नेपालीका लागि साउदी अरेबियाको रोजगारः नखाएको विष देखि हृदयाघातसम्म  

कृष्णशोभा सुवाल-

कुनै पनि मुलुकको आर्थिक उन्नतीमा श्रमिकको योगदान महत्वपूर्ण हुन्छ । श्रमले उत्पादनका अन्य कारकहरूलाई कार्यात्मक र गतिशील बनाउँछ । श्रमले आर्थिक वृद्धि र विकाससँग गहिरो अन्तरसम्बन्ध राखेको छ । त्यसैले देशको विकाशमा श्रमिकको कुशलता पनि निर्भर हुन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा नेपालीहरुले विदेशमा श्रम गरी आएको रेमिटेन्सले नेपालको आर्थिक अवस्थामा योगदान पुर्याएको देखिन्छ । तर नेपालीहरुमा सीपको बारेमा कम जानकारी हुनु र अशिक्षाको कारणले पनि बहुसंख्यक नेपाली रोजगारीका लागि पूर्वी एसिया तथा खाडी मुलुकहरुमा पुग्ने गरेको तथ्याङ्कले देखाउँछ ।

त्यसरी धेरै नेपाली रोजगारीका लागि पुग्ने खाडी मुलुकहरु मध्येको एक हो साउदी अरेयिबा । वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार साउदी अरेयिबा, वैदेशिक रोजगारीमा जाने नेपालीहरुको छनौटको तेस्रो राष्ट्र हो । यसभन्दा अगाडी मलेसिया र अर्को खाडी मुलुक कतार रहेका छन् । 

साउदी अरेबिया दक्ष जनशक्तिको लागि राम्रै कमाई हुने राष्ट्र भएपनि वैदेशिक रोजगारीका लागि जाने अधिकांश नेपाली कामदारहरु अदक्ष हुने भएका कारण विभिन्न समस्यामा पर्ने गरेका छन् । साउदी अरेबियामा कामका लागि जानेहरुलाई एउटा काम भनेर जाने तर गन्तब्य मुलुकमा पुग्दा अर्कै काम तथा सप्लाई कम्पनीमा काम गर्नुपर्ने बाध्यतामा पर्दछन् । यसैगरी कतिपय भनें रोजगारदाता कम्पनी नै सम्पर्कविहिन हुँदा अलपत्र परेको देखिन्छ । अलपत्र परेका यी कामदारहरु केही लुकेर काम गर्दा अवैधानिक कामदार ठहरिन्छन् र गन्तव्य मुलुकमा अलेखबद्ध भई उक्त राष्ट्रको ऐन तोडेको भन्दै सजायको भागिदार बनाइन्छन् । महिला कामदारको हकमा घरभित्रको काममा सिमित हुने उनीहरुको सम्पर्क माध्यम त्यहि घर मात्र हुने भएका कारण र कतिपय अवस्थामा कतारमा समेत आफन्तकोमा पुर्याईंदा उनीहरु सम्पर्क विहिन हुने गर्दछन् ।

साउदी अरेवियामा हृदयघातका कारण मृत्यु हुने कामदारहरुको संख्या ठूलो छ । यसैगरी सडक दुर्घटना तथा कार्यस्थलमा हुने दुर्घटनाका कारण पनि धेरै कामदारहरुको मृत्यु भएको देखिन्छ । मृत्यु भएका कामदारहरुको हकमा मृत्युदर्ता प्रमाणपत्र तथा एनओसी जारी हुनेमा लाग्ने समयावधी र मृतकको शव नेपाल ल्याईर्पुर्याउनका लागि अपनाउनुपर्ने कार्यविधिले पनि मृतकको शव नेपाल आइपुग्नको लागि कम्तीमा एक महिना लाग्ने गरेको देखिन्छ । कतिपय शव वर्षौंसम्म पनि परिवारले प्राप्त गर्न नसकेका उदाहरण भेटिन्छन् ।

यति मात्र नभई विदेशको विमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्तिको लागि सम्पन्न गर्नुपर्ने प्रकृया र समयावधि पनि समस्याको विषय हो । लामो पर्खाई र विभिन्न प्रकृया सम्पन्न गर्दाको अवस्थामा पनि क्षतिपूर्ति प्राप्त गर्ने नेपाली कामदारहरुको संख्या न्यून छ ।

त्यस्तै करारसँग सम्बन्धित समस्याहरु पनि नेपाली कामदारहरुको मुख्य समस्या हो । करारमा उल्लेख भएबमोजिमको तलव प्राप्त नगर्नु, करारमा उल्लेख भएबमोजिम कार्यसमय तथा अन्य सुविधाबाट नेपाली कामदारहरु वञ्चित हुने गरेका छन् । उजुरी गरेको अवस्थामा शारिरिक तथा मानसिक यातना खेप्न बाध्य हुनु पर्ने अर्को समस्या हो । रोजगारदाता कम्पनीले पासपोर्ट जफत गर्ने र गैरकानूनी रुपमा अन्य मुलुकमा लगेर अप्रत्यक्ष बेचबिखनमा परेको पनि अनगिन्ति घटनाहरु छन् ।

केही नेपाली कामदारहरु आफूले गर्दै नगरेको अपराधको सजाय भोगिरहेका छन् । नेपालीले आफ्नो निर्दोषिताको प्रमाण पेस गर्नका साथै उक्त वारदात के कसरी भएको हो भने यथार्थ खुलाउन पनि सकेको देखिंदैन । यसका लागि नेपाली कामदारहरुले नेपाली राजदुतावाससँग अनुरोध गरेपनि सो राष्ट्रको कानूनले नेपाली राजदुतावासलाई पनि बाँधिराखेको देखिन्छ । सोही रुपमा केही नेपाली कामदारहरु भने विभिन्न परिवन्दमा परी कारागारको जीवन बिताइरहेको देखिन्छ ।

अब कुरा गरौँ सहयोग गर्ने संघसंस्थाको बारेमा । साउदी अरबमा नेपाल राजदुतावास भएपनि नेपाली कामदारको संख्याको अनुपातमा कर्मचारीहरुको अभाव छ । ठूलो भूगोलमा छरिएर काम गर्ने नेपाली कामदारहरुले आवश्यकता अनुरुपको सहयोग नपाएको गुनासो गरिरहन्छन् । त्यहाँ रहेका नेपाली समुदायगत संघसंस्थाहरुले पनि नेपाली कामदारहरुलाई सहयोग गरिरहेपनि नेपाल राजदुतावास नै आधिकारिक निकाय हुँदा उक्त निकायलाई सशक्त बनाउनुपर्ने देखिन्छ । यसका लागि श्रोत थप्नु जरुरी छ ।

केही समय अगाडि साउदी अरेबिया स्थित नेपाल राजदुतावासले अनलाइन मार्फत उजुरी र आफ्नो समस्याको बारेमा जानकारी गराउने र सोही अनुरुप सहयोग गर्ने कार्य थालनी गरेको प्रशंसनीय काम हो । तर यति हुँदाहुँदै पनि सबैको पहुँच बनाउन आफ्ना समस्या मोबाइलबाट समेत टिपाउन सक्ने बनाउन जरुरी छ । यसो गर्न सकेमा हालको तुलनामा साउदी अरेबियामा समस्यामा पर्ने नेपालीको संख्या कम भई समस्याहरुको निराकरण पनि सहज र सुलभता आउने देखिन्छ ।

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय