![खुलेआम हुण्डी गर्छु भन्नेलाई कसले गर्ने कारबाही ?](https://deshparadesh.com/wp-content/uploads/2018/06/Bhuprak-Basyal-3.jpg)
भूपराज बस्याल-
युएईस्थित सेन्चुरी बैंकका प्रमुख नवीन पौडेल युएई एक दिराम बराबर नेपाली रुपैयाँ यति भन्दै सामाजिक सञ्जाल मार्फत रेटको जानकारी दिन्छन् । उनले सदा झै मे २८ मा पनि आजको रेट १ दिराम बराबर २९ रुपैंयाँ २९ पैसा भन्दै फेसबुकमा पोष्ट गरे । नवीन पौडेलले पोस्ट गरेको केही छिनमा हुण्डीको रेट लिएर आईहाले फेसबुकमा गगन बिक । त्यसमाथी एकछिन बहस भयो । फेरि अर्को रेट ३० रुपैंयाँ १० पैसाको लिएर गुनराज आचार्य पुगे । लाग्थ्यो सेन्चुरी रेमिटका युएई प्रमुखले एक्जेन्सको रेट हालेर हुण्डी बहस चलाउनेलाई सजिलो बनाए ।
जुन ४ तारीक नेपाली राजदुतावास अबुधाबीले रेमिटेन्सलाई उत्पादक मुलक क्षेत्रमा लगानी गर्न भन्दै कार्यक्रम गर्यो । कार्यक्रमको शीर्षक जे राखेको पनि बिषयवस्तु भने हुण्डीको रोकथाममा छलफल भयो । उक्त कार्यक्रममा युएईका विभिन्न सामाजिक क्षेत्रमा रहेका एक ब्यक्तिले आफुले खुलेआम हुण्डी गर्ने बताए । त्यो बोलीले माहोल एक्कैछिन हाँसोमा परिणत बनायो । अनि फेरि अभियान सुझाव संकलन तिर लाग्यो ।
नेपाल पत्रकार महासंघ युएई शाखाका साधारण सदस्य तथा विभिन्न संस्थाको प्रतिनिधित्व गर्ने ति व्यक्तिले यस्तो कुरा सार्वजनिक रुपमै गरेपछि पत्रकार महासंघ युएई शाखाले भने तत्काल उनलाई कारबाही गर्ने निर्णय सुनायो । अगाडि बसेका तत्कालिन नेकपा एमालेका प्रवास संगठनका उपाध्यक्षले भने प्रमाण सहित आए कारवाही गर्ने बताए । कार्यक्रममा सुझाव संकलनसंगै खानापिना पछि कार्यक्रम सकियो । कार्यक्रम सकिएर मिडियामा समाचार आउन थालेपछि पत्रकार महासंघका सदस्य समेत रहेका उनले आफ्नो बोली चिप्लिएको बताए । अव बोली चिप्लिएकै हो कि सत्य हो भनेर छानबिन गर्ने कस्ले ? ती उपाध्यक्षले भने जस्तै उनको प्रमाण बोकेर जाने को ?
पक्तिकारले दूतावासले गरेको कार्यक्रम रिपोर्टिङ गर्दै आफ्नो मिडियामा शनिवार समाचार प्रकाशित गरेसंगै सामाजिक सञ्जालमा एउटा समुह तयार भयो नबिन पौडेलको फेसबुकमा हुण्डीको रेट सहित उपस्थिति भए जसरी नै । हेर्दा लाग्थ्यो उनीहरुले हुण्डी प्रचारप्रसारको पाटो यहि सामाजिक संजाललाई प्रयोग गरेका छन् ।
फेसबुकमा राजनुका भन्ने ब्यक्तीले हुण्डीले दिन सक्ने रेट नेपाल सरकारले दिन सके हुण्डी सरकारले रोक्नु पर्दैन आफै रोकिन्छ भन्ने तर्क गरे। लाग्थ्यो हुण्डी उनी आफैले सञ्चालन गरेका छन् । कमेन्टमा आई हाले एच बी मगर भन्ने । उनले कसैले केही कारबाही गर्न नसक्ने भन्दै बहस सुरु गरे । सवाल जवाफमा उनले आफूसँग युएईमा हुण्डी गर्नेको कम्तीमा पनि १० जनाको नाम लिस्ट रहेको र आवश्यक परे दिन सक्ने भनेका छन् । अर्का सोवित थापा अन्जान नामका ब्यक्तिले भने ९५ प्रतिशत रकम हुण्डी नेपाल जाने भन्दै युएईमा सानो रेस्टुरेन्ट वा ट्राभल खोलेर भित्रभित्रै हुण्डी गर्नेहरु धेरै रहेको आरोप लगाएका छन् ।
प्रेम पुन मगर भन्ने ब्यक्तिसँगको फेसबुकमै भएको बहसमा पंक्तिकारले पूरा जानकारी दिन आग्रह गर्दा पुनले यस्तो कमेण्ट गरे जुन हेर्दा लाग्छ हुण्डी कारोवारीको पुरै लिष्ट उनीसँगै छ ।
दूतावासकै कार्यक्रममा सुझाव संकलन गर्दै गर्दा केहीले जनचेतनाको अभावमा हुण्डी मौलायो भन्ने निश्कर्ष सुनाए । तर पङ्तीकारलाई यो कुरा चित्तबुझ्दो भएन । जनचेतनाको अभावमा होइन धेरै जनचेतना हुँदा चाहिं हुण्डी बढेको हो । अन्ततः बैंकका प्रतिनिधिहरुले पनि लेबर क्याम्पबाट एक हजार देखि पन्ध्रसय सम्म खानेले धेरै रेमिटेन्स गर्ने कुरा बताए ।
युएईमा हुण्डी मौलाएको र त्यसको अन्त्य गर्नको लागि दूतावासले बिगतका बर्ष देखि कार्यक्रमहरु गर्दै आएको छ । यसको निरन्तरता थियो गत सोमबारको कार्यक्रम । दूतावासले एउटा कोठामा कार्यक्रम गर्छ । त्यहीँ हुण्डी मैले गर्छु भन्दै वक्ता बोल्छ । सामाजिक सञ्जालमा हुण्डीको रेटमा तछाड मछाड हुन्छ । तर तिनिलाई कारबाही गर्ने निकाय को ? यो अनुत्तरित प्रश्न पक्तिकारमा उब्जिएको छ ।
(बस्याल नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष हुन्)
यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा