रघुराज काफ्ले-
सम्पूर्ण युवा जो रोजगारीको लागि तयार हुनुहुन्छ उहाँहरुलाई मेरो आग्रह विदेश जानेभन्दा स्वदेशमा नै सम्भावनाहरु खोजौं । नेपाल पर्याप्त सम्भावना भएको देश हो । हामीले धेरै अवसरहरु यहिं मुलुकभित्रै सिर्जना गर्न सक्दछौं । नयाँ बर्ष सुरु भएको छ । २०७५ को यो थालनीसँगै हामी मिलेर एउटा अभियान सुरु गरौं, देशभित्र नै रोजगारी र अवसर सिर्जना भन्ने ।
जो व्यक्तिहरु जो अहिले विदेशमा काम गरिरहनु भएको छ, उहाँहरुले आफूले कमाएको आम्दानी सुरक्षित राख्ने, घरपरिवारसँग पनि असाध्यै नजिकको सम्वन्ध राखिराख्ने र त्यहाँ कमाएको आम्दानीलाई कम खर्च गरेर धेरैभन्दा धेरै स्वदेश पठाउने काम गर्न अनुरोध गर्दछु । त्यसरी दुःख गरेर कमाएर पठाएको रकम स्वदेशमा ल्याइसकेपछि त्यसलाई उत्पादनमुलक काममा लगानी गर्नु पर्दछ ।
हामी विदेशमा बसिरहँदा सकेसम्म धेरै कुरा सिक्नु पर्दछ । धेरै आम्दानी गर्नुपर्दछ तर यसमा आफ्नो स्वास्थ्यको भनें धेरै ख्याल गर्नुपर्दछ । कमाउने ध्यानमा आफ्नो स्वास्थ्य, जीउज्यान नै जोखिममा पार्नु हुन्न । तपाईले एकपटक गएर विदेशबाट केहि कमाएर फर्केपछि अर्कोपटक पुनः जानु नपर्ने गरेर नै सोच्नु पर्दछ । त्यसरी केहि कमाएर फर्किएपछि नेपालमा नै रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भनेर योजना बनाउनु राम्रो हुन्छ ।
विदेशमा बसिरहेको समयमा सो मुलुकको नियम कानूनको पालना गर्नुपर्दछ । आफूलाई सुरक्षित र स्वस्थ राख्न विशेष ध्यान दिनु पर्दछ । आफ्नो श्रम स्वीकृतिको समय सकिएपछि एकदिन पनि बढी विदेशमा बस्नुहुन्न । त्यसरी बसेमा भविष्यमा धेरै खालका समस्याहरु आइपर्दछन् ।
अर्कोतर्फ कोहि युवा बैदेशिक रोजगारीमा जाने योजनामा हुनसक्नुहुन्छ । त्यस्ता युवालाई मेरो अनुरोध तपाई सीप सिकेर मात्र विदेश जानुहोस् । जुन देशमा जाने हो सो मुलुकको भाषा, संस्कृति र कानून जानेर मात्र जानुहोस् । पर्याप्त तयारी गरेर जानुहोस् । कानूनी प्रकृया पुरा गरेर जानुहोस् जसले गर्दा समस्यामा पर्ने सम्भावना कम हुन्छ ।
विदेश जाने बेलामा लिने अभिमुखिकरण तालिमलाई हामीले अनिवार्य गर्यौं तर सवैभन्दा महत्वपूर्ण कुरा सीपको कुरालाई अनिवार्य बनाएनौं । सीप सिकेर जाने वित्तिकै उ सुरक्षित पनि हुन्छ र उसको कमाई पनि कयौं गुणा धेरै हुन्छ । उसले काम गर्ने ठाउँमा प्राप्त गर्ने ईज्जत पनि धेरै हुन्छ । त्यसैले सीप सिकेर मात्र विदेश जाने व्यवस्थालाई अनिवार्य गरिनु पर्दछ । सरकारको तर्फबाट प्रयत्न नपुगेको हो । लाखौं मानिस विदेश जान्छन् । त्यसैले यसमा हामीले ध्यान दिनु पर्दछ । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको जिम्मेवारीमा यो प्रकारको तालिमको व्यवस्था गर्ने भन्ने छ । हामीले हरेक बर्ष थोरै मात्रामा यो प्रकारको तालिम दिइरहेका छौं । तर ठूलो संख्यामा तालिम दिन हाम्रो संरचना र श्रोतसाधनले भ्याउँदैन । त्यसैले सरकारले अन्य केहि संघसंस्थाहरुको क्षमता बढाएर भएपनि सीपमुलक तालिमलाई व्यापक बनाउन र तालिम लिएर मात्र विदेश जान पाउने व्यवस्था गर्न जरुरी छ ।
(बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग गरिएको कुराकानीमा आधारित । प्रकाशित बैशाख ५, २०७५)
यो पनि पढ्नुहोस् मासिक ३०–३५ हजार कमाउँछु, ४ जनालाई १५–२० हजारको रोजगारी दिएको छु
