
पुष्कर शर्मा, दुबई-
वर्तमान सरकारका एक होनाहार मन्त्री जसबाट सुधारका धेरै अपेक्षा गरिएका छन् उनीबाट नै एउटा विषयमा गरिएको आग्रह सुन्दा उदेक लागेर आएको छ । श्रम मन्त्री गोकर्ण बिष्टले नेपालका लागि युएईका राजदुतसँगको भेटमा भिजिट भिषामा युएई आएर त्यहाँ रोजगारीमा संलग्न हुने कुरालाई रोक्न गरेको आग्रहले पंक्तिकारलाई आश्यर्चचकित बनाएको छ । एकप्रकारले भनौं भने यो कुराले अचम्भित मात्र तुल्याएको छैन, वास्तविक स्थीति नबुझी गरिएको यो आग्रह आफैंमा दुराशययुक्त छ ।
पंक्तिकार आफैं पनि ६ बर्ष अगाडी युएईमा उत्रिएको हो त्यहि भिजिट भिषामा । तर त्यसका लागि धेरै संघर्ष गर्नुपरेको थियो । नेपाल एयरपोर्टमा निक्कै माथापच्चि पश्चात मात्र उड्ने अनुमति पाएको पंक्तिकार त्यहि भिजिट भिषामा युएई आईपुगेपछि जानेको, सिकेको सीप अनुसारको रोजगारी प्राप्त गरेकोमा सन्तुष्ट हुने गरीको रोजगारी र आम्दानी सहित कार्यरत रहेको छ । जागीर खाँदै बसेको छु । यदि श्रम स्वीकृति लिएर युएई आउन चाहेको भए केहि लाख मेनपावर कम्पनीमा बुझाएर अन्य काम र भनिएभन्दा थोरै तलव हुने काममा बाध्यतापूर्व लाग्नु पर्ने थियो भन्नेमा पंक्तिकार विश्वस्त छ ।
हुनत म प्राविधिक काममा विश्वका अन्य मुलुकका कामदारसँग प्रतिस्पर्धामा अब्बल सावित भएपनि मेरो पासपोर्टमा मेरै सरकारले यसअघि लेबरको ठप्पा लगाईदिएको छ । राम्रो, आकर्षक अनि गतिलो कमाई हुने रोजगारीका लागि युएईमा भिजिट भिषामै आएर विभिन्न चरणको अन्तर्वार्ता दिन सकिन्छ । प्राप्त जानकारी अनुसार त्यस्तो राम्रो कामका लागि कुनै मुलुकमा पनि मागपत्र पठाइन्न । यहि प्रकृयामा यहाँ आएर अन्तर्वार्ता दिएर, काम चित्त बुझ्ने भएपछि त्यस्तो रोजगारी पाउन सकिन्छ । यसरी नै धेरैले आकर्षक रोजगारी गरिरहेका छन् । यो यहाँको यथार्थ हो ।
तर दुर्भाग्यवस यति आधारभूत कुरा पनि थाहा न पाएको झैं गरेर, एक जिम्मेवार मन्त्रीले कुनै बिषयगत अध्यायन बिना नै हचुवाको भरमा दलालहरुलाई मलजल पुग्ने हिसावले युएईका राजदुतलाई यसरी आग्रह गर्नु किमार्थ सही काम होइन । अझ यो त लज्जाको विषय हो ।
अचम्ममा छु, कसले यस्तो सल्लाह दियो होला हाम्रा मन्त्रीलाई ? के मन्त्री र सरकार यस्तै गलत सल्लाह दिनेहरुको ईशारामा चल्दछ ? भिजिट भिषामा आएर रोजगारी खोज्न नपाउने निर्णय गरेर कसको भलो हुने काम गर्दैछ सरकार ?
हुन त नेपालले एक्लै भनेर यहाँको नीति परिवर्तनमा खास अर्थ राख्दैन । तर यदि श्रम मन्त्री विष्टकै आग्रहमा यो कुरा मानेर युएई सरकारले भिजिटमा आउने नेपालीलाई रोजगारी खोज्नै नदिने नीति अपनायो भनें के त्यसबाट नेपाली लाभान्वित होलान् ?
त्यसैले यो गलत कामको विरोध गरौं । यसका बारेमा संसदमा छलफल होस् र सम्वन्धि मन्त्रीले कुन ज्ञानको श्रोतबाट यस्तो कुरा भनेका हुन् सार्वजनिक हुनु पर्दछ । अन्यथा गलत कुरा गरेकोमा मन्त्री विष्टले माफी माग्नु पर्दछ ।
(युएईमा कार्यरत शर्मा पत्रकारितामा पनि संलग्न छन् ।यो सामग्री २०७५ असोज १२ गते प्रकाशित भएको हो)
यो पनि पढ्नुहोस् भिजिट भिषामा जानेलाई रोजगारी नदिन आग्रह