काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी तथा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा निर्भर रहे पनि श्रमिकका समस्या र अधिकारप्रति राज्य गम्भीर बन्न नसकेको आरोप लगाए । उनका अनुसार हालसम्म झन्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । तर, देशको अर्थतन्त्र धान्ने श्रमिककै जीवन र अधिकार असुरक्षित रहेको उनले बताए ।
शाहीले श्रम स्वीकृति लिएर तथा नलिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन्डै एक करोड पुग्न लागेको दाबी गरे । विदेश पुगेका नेपालीहरू ठगीमा पर्ने, अलपत्र हुने तथा सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या बढिरहेको उनको भनाइ थियो । यस्ता समस्याका कारण कतिपय नेपाली श्रमिक मानसिक तनावमा पर्ने र आत्महत्यासम्मको अवस्थामा पुग्ने गरेको उनले बताए ।
वैदेशिक रोजगारीका क्रममा नेपालीले ज्यान गुमाउने क्रमसमेत भयावह रहेको उल्लेख गर्दै शाहीले हालसम्म १६ हजार ७ सय ६० नेपालीको शव बाकसमा नेपाल फर्किएको दाबी गरे ।
जापानको उदाहरण दिँदै उनले पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको बताए । वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा, श्रम अधिकार र उद्धारका विषयमा सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, श्रमिकको अवस्था तथा विदेशमा अलपत्र नेपालीको उद्धारलगायत विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरे ।
