
लक्ष्मण खनाल युएई-
‘गरिविका कारण घरको आर्थिक अवस्था सुधार गर्न बैदेशिक रोजगारीको बाटो समातेको हेर्दा हेर्दै ७ बर्ष भएछ । २ बर्ष मलेसिया र त्यसपछि युएईमा निरन्तर रोजगारी गरिरहेको छु’ बैदेशिक रोजगारीको लागि ५ बर्ष पहिले युएई आएका लमजुङ्ग खुदीका प्रेम बहादुर तामाङ्ग लामो सुस्केरा हाल्दै आफ्नो दुखेसो पोख्दै गए ।
दुई बर्षको करार अवधि सकाएर छुट्टी मनाउन नेपाल जाने तयारीमा थिए उनी । कम्पनीले टिकट व्यवस्था गरिसकेपछि श्रीमतीलाई फोन गरेर आफु नेपाल पुग्ने दिन काठमाडौंमा लिन आउ है भनेर श्रीमतीलाई खवर गरे । दुवै जनाको एअरपोर्टमा भेट्ने सल्लाह भयो । उनले श्रीमती र छोराहरुको लागि कपडा खेलौना र अरु समानहरु किने । परिवारसँग २ बर्ष पछि भेट्न पाइने भन्दै उनी मन मनै फुरुङ्ग पनि थिए । नभन्दै नेपाल जाने दिन आयो । उनी युएईबाट नेपालको लागि प्लेन चढे ।
युएईमा रहेको एक सेक्युरिटि कम्पनीमा कार्यरत २९ बर्षिय तामाङ्ग त्यतिबेला छाँगाबाट खसे जस्तो भए जब काठमाडौमा लिन आउँछु भनेर घरबाट हिडेकी श्रीमतिले उनको पसिनाको कमाइ पोको पारेर अर्कैसंग बाटो लागिन ।
उनी भन्छन,–‘विहे गरेको ११ बर्ष भयो । विहे गरेको एक बर्षमा पहिलो छोरा जन्मियो । पारिवारिक जिम्मेवारी र सन्तानको भविष्य उज्जवल बनाउने उद्देश्यका साथ पारिवारिक सहमतिमा बैदेशिक रोजगारीको लागि हिडेको थिएँ । तर आज बैदेशिक रोजगारीले नै मेरो नै मलाई समस्या पारिदियो ।’
गत फाल्गुण ६ गते लमजुङ्गको बेशिशहरबाट विदेशबाट छुट्टी मनाउन आएका श्रीमान लिन काठमाडौं जान भनि निस्केकी श्रीमती सुस्मिता तामाङ्ग सम्पर्क बाहिर रहेपछि खोजीकार्यको लागि आफन्त, समाज र स्थानिय प्रशासन गुहारे उनले । समाजिक सञ्जालमार्फत श्रीमतीको खोजी पहल गरे । १० बर्षको एउटा र ६ बर्षको एउटा छोरा घरमा छोडेर श्रीमती बेपत्ता भएपछि सोधिखोजी धेरै गरे । तर श्रीमतीको केही टुंङ्गो लाग्न सकेन । श्रीमती उनलाई छोडेर अर्कैसँग बाटो लागिछन ।
प्रेम भन्छन,–‘परिवारको भविष्यका लागि भनेर बैदेशिक रोजगारीको कमाई बचत गरिरहेको थिएँ । बैंकमा भएको ५ लाख रुपियाँ र तीन तोला सुन लिएर साना छोराहरु घरमा एक्लै छोडेर भाग्न सक्ने कस्तो निर्दयी मन होला ?’ आफुले विश्वास गरेर हरेक कुराहरुमा स्वतन्त्र छोडेको बताउने उनले श्रीमती कै विश्वास र भरोसामा दाजुभाई छुट्टीएर अलग बसेका थिए । श्रीमतीले आफ्नो विश्वासको फाइदा उठाएर भागेको उनको आरोप छ । श्रीमती भागेपछि उनले प्रहरीमा उजुरी पनि दिएका छन । आफ्नो हिनामिना भएको सम्पत्ती सहित क्षतीपुर्ती पाउनु पर्ने उनको भनाइ छ ।
श्रीमान श्रीमति विचमा हुने समान्य मनमुटाव बाहेक अन्य कुनै पनि समस्या परिवारमा नभएको बताउने प्रेमले आफुले गरेको विश्वासमा मात लागेर बाटो लागेकी श्रीमति भविष्यमा पछुताउने उनी बताउँछन । ‘अब स–साना छोराहरुको हेरचार र उनीहरुको भविष्यको चिन्ता भएको छ । उनीहरुलाई केही व्यवस्था गरेर उनीहरुको भविष्यको लागि भए पनि पुनः बैदेशिक रोजगारीमा नै फर्कन्छु ।’ उनी भावुक भएर भन्छन । ‘मेरो कथा लेखी दिनु होला । मैले जस्तो समस्या अरु परदेशी दाजुभाइहरुले भोग्नु नपरोस ।’
