिक र ब्यवसायी मात्रै नभई माथिल्लो स्तरका पदमा पनि कार्यरत छन् । नर्वे, नेदरल्याण्ड्स, अस्ट्रिया, जर्मनीमा धेरै नेपाली प्रोफेसरहरु प्राध्यापनरत छन् । जर्मनीमा ४ सय बढी नेपाली युवा आइटी क्षेत्रबाट मनग्य धनआर्जन गरिरहेका छन् । यसैगरी सयौं नेपाली विद्यार्थी युरोपका विश्वविद्यालहरुमा स्नातकोत्तर तथा विद्यावारिधि छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका छन् । यसले आगामी दिनमा युरोपमा नेपालीको उपस्थीति अझ जवर्जस्त हुने संकेत गर्दछ ।
युरोपको बजारमा क्षमता हुनेहरुका लागि अवसर नैं अवसर छ । तर पुरानो पुस्तालाई भाषाको समस्याको कारण चुनौती उत्तिकै छ । तर पनि उक्त चुनौतीलाई चिर्दै उनीहरू अगाडि बढ्ने प्रयासमा छन् । अर्कोतर्फ नेपाली नयाँ पुस्ता समयसँगै अगाडि बढिरहेका छन् । आइटी क्षेत्र, स्वास्थ्य क्षेत्र, व्यवसाय, राजनीतिमा उनीहरूको विशेष चासो छ । केही नयाँ पुस्ताका नेपाली यहाँका मन्त्रालयस्तरका कर्मचारीको रूपमा प्रवेश गर्न कटिबद्ध छन् ।
युरोपमा अधिकाँस देशमा नेपालीको संख्या थोरै धेरै रहेको छ । यो संख्याको विचमा पनि नेपाली संघ संस्थाहरुले जन्म लिएर कार्यक्रम गर्दै नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि उल्लेखनीय योगदान दिँदै आएका छन् । आजभोलि नेपालमा भन्दा नेपाली चाडपर्वहरू प्रवासमा बस्नेहरूले विशेष तरिकाले मनाउने गरेको पाइन्छ । हरेक चाडपर्वमा युरोपमा रहने यिनै संस्थाको माध्यमबाट नेपाली कलाकार आउने र मनोरञ्जन दिने गरेका छन् जुन आफैंमा सकारात्मक पनि छ ।
युरोपमा रहेका नेपालीले नेपालमा घट्ने विभिन्न भवितव्य घटनाहरुमा पनि हातेमालो गर्दै आएका छन् । गरिब बालबालिकालाई विद्यालय पठाउने होस् वा जेष्ठ नागरिकको लागि वृद्धाश्रम खोल्ने होस, अनी विभिन्न शारीरिक समस्यामा भएकाहरुलाई सहयोग गर्ने मामलामा होस्, सबै सहयोगी कुराहरूमा मनकारी हातहरु युरोपमा एकजुट छन् जुन स्वागतयोग्य कुरा हो । यस बाहेक नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि युरोपमा बस्ने नेपालीले प्रयास गरिरहेको देखिन्छ ।
कुनै बेला शरणार्थीको रुपमा युरोप छिर्ने नेपाली अहिले आफ्नै स्वाभिमानमा नेपाललाई युरोपमा चिनाउन लागि परेका छन् । समस्या आफ्नै ठाउँमा छ,चुनौती आफ्नै ठाउँमा छन् तर पनि उपलब्ध अवसरहरुलाई सकारत्मक तवरले प्रयोग गर्दै नेपालीले दिनानुदिन गरेको प्रगति निक्कै लोभलाग्दो छ ।
(न्यौपाने बेल्जियममा बसोवास गर्ने पत्रकार हुन् । उनी मानव तस्करी, सुशासन लगायतका विषयमा कलम चलाउँछन् ।)