
सन्तोष न्यौपाने-
एनआएनए, युरोप संयोजक शिव बरुवाललाई लक्जेम्वर्गमा हुन गईरहेको एनआरएनए, युरोप सम्मेलनमा नेपालबाट कति पाहुनाहरु आउँदै छन्, त्यसको विस्तृत तथ्याँक उपलव्ध गराइदिन आग्रह गर्दै मैले ईमेल गरें । मेरो ईमेल मैले नेपाली दुतावास बेल्जियम र एनआरएनए, केन्द्रिय कार्यालयमा पनि बोधार्थ दिएको छु । यसअघि एनआरएनएले युरोपमा आयोजना गरेका केहि यस्तै भेला, सम्मेलनका नाममा नेपालबाट गरिने भनिएको मानव तस्करीका बारेमा झक्झक्याउने उद्धेश्यले र लक्जेम्वर्ग सम्मेलनमा त्यो कलंकको कालो टीका एनआरएनएको निधारमा नटाँसियोस् भन्ने मेरो उद्धेश्य मात्र हो । तर ईमेल गरेको महिना दिन वित्यो तर त्यसको जवाफ न युरोप संयोजकबाट आयो न त एनआरएनएको केन्द्रीय कार्यालयबाट नै । यहि लज्जास्पद यथार्थबाट मैले लेखन थालें ।
स्रोतहरुलाई आधार मान्ने हो भने नेपालबाट मात्र नभई खाडीका मुलुकमा कार्यरतहरुलाई समेत सेटिङ मिलाएर एनआरएनएकै कतिपय व्यक्तिले नेपालीलाई युरोप छिराउने काम गर्दछन् । यसअघिका सम्मेलनमा लाग्दै आएको आरोप पनि यहि हो । यसबारेमा प्रश्न उठाउँदा एनआरएनएका जिम्मेवार व्यक्तिहरु तर्क सहित अगाडी आउनुको साटो व्यर्थको बहसमा उत्रिन्छन् जसले चोरको खुट्टा काट भन्दा खुट्टा तान्ने जस्तो मात्र हुँदैछ । यदि त्यसो हुन्नथ्यो भनें बिधि र प्रकृया मार्फत उनीहरु आउनु पर्दथ्यो जसले एनआरएनएको गरिमालाई उँचो बनाउन मद्धत गर्दछ ।
केहि महिना अगाडीको कुरा हो । एनआरएनए, इटालीमा आबद्ध एक व्यक्तिले इटालीमा कृषि कामदारको रुपमा ल्याउने भन्दै नेपालमा ३५ जनासँग सुरुवाती प्रकृष्यका लागि भन्दै जनही २५ हजारको दरले उठाए । उनीहरुलाई ईटाली प्रवेश गराइदिए वापत प्रतिव्यक्ति १३ लाख बुझाउने शर्त गरिएको थियो । पिडित मध्येका एक रविन्द्र पाण्डेले उपलव्ध गराएको कागजात हेर्दा ति कागजपत्र नक्कली भएको पत्ता लाग्यो । जवकी त्यसरी इटालीमा नेपालबाट कामदार ल्याउन पाउने अनुमति नै त्यहाँको सरकारले दिएको छैन । यति कुरा पत्ता लागेपछि पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी हाले । त्यसपछि पीडितको पैसा फिर्ता भयो ।
इटाली मात्रै नभई नेपालबाट पोर्चुगलतिरको समस्या पनि उस्तै छ । प्रत्येक वर्ष युरोपेली देशहरु पोल्याण्ड पोर्चुगल र अहिले पछिल्लो समयमा चेक रिपब्लिक आउन चाहनेहरुसँग १० देखि १३ लाखसम्म असुल्ने गरिएको पाइएको छ । तर त्यसका लागि लाग्ने वास्तविक खर्च भनेको बढीमा ३ लाख हो । ठूलो सपना देखेर युरोप आएपछि आइपर्ने भाषाको समस्या, तलव भने अनुसार नपाउने, सोचेभन्दा कठिन काम आइपर्ने समस्या हुन् । र दुःखपूर्वक भन्नुपर्छ यो गलत कार्य गर्नेहरुमा पनि एनआरएनए, पोर्चुगलका कतिपय पदाधिकारी संलग्न भएको कुरा बेला बेलामा सार्वजनिक भइरहन्छ ।
एनआरएनए भनेको परदेशमा दुःख आपत परेको नेपाली श्रमिकको अभिभावक बन्नु पर्ने संस्था हो । एनआरएनएका असल अभियन्तहरु, छातीमा हात राखेर सोच्नुहोस् के संस्था साँच्चै अभिभावक बन्न सफल भएको छ ? के हामीले आपतमा परेका नेपालीको आँशु पुछ्न सक्यौं ? अथवा आँशु थप्यौं ? बाटो विराएकाहरुसँग धेरै अपेक्षा नराखौं । तर जो असल मनसायले यो अभियानमा संलग्न हुनुहुन्छ, तपाई त बोल्नु पर्छ मानव तस्करीको विरुद्धमा । तपाईले त भन्नुपर्छ विभिन्न बहानामा लाखौं रकम उठाएर नेपाली ल्याउने अर्थात मानव तस्करलाई तिरस्कार गरौं भनेर ।
एनआरएनएको खोल ओढेर मानव तस्करी गर्नेहरुले संरक्षण पाइरहँदा यसले एकातिर एनआरएनएमा आवद्ध र नेतृत्व गरिरहेका असल व्यक्तिको ईज्जतमा धावा बोल्दैछ भनें अर्कातिर एनआरएनएको तस्वीर धमिलो बनाउँदै छ । प्रश्न उव्जीन्छ, यदि यस्तो गलत काम गरिरहने हो भनें, गलत काम हुँदैछ भन्ने थाहा हुँदाहुँदै पनि त्यसका विरुद्धमा नबोल्ने र आँखा चिम्लीने हो भनें कुनै मेनपावर कम्पनी र एनआरएनएबीच फरक नै के रह्यो र ?
