
काठमाडौं,
ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमादान, एउटा कठोर ब्रत । सूर्योदय देखि सूर्यास्तसम्म निराहार अनी पानी समेत नपिई ब्रत बस्छन् ईस्लाम धर्म मान्नेहरु । सर्लाहीको हरिपुर ६, लक्ष्मीपूरका ईद्रिस मन्सुरी पनि रोजामा छन् । उमेरले ६८ बर्ष पुगेका ईद्रिसको पीर कान्छो छोरो गम्सेद मलेसियामा ९ बर्षदेखि हराउनु भएको छ ।
ईद्रिस भन्छन् “छोराको याद जव महिलाहरुले उसको कुरा गर्छन्, त्यतिबेला आउँछ । राती सुत्न ओछ्यानमा जान्छु, त्यो बेला पनि याद आउँछ । आँखाबाट आँशु आउँछ । निन्द्रा लाग्दैन । खाने बेलामा याद आउँछ, खान मन लाग्दैन ।”
दुई लाख ३० हजार खर्च गरेर गएका गम्सेद हराएपछि परिवारलाई मानसिक चिन्ता र आर्थिक बोझ दुवै छ । साउदीमा कमाएर जेठो खुसैदले ऋण तिरे । बाबु ईद्रिसलाई छोरोले कमाउन नसकेको भएपनि घर फर्किदिए हुन्थ्यो भन्ने लाग्छ ।
यी बृद्धबृद्धालाई विहान के खाउँ, बेलुका के खाउँको समस्या छ । छेवैमा बसेकी गम्सेदकी आमा आस्मा खातुन छोराको मायाले तडपिएकी छन् । उनी भन्छिन् “सुते पनि छोराको याद आउँछ । बाहिर हिंड्छु, त्यतिबेला पनि याद आउँछ । यहाँ बसिरहन्छु, त्यति बेला पनि याद आउँछ । छोराको बारेमा सोचिरहन्छु । छाती चिरेर देखाउन मिल्थ्यो भनें मेरो मनमा के भएको छ भनेर देखाउँथे । कि त मेरो आत्मा जान्दछ, कि त माथिको(अल्लाह) ले थाहा पाएको छ मेरो समस्या ।”
१० बर्ष अघि मलेसिया गएर ९ बर्षयता परिवारसँग सम्पर्कमा नरहेका गम्सेदको भएको एउटा तस्वीर यहि हो । उनलाई तपाईले मलेसियामा कहिं देख्नुभएको छ की ? यदि उनका बारेमा तपार्ईसँग कुनै जानकारी भएमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, हरिवन, सर्लाहीको फोन नम्वर ०४६–५३०६६४ मा खवर गरिदिनुहोला ।
(सर्लाहीबाट दुर्गाप्रसाद भट्टराईको सहयोगमा । प्रकाशित मितिः २०७५ जेठ २५)
भिडियो हेर्नुहोस्