बैदेशिक रोजगारीले निम्त्यायो सामाजिक समस्या
बैदेशिक रोजगारीमा आर्थिक उपार्जन सँगै यसले समाजमा विभिन्न समस्याहरु उत्पन्न गराएको छ यस्ता समस्या झेल्ने पात्र प्रेम तामाङ्ग मात्र एक होइनन । बैदेशिक रोजागारीले दिनानुदिन समाजमा विभिन्न समस्याहरु निम्त्याएको हामी भेट्न सक्छौ ।
कुनै युवा आर्थिक आय आर्जनको लागि विदेश गएमा उनको परिवारले विलासितामा जिन्दगी जिउने, आफ्नो श्रीमानको दुःख गरेर कमाएको सम्पत्तीको दुरुपयोग गर्दै अर्कै परपुरुषहरुसँग सम्बन्ध स्थापित गरेर भाग्ने, परिवारका सदस्यहरु वा सन्तानको वेवास्ता गर्ने, आर्थिक आयका विकल्पहरुको खोजी नगरी बैदेशिक रोजारीमा मात्र निर्भर रहने जस्ता सामाजिक समस्याहरु देशको विभिन्न ठाउँहरुमा छन । विश्वास पात्रबाटै आर्थिक विचलन, साँस्कृतिक विचलन, पारिवारिक विखण्डन जस्ता समस्याहरु परदेशी युवा युवतीहरु झेल्न विवश छन ।
तर समस्या स्वदेशमा बस्ने महिलाका मात्र छैनन । रोजगारीका लागि विदेश आएका युवाले परिवारलाई विर्सिने, उनीहरु प्रति बेवास्ता गर्दै दिएको यातना चर्को छ । विदेशमा आएका युवा युवतीहरु आफ्नो पारिवारिक जिम्मेवारी भुलेर आफुले कमाएको पैसा विदेशमा नै खर्च गर्ने गरेका घट्नाहरु पनि प्रसस्तै छन् । परदेशमा नै स्वदेशी वा विदेशीसँग सम्बन्ध बनाएर मनोरञ्जन गर्ने, विभिन्न प्रलोभनमा देखाएर ठग्ने, अवैधानिक वा आपराधिक क्रियाकलापहरु गर्ने, मादक पदार्थ जस्ता कुलतमा फस्ने, नियमित काममा नजाने, देशमा रहेका परिवारलाई आफुलाई समस्या भएको भन्दै उल्टो देशबाट पैसा मगाएर देश फर्कनुपर्ने जस्ता समस्याहरु धेरै छन । यो पाटो पनि उत्तिकै छ ।
बैदेशिक रोजगारमा जान चाहने नेपाली युवा युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर बैधानिक वा अवैधानिक बाटो प्रयोग गरी मोटो रकम असुलेर विदेशमा लगेर ठग्ने, अलपत्र पर्ने, र सम्बन्धि व्यक्ति गुमनाम हुने समस्याहरु पुराना होइनन ।
सरकारी नीति नियम कार्यन्यवन हुन सकेनन
नेपालको अर्थत्रन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सको श्रोत बैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यदित बनाउन विभिन्न समयमा परिवर्तित सरकार, मन्त्रि र दुतावासका कर्मचारीहरुको मुख्य एजेण्डा नै बनेको छ । बैदेशिक रोजगारीको जाने नेपालीहरुको संख्या बृद्धिसँगै समस्याहरुको पनि बृद्धि भईरहेको छ । ति समस्या समाधानको लागि सरकारी तबरबाट विभिन्न योजना, नीति नियमहरु बने पनि कार्यन्यवन हुन सकेका छैनन । बैदेशिक रोजगारीबाट हुने आम्दानी पनि अनुत्पादक क्षेत्रहरु जस्तै घर, जग्गा, गरगहना जस्ता क्षेत्रमा लगानी हुने गरेको कुरा हामीबाट छुपेको छैन ।
वास्तवमै वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाएर यसबाट उत्पन्न समस्याहरुको समाधानको न्युनीकरणमा सरकारी तवरबाट पहल नहुने हो भने निकट भविष्यमा नै बैदेशिक रोजगारीकै कारण समाजमा विभिन्न समस्याहरु, विकृति, अपराधहरुले दिर्घकालिन रुपमा जरा गाड्ने देखिन्छ ।
यो पनि पढ्नुहोस् विदेशमा दुःख, अप्ठ्यारो परेका नेपालीको अभिभावक राज्य हुन्छः श्रम मन्त्री विष्ट