
लक्ष्मण खनाल, युएई-
प्रसंग १
केही दिन पहिले युएईमा रहेको एक नेपाली सामाजिक संस्थामा आवद्ध एक महाशयले पत्रकारलाई गाली गर्दै फेसबुकमा आफ्ना कुरा टाँसे । उनको आरोप थियो, ‘युएईमा क्रियाशिल पत्रकारहरुले हुण्डीवाला, तस्कर वा दलालको नाम लेख्न सकेनन् ।’ अनि शुरु भयो प्रतिक्रिया । पत्रकार माथीको शाब्दिक प्रहार । बैधानिकता देखी योग्यतासम्मका प्रश्नहरु तेर्सिए । दुतावासले लगाएको ‘पित पत्रकार’ आरोपको समर्थन गर्दै हौसिनेहरु पनि त्यसमा हो मा हो मिलाउँदै थपिए । त्यो लहरमा युएईका विभिन्न नेपाली संघसंस्थाहरुमा आवद्ध ‘समाजसेवी’हरु लस्करै उभिएका थिए ।
प्रसंग २
युएईको बरदुबईमा रहेको एक चिया पसलमा बसेर अर्का महाशयसँग चिया गफमा गफिदै थिए । उनले यताउता आँखा घुमाएर भने,–‘थाहा छ युएईमा रहेको एकजना व्यवसायीको मोटो रकम लिएर एकजना हुण्डीवाला अन्य देश तिर भागेछ ।’ मैले चासो दिंदै भने हो र ? कुन व्यवसायी ? उनको नाम के हो ? ठग्ने को हो ? अनी कति रकम उठाएर चम्पट ठोकेछन् ?
बीचमै रोक्दै उनी सुस्तरी भन्दै गए, ‘मिलेर हुण्डी गरेका रे । फसेछन । अब चेते होलान् ’। मैले उक्त सुचनाको प्रमाणीकरण गर्ने ध्येयका साथ उनलाई फकाउने प्रयत्न थालें । हर कोशिस गरें । तर महोदयले उक्त पात्रहरुको नाम बताएनन् । मैले सामाजिक उत्तरदायित्वको कुरा सुनाउँदै उनको नाम गोप्य राख्ने बाचा पनि गरें, तर सामाजिक क्रियाकलापमा सक्रिय ति महाशयले सामाजिक उत्तरदायित्वको कुरा बुझ पचाए जस्तै गरी आलटाल गर्दै भने ‘केही दिन कुर्नुस म सबै विवरण दिनेछु ।’
केही दिन पश्चात महाशयलाई मैले सम्पर्क गरें र उक्त सुचनाको विवरण दिन अनुरोध गरे । उनले जवाफ दिए ‘सर त्यो विषय मिलेछ । समाधान भयो भन्ने सुनें । अव भयो छोडनुस् नामको कुरा ।
प्रसंग ३
सामाजिक सञ्जाल फेसबुकमा अर्को बिषयले प्रवेश पायो । युएईमा क्रियाशिल एकजना महिलाले स्टाटस लेखिन्, युएईमा व्यवसाय गर्ने एकजना नेपालीले नेपालीहरुको नै १ लाख ५० हजार युएई दिहराम लिएर रकम फिर्ता गरेनन् । युएईमा क्रियाशिल जिम्मेवार संस्था र जिम्मेवार पत्रकारहरु प्रति लक्षित गरेर उनीहरु माझ पिडित पुग्दा पनि पिडितले रकम नपाएको भन्ने आशयको ।
त्यसपछि शुरु भयो प्रतिक्रियाहरु । फेसबुकमा पिडित र पिडकको नाम राख्नु पर्ने भन्दै उक्त विषय बाहिर ल्याउने महिलालाई अनुरोध भयो । घटना थाहा पाएर पनि समस्या समाधानमा नलागेको भन्दै पत्रकार र संस्थाहरु पनि तानिए । उल्टो पिडित भनिएकाहरु तर्फ पनि प्रश्न सोझियो उनीहरुसँग त्यत्रो धेरै रकम कहाँबाट आयो ? कतै हुण्डीमा उनीहरु पनि संलग्न त छैनन् ? को कुन कसरी कहाँ संलग्न छ, त्यो त विषयवस्तु बाहिर आए पछि थाहा होला ।
जिम्मेवार पत्रकारको विषयले गर्दा मैले उक्त सुचनाको वास्तविकतासम्म पुग्ने प्रयास गरें । पिडितलाई सम्पर्कमा ल्याउने कोशिस गरें । त्यो सफल भएन । अनि अन्य पत्रकार साथीहरुलाई केही जानकारी छ की भनेर जान्ने निक्कै प्रयत्न गरेपछि एकजना मित्रले दरिलो प्रमाण दिनु भयो ।
उक्त रकम ठगी भएको हो तर कसरी कुन कारोबारमा भन्ने खोजी गर्दा पीडितले समाचार नलेखिदिनु, दुतावास वा अन्य संस्थाहरुलाई नबताउनु, मात्र पिडकलाई आन्तरिक दबाब दिनु भन्ने पीडितको अनुरोध आएको रहेछ । मित्रले केही रहस्य रहेको सुझाए ।
केही विषय पाए पछि म उक्त स्टाटस लेख्ने महिलाको सम्पर्कमा पुगे । उनले पनि साथीले भने जसरी नै जवाफ दिइन ‘पहिले पैसा फिर्ता हुन दिनुस, अनि भण्डाफोर गर्नु पर्दछ ।’ मैले समाचार मार्फत दवाव दिने सोचको कुरा गरे उनले थपिन् मुख्य उद्देश्य रकम फिर्ता गर्नु हो अनि अन्य कुरा गर्दै गरौला ।’ पर्दाफास पनि हुन्छ । भण्डाफोर पनि हुन्छ । वास्तविकता लुक्छ अनि कसरी ?
त्यसको केही समय पछि पिडित महोदयको म्यासेज आयो ‘सर यो कुरा बाहिर नल्याइदिनुहोला । हामी ६/७ जना पिडित छौ । अहिले समाचार बाहिर आयो भने हाम्रो पैसा गुम्छ त्यसैले कृपया समाचार नलेख्नुहोला र अन्य साथीहरुलाई पनि नभन्नु होला । समय आए पछि हामीले सम्पुर्ण सुचना दिएर पर्दाफास गर्नेछौ । ’
माथी उल्लेखित प्रसंगहरु उदाहरण मात्र हुन । यस्ता घट्नाहरु प्रवासमा रहेर रोजगारी सँगसँगै पत्रकारिता गरिरहेका म जस्ता पत्रकारहरुले दैनिक भोग्नु परेको छ भन्दा अन्यथा नहोला । विभिन्न बहानामा सुचना लुकाउने र उल्टो सामाजिक सञ्जालमा आएर पत्रकारविरुद्ध धारे हात लगाउनेहरु समाजमा प्रबुद्ध भनिएकाहरु देखी सामाजिक सञ्जालमा आफुलाई महिसा ठान्नेहरुसम्म हुन्छन । आफ्नो नाम नआएको बहानामा समाचार पुर्ण भएन भनेर समाचारलाई विज्ञापन सोच्ने संस्था प्रमुख देखी आपराधिक कार्य गर्दै पत्रकारलाई अबैधानिक भनेर घर पठाइदिन्छु भन्ने दलालहरुसम्मको धम्की युएईमा क्रियाशिल नेपाली पत्रकारहरुका दैनिकी जस्तै भएको छ ।
उच्च चुनौतीका साथ कुनै विषयको खोजमा निस्केको पत्रकारलाई विभिन्न डर देखाउने, अल्पसुचनाहरु सामाजिक सञ्जालमा टाँस्ने, सुचना लुकाउने र विभिन्न सामाजिक व्यवहारिक कारण देखाएर समाचार लेख्न नदिने । गतिलो श्रोत नदिने । दुतावासमा खबर गर्न नसक्ने । युएईको कानुन पनि छ त्यसको सहयोग लिन पनि डराउने । अनि पत्रकारहरुलाई नै आरोप लगाउने ? त्यसको गर्भ भित्र कतै पिडक र पिडित भनिनेहरुको आपसी अबैध कारोबार बर्षौ देखी चलिआएको त छैन ? अध्ययन गर्ने हो भने सामाजिक क्रियाकलापमा संलग्न व्यक्तिहरुबाट नै यस्ता आरोपहरु आउने गर्दछन ।
सतही रुपमा हेर्दा कुराहरु सबै मनासिव लाग्छन । तर सत्य त्यो हुँदैन । पत्रकारहरुले समाचार लेख्छन । समाचार सत्य र तथ्यमा आधारित हुनुपर्दछ । सुचना प्रमाणित हुनुपर्दछ र विश्वासिलो स्रोत हुनुपर्दछ । पत्रकारले सुचना लुकाउनु हुँदैन । सुचनाको गलत प्रयोग गर्नु हुँदैन । त्यसबाट पत्रकारहरु सचेत हुनु नै पर्दछ र युएईमा क्रियशिल पत्रकारहरु त्यो विषयमा सजग छन भन्ने पंक्तिकारको ठम्याई हो ।
हुण्डी, सुन तस्करी, मानव तस्करी अबैधानिक प्रक्रिया हो । राजस्व छली देशको लागि अपराध हो । मानव तस्करी मार्फत ठगी दलाली गर्नु जघन्य अपराध हो । राज्यको कानुनले यसलाई बर्जित गरेको छ । यो कुरा युएईमा रहेका नेपालीहरुको सन्दर्भमा पनि लागु हुन्छ । र ठोकुवाका साथ लेख्न सक्छु युएईमा क्रियाशिल नेपाली पत्रकारहरुले हुण्डी, सुन तस्करी, मानव तस्करीको विरुद्धमा जनचेतना फैलाउन धेरै समाचारहरु, लेखहरु वा अन्य माध्यमबाट पहल गरिरहेका छन ।
यस्तो लाग्दैन तथ्यपुर्ण सुचना पाएर पनि कुनै पत्रकारले समाचारको हत्या गरेका छन् । पंक्तिकार अनुरोध गर्दछ समाजमा क्रियाशिल नेपालीहरु, अन्य दाजुभाइहरुमा युएईमा नेपाली समुदायमा विकृति रहित बनाउने अभियान सफल बनाउनको लागि, जनचेतनाको लागि वा अपराधिको पहिचानको लागि तपाईसँग भएको सुचना निर्धक्कका साथ दिनुहोस । समाजका विकृति हटाउन सबैको उत्तिकै भूमिका हुन्छ ।
ठगहरुको पर्दाफास गर्न, उनीहरुको बारेमा युएईमा क्रियाशिल नेपाली श्रमिकहरुलाई, देशमा रहेर युएई आउने तयारी गरिरहेका युवा युवतीहरुलाई सचेत बनाउन सहकार्य आवश्य छ । विशेष युएईमा रहेको नेपाली दुतावास, युएईमा क्रियाशिल नेपाली संघसंस्थाहरुको मुख्य भुमिका हुनु जरुरी छ । साथ साथै हरेक नेपाली लाज, डर, प्रलोभन छोडेर हुण्डी, सुन तस्करी, मानव तस्करीहरुको भण्डाफोरमा लागौं । पत्रकारहरु सदैब साथमा हुनेछन । एक पटक युएईबाट शुरु गरौ । हामी युएईको नेपाली समाजलाई स्वच्छ बनाऊँ । ताकी आगामी दिनमा हामीले यस्ता बहसहरु सामाजिक सञ्जालमा गर्न नपरोस । सबैले भनौ ‘यो कुरा बाहिर ल्याउन जरुरी छ ।’
जदौ ।
(पंक्तिकार नेपाल पत्रकार महासंघ युएई शाखा उपाध्यक्ष)
यो पनि पढ्नुहोस् श्रम स्वीकृति सकियो ? अझै पनि विदेशमै हुनुहुन्छ ?