राजा बगर, दुबई-
जाडो महिना भएर होला दिउसो