
रञ्जना लम्साल-
पछिल्ला केहि बर्षयता रोजगारीका मुख्य माध्यमका रुपमा वैदेशिक रोजगारी देखिएको छ । पछिल्लो समयमा संस्थागत र व्यक्तिगत गरी १५ सयको हाराहारीमा युवाहरु श्रमस्वीकृती लिएर रोजगारीका लागि खाडी मुलुकहरु र मलेसिया जाने गरेका छन् । अवैधानिक बाटो प्रयोग गरेर जानेको संख्या त पछिल्ला केहि बर्षयता घटेको छ, तर पूर्ण रुपमा रोकिएको छैन । त्यसरी जानेहरु कति हुन्छन्, यकिन तथ्याँक हुन्न ।
खाडी मुलुक र मलेसियामा रोजगारीका लागि जानेहरुमा पुरुषको संख्या ठूलो भएपनि महिलाको संख्या पनि उल्लेख्य छ । पारिवारिक समस्या, बेरोजगारी, आत्मनिर्भरताको खोजी र दक्षता अनुरुपको रोजगारीको अवशरले पनि बैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढिरहेको हो । तर यसमध्ये न्यून शैक्षिक अवस्थाका महिला घरेलु कामदारका रुपमा विभिन्न बाटो हुँदै जाने र समस्यामा पर्ने पनि उत्तिकै गरेका छन् ।
बैदेशिक रोजगार नेपाली कुनै परिवारको गुजाराको माध्यम मात्र होइन, मुलुकको आर्थिक गतिशिलताको कडी प िनबनेको छ । कुल ग्राहस्थ उत्पादनमा विप्रेशषणको भूमिकाका बारेमा धेरै छलफल गरिरहन आवश्यक छैन, किनकी यो जगजाहेर विषय हो ।
मुलुक भित्रिने विप्रेषणको हिस्सामा नेपाली महिलाको पनि उत्तिकैै योगदान छ । चाहे बैदेशिक रोजगारीमा गएर कमाएर पठाउने महिला हुन् वा श्रीमान बैदेशिक रोजगारमा गएपछि घरपरिवार सञ्चालनमा एकल जिम्मेवारी लिएर होस्, नेपाली महिलाले उल्लेख्य योगदान गरेका छन् ।
बैदेशिक रोजगारका लागि परिवारको पुरुष सदस्य बाहिरिएपछि घर परिवारको कामको सम्पुर्ण वोझ महिला एक्लैको काँधमा आउँछ । श्रीमान बिदेश हिंडेपछि घर ब्यवहार, परिवारको जिम्मेवारी, बालबच्चाको लालनपालन, शिक्षा स्वास्थ्य सम्पुर्ण जिम्मेवारी महिलाको काँधमा आईपर्छ । यसलाई उनीहरुले जिम्मेवारीपूर्वक निर्वाह गरेकै कारण पुरुषले बाहिर रहेर आर्थिक उपार्जन गर्न सक्षम हुन्छन् । त्यसैले यो पाटोलाई नजरअन्दाज गर्न सकिन्न ।
अर्को तर्फ बैदेशिक रोजगारीमा गएर कमाएर पठाउने महिलाको योगदान पनि उत्तिकै छ । तर ति महिलाप्रति हेर्ने दृष्टिकोण भनें अझै पनि उति सकारात्मक बन्न सकेको छैन । उनीहरुको भूमिकालाई गौण रुपमा हेरिएको छ । परिवार पाल्ने रकम कमाउन आफ्ना ईच्छा चाहना मारेर श्रीमानलाई बिदेश पठाएका महिलाको जीवनस्तर सुर्धार्ने पाटो होस वा पुरुष वरावर खाडीका मुलुक र मलेसियामा पसिना वगाउने महिलाको जीवन रक्षा र सुरक्षाको अवस्था होस यसमा आवश्यक गम्भीरता अझै देखिएको छैन ।
महिलाको सुरक्षाको लागि र उनीहरको जीवनस्तर उकास्न बिभिन्न तवरका कानुन बनिरहेका छन् । तर त्यसको कार्यन्वयनको अवस्था शुन्य प्रायः छ । वैदेशिक रोजगारीका नाममा बेचविखनमा परेका मुद्धा होस वा रोजगारीमा गएर शारिरीक, मानशिक तथा यौन हिंसामा परेका महिलालाई दिने न्याय र पुर्नस्थापनाका कुरामा सरकारको ध्यान जान सकिरहेको छैन ।
शारिरीक बनावटको कारणले पुरुष वराबर काम गर्न नसकेको वाहेक अन्य अवस्थामा महिलाले गर्न नसक्ने काम कम होला । तर अवसरको कमिले गर्दा महिलाहरु पछाडी परिरहेका छन् वा पारिएका छन् ।
आज १०८ औं अन्तराष्ट्रिय महिला दिवस । आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण मुल नाराका साथ यो दिवस मनाईरहँदा बैदेशिक रोजगारले महिलामा पारेको प्रभावका बारेमा तथा उनीहरुको हकअधिकारका बारेमा पर्याप्त छलफल हुन जरुरी छ । के हामी यसका लागि तयार छौं त ?
यो पनि पढ्नुहोस् जोर्डनको रोजगारीमा नेपाली महिला (हेर्नुहोस् ११ तस्वीरहरु)