काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका, अंगभंग तथा बिरामी परेका श्रमिक र उनीहरूका परिवारलाई सेवा तथा राहत उपलब्ध गराउने उद्देश्यले १० जना स्वयंसेवक कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

बोर्ड सचिवालयले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि स्वयंसेवक कर्मचारी नियुक्त गर्न लागिएको जनाएको छ। सूचना अनुसार, वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग तथा बिरामी भएका श्रमिक तथा प्रभावित परिवारका सदस्यहरूलाई सहायता, राहत तथा अन्य आवश्यक सेवा उपलब्ध गराउने कार्यमा स्वयंसेवक कर्मचारी परिचालन गरिनेछ।

स्वयंसेवक कर्मचारी पदका लागि आवेदन दिन इच्छुक व्यक्तिले कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेरको हकमा पुरुषका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको हकमा ४५ वर्षसम्म उमेर सीमा तोकिएको छ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अंगभंग भएका, रोजगारीमा रहेका वा फर्किएका श्रमिक तथा उनीहरूका परिवारका सदस्यलाई विशेष प्राथमिकता दिइने जनाएको छ। यस्ता आवेदकले सम्बन्धित अवस्था पुष्टि गर्ने आवश्यक कागजात पेश गर्नुपर्नेछ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, राहदानीको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित अवस्थाको पुष्टि गर्ने कागजात आवश्यक पर्ने सूचनामा उल्लेख छ। पारिवारिक सम्बन्ध पुष्टि गर्न विवाहदर्ता, जन्मदर्ता, नागरिकता, नाताप्रमाणित वा अन्य सम्बन्धित कागजात पेश गर्न सकिनेछ।

आवेदकहरूको छनोट सर्टलिस्टिङ, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता मार्फत गरिने बोर्डले जनाएको छ। स्वयंसेवक कर्मचारीलाई मासिक २५,००० पारिश्रमिक उपलब्ध गराइनेछ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयसम्म आवेदन पेश गर्नुपर्नेछ। सेवा अवधि एक वर्षको रहने र कार्यसम्पादन सन्तोषजनक भएमा प्रचलित व्यवस्था तथा आवश्यकता अनुसार अवधि थप हुन सक्ने जनाइएको छ।

आवेदनका लागि आवश्यक मापदण्ड वैदेशिक रोजगार बोर्डको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित बोर्डमा वा इमेलमार्फत आवेदन पठाउन सक्नेछन्। थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रशासन, योजना तथा अनुगमन शाखा, कोठा नं. १५, बबरमहल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।

थप विवरणका लागि तलको सुचना हेर्नुहोला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय