कृष्णशोभा सुवाल-
मनोज, भर्खरै साउदीबाट फर्केका हुन् । २०७२ सालमा वैदेशिक रोजगारीको लागि साउदी जाँदा उनले आफ्नो घर बन्धक राखी रु. २ लाख ५० हजार ऋण लिएका थिए भने काखे बालकलाई छिट्टै फर्किने वाचा गरेका थिए। लेवरको काममा श्रम स्वीकृति लिएर साउदी गएका उनको मासिक कमाइ ९०० साउदी रियाल थियो जसबाट उनको ऋण चुक्ता हुनेमा उनी विश्वस्त थिए। तर जब उनी २०७४ सालको अन्तिममा नेपाल फर्किए, तब उनको न त घर नै रह्यो न त परिवार। मात्र रुँदै गरेको एक नाबालक आफ्नो बाबाको प्रतिक्षामा थियो।
प्रतिमा पनि मनोज जस्तै वैदेशिक रोजगारीका लागि लेवनान गएकी थिइन् । तर उनका रोजगारदाताले गरेको शारिरीक शोषणका कारण न त उनी समयमै घर आउन पाइन्, न त परिवार नै रह्यो र नेपाल फर्कँदा बस्नसम्मको लागि बासस्थान रहेन।
श्यामप्रसाद र धिरेन्द्र दुवई गई कृषिको काम गरेका थिए। काम गर्दागर्दै परदेशमा सिकेका सीपको प्रयोग गरी आफ्नो जन्मथलोमा केही गर्ने र उदाहरण बन्ने मनसाय लिई नेपाल फर्केका श्याम र धिरेन्द्र वास्तवमै उदाहरण बनेका छन्। कमाइ मात्र गरेनन् उनीहरुले परदेशमा आफूले सिकेका सीप आफ्नो गाउँघरका युवाहरुलाई पनि सिकाइरहेका छन्।
यी त उदाहरण पात्रहरु मात्र हुन्। जहाँ वैदेशिक रोजगारीले भित्रिएको रेमिटेन्सले राष्ट्रको आर्थिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ, त्यहीँ वैदेशिक रोजगारीले कतिले आफ्नो पारिवारिक खुसी गुमाएका छन्। यसै बीच कति नाबालकहरु मौसमी टुहुरा (SEASONAL ORPHANS) भएका छन्। तर केही भने नमूना पात्र बनी आफूले सिकेका काम तथा सीपको प्रयोग गरी आफ्नो मात्र नभई आफ्नो गाउँ समाजको आर्थिक प्रगतिमा अतुलनीय कार्य गरिरहेका छन्।
दिनहुँ जस्तो वैदेशिक रोजगारीमा गई फर्कनेहरुको घरवास नै नरहेको र आफ्नो परिवार पनि गुमाएको समाचारहरु सुन्छौँ । जहाँ परिवारको एक सदस्य दिनरात नभनी बिहानदेखि रातसम्म पसिना चुहाइरहेका हुन्छन् भने अर्कातिर परिवारका अन्य सदस्यहरु विलासितामा रमाइरहेका हुन्छन्। वैदेशिक रोजगारीमा कारण पारिवारिक विखण्डणको सम्स्याहरु पनि निम्तिएका छन् भने यसले कतिपय अपराधिक क्रियाकलापहरु पनि ब्युँताइरहेको छ।
सामाजिक पुनः स्थापनाको विषय पनि वैदेशिक रोजगरीको एक मुख्य विषयवस्तु हो। नेपालमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको संख्या बृद्धि भइरहेको अवस्थामा पनि पीडित भएर फर्केका व्यक्तिहरुको समाजमा पुनः स्थापनाका लागि धेरै कम मात्र ध्यान दिएको देखिन्छ । सीप सिकाउने र समाजमा आफुनो पहिचान बनाउने कुनै मौकाको समेत व्यवस्था नभएको परिस्थितिमा सामाजिक पुनःस्थापनाको विषयलाई उजागर गरेपनि स्थायित्व भने दिन सकिने देखिंदैन। कहीँकतै केही गैरसरकारी निकायले सरकारी निकायसँगै वा स्वयंको अगुवाईमा केही कदम चालेपनि त्यो पर्याप्त भइरहेको छैन ।
पारिवारिक विखण्डनको शिकार भएका यस्ता व्यक्तिहरुले कानूनी उपचार प्राप्त गर्नका लागि कानूनी व्यवस्था समेत स्पष्ट गरेको नदेखिएको अवस्थामा कानूनी उपचारका लागि अदालत धाउनेको संख्या पनि न्यून रहेको देखिन्छ। महिला तथा बालबालिकाको हकमा महिला तथा बालबालिका सम्बन्धी कार्य गर्ने विभिन्न संघ संस्थाहरुले काम गरिरहेको भएपनि पितृसत्तात्मक सोच रहेको हाम्रो नेपाली समाजले पुरुष पनि पीडित हुन सक्ने र उनीहरुलाई समेत कानूनी उपचारको आवश्यकता पर्ने तर्फ कुनै विचार गर्न सकेको वा गरेको देखिंदैन।
जहाँ नेपाली समाजले यस्ता विभिन्न मूल्य चुकाइरहेको छ, केहीले भने वैदेशिक रोजगारीले राम्रो उपलब्धीहरु पनि दिन सक्छन् भनी प्रमाणित गर्न सफल भएका छन्। केही यस्ता उदाहरणहरु पनि छन् जसले विदेशमा सिकेका सीपलाई प्रयोग गरी आफ्नै मातृभूमिमा विभिन्न सामग्रीहरु उत्पादन गरिरहेका छन् र परिवर्तनका वाहक बनेका छन्। यसले वैदेशिक रोजगारीको नकरात्मक हिसाव मात्र नभई सकारात्मक र उत्पादनमूलक नतिजा ल्याउने पनि प्रमाणित गरिरहेको छ। यसको लागि निति नियम मात्र नभई स्वअनुभूति र स्वरोजगारको मौका अति आवश्यक हुन्छ जसले गर्दा विकास कार्यमा समेत योगदान पुर्याउने तथ्य पुष्टि हुन्छ। (२४ बैशाख, २०७५ मा प्रकाशित)
यो पनि पढ्नुहोस् ‘घर बिदामा आउन चाहन्छौ सरकार, हाम्रो श्रम खोलिदेउ’