यहि महिनाको अन्तिम साता लक्जेम्बर्गमा हुन गईरहेको एनआरएनए युरोप सम्मेलनमा भाग लिनको लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायत केहि बरिष्ठ ब्यक्तिहरु पनि आउँदैछन् । सम्मेलनमा युरोप भित्रका एनआरएनए पदाधिकारी र केहि चल्तीका नेपालीहरुको बाक्लो उपस्थित हुने अनुमान छ । विगतमा जस्तै अहिलेपनि ठूल–ठूला एजेन्डा आउनेछन् । मिलियन बिलियनका योजनाहरु घोषणा गरिनेछन । नेपालमा लगानीको लागि सार्वजनिक आव्हान गरिनेछ । त्यस्तै महिला सम्मेलनले पनि विशेषत नेपालमा रहेका महिला हक अधिकारको लागि राम्रै कार्यक्रम ल्याउन सक्छन । केहि बजेट पारित हुनेछ । तर यी सबै उधारा प्रोजेक्ट उधारो नै हुने गरेको ईतिहास साक्षि छ ।
मुलरुपमा आफू शुद्ध नभई अरुलाई शुद्ध बनाउन सकिन्न । आफू पारदर्शी नभई अरुलाई पारदर्शी बन् भन्ने नैतिक हैसियत रहन्न । त्यसैले सम्मेलनमा अहिलेसम्म को कतिले भाग लिन्छन् भन्ने कुरा समेत पारदर्शी ढंगले जानकारी नपाएको हुँदा यो लेख लेख्न बाध्य भएको छु ।
मेरो सुझाव, लक्जेम्वर्ग सम्मेलनले पिडितका समस्या समाधान गर्न बिशेष जोड दिनुपर्दछ । एनआरएनए भित्र अर्को बाटोबाट हुँदै आइरहेको मानवतस्करी तत्काल नियन्त्रण गर्न जरुरी छ । यसको लागि विशेष कार्यदल यो सम्मेलनले बनाइयोस् । युरोपमा कार्यरत नेपाली श्रमिकका लागि उनीहरुको समस्या समाधानको लागि ठोस निर्णय यो सम्मेलनबाट हुनेछ भन्ने अपेक्षा राखेको छु । परराष्ट्रमन्त्री ज्ञवाली सम्मिलित यो सम्मेलनले केवल हात्तिको देखाउने दाँत मात्र नभएर मैदानमा उत्रेर बोलेको कुरा पुरा गर्ने सामथ्र्य एनआरएनए पदाधिकारीहरुमा दिन सकोस ।
उठाईनु पर्ने मुद्धा थुप्रै छन् । मृत्यु पछिको सेवा, दोहोरो नागरिकता, युरोपमै हुर्कंदै गरेका नेपालको नयाँ पीढिं, नेपाली विद्यार्थीका लागि छात्रबृत्तिका कुरा, कुटनीतिक नियोगको सकृयताको विषय केहि विषय हुन् जुन सम्मेलनमा उठ्न जरुरी छ । तर मुलभूत रुपमा एनआरएनएलाई कसरी उसको लक्ष्य अनुरुपको संस्था बनाउने, कसरी प्रवासमा रहेका नेपालीको साझा संस्था बनाउने र कसरी यसको छविमा लाग्दै गरेको मानव तस्करको संरक्षक संस्था बन्नबाट जोगाउने यहि नै मुल प्रश्न हो ।
(बेल्जियममा बस्दै आएका न्यौपाने पत्रकार हुन्)
यो पनि पढ्नुहोस् बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य (भिडियोमा हेर्नुहोस्)
लाखौं खर्च गरेर युरोपको सपना देख्न छोड्नु आवश्यकः दहाल