निधार !!

सबैले भन्थे-

‘निधार ठूलो छ तेरो
भाग्यमानी छस् !’

कम्पनीमा 
भाग्य अजमाउन 
जाँदा र आउँदा
काँचका घरहरूमा 
हेर्छु फर्की फर्की
आफ्नो आकृति !

सौ मन्जिला भित्ताहरूमा 
रंग पोतिरहँदा 
पर..
रेगिस्तानको मिराजमा
देखिरहन्छु आफ्नो तस्वीर !

तातो पानीले नुहाइदिई वरी
कपालमा लिरिक्क तेल लगाइदिएर आमाले 
टिलिक्क तालु टल्काइदिए झै,
टल्काउँछु भाँडाहरू निधार रसाउन्जेल 

तिनमा हेर्छु भाग्यको ऐना !

आहा !!
कति ठूलो छ मेरो निधार !
खुसी हुनुको कुनै सीमा हुन्छ भने
त्यो नाघेर मक्ख पर्छु !
चिच्याएर भन्न मन लाग्छ उत्तिबेलै-
गोरू चराउने रामेलाई
गाडी चलाउने श्यामेलाई
झिंगा धपाउने शिवेलाई
अनि 
मान्छे बेच्ने शंकरेलाई !
‘देख्यौ केटा हो मेरो भाग्य ?
यहाँ त सबथोक चिल्लै चिल्ला !
जे हेर्यो तिनै चिल्ला 
चिल्लाहरूले जिल्ल पार्दै
देखाइदिन्छन मेरो ठूलो निधार !’

कैलेकाहिं 
साहूले सामान बोक्न
पछाडीको सीट ‘अफर’ गर्यो भने 
झटपट सीसामा हेर्छु 
मुसुक्क मुँस्कुराउँछु 
सलूट गर्छु सुस्तरी आफूले आफूलाई

बिस्तारै पन्छाउँछु 
भाग्य छेक्ने चुल्ठोलाई 
निधार बाट पछाडितिर !
उत्तिबेलै खलासी बिरेलाई 
फोन गरेर भन्न मन लाग्छ,
‘कैलै कारको खलासी बनेको छस् लठूवा ?!’

यता दूरदेशमा,
थकान,सुस्केरा,निद्रा र चेतना..
अनौठा छन यी साथीहरू मेरा !
थकान संगै सुस्केरा आउँछ
तनावको तन्ना लिएर 
अनि 
चकचके चेतना आई बिथोल्न खोज्छ
सोझो निद्रालाई !
भन्छ-
‘ए चाँदे,
कति मक्ख छस् हाउ जिन्दगीमा !?
बुझेको छस्-
कित्ता कित्तामा पलट्टिंग भइसक्यो तेरो निधार 
र 
बेचिइसके सबै प्लटहरू !

एक कित्ता-पासपोर्टको राजस्वको लागि
अर्को कित्ता- नेताको सर्वस्वको लागि
तेश्रो कित्ता- बाको अहंको लागि
चौंथो कित्ता- आमाको दमको लागि 
र 
अन्तिम कित्ता संगिनीको सुनको लागि.. 
बेचिइसक्यो केटो तेरो निधार सप्पै !’

त्यसो त 
‘निधार ठूलो छ तेरो’ भनेर 
बा-आमा-आफन्त र संगीसाथीले जगाइदिएको
विस्वासको अगाडी
कहाँ पत्याउँछु र म 
फुच्चे चेतनाको कुरा !?

ठूलो स्क्रीन भएको मोबाइल 
पठाइदिएको छु बालाई यसपाली दशैंमा !
बा भन्नुहुन्थ्यो,
घरको तलो बढ्यो भने 
मेरो निधार
र 
आफ्नो नाकको आकार 
एकै पटक बढ्छ भनेर !

साइतको समय पारेर 
साहूले नदेख्ने गरी टोइलेटमा लुकेर 
ट्याक्क गर्नेछु भिडियो कल बा-आमालाई 
ठूलो स्क्रीन भएको मोबाइलमा 

पसार्ने छु स्क्रीनमा निधार 
‘ल, बा-आमा साइतको टिको लगाइदेऊ’ भनी,
‘भाग्यका आशीर्वाद बर्साइदेऊ’ भनी !
ठूलो स्क्रीन भएको मोबाइलमा 
मेरो निधार कत्ति ठूलो देखिएला ?!

आमा टोलाइरहनेछिन-
‘मेसिन खसेर लागेको 
निधारको खत 
अझै सन्चो भएनछ यसको’ भन्दै !
बाले आँखाका डिलभरी 
पानी रोकेर भन्नेछन-
‘निधार त ठूलै पाको होस् ठूले,
भाग्यमानी हुनू !

-हेमन्त गिरी,टोकियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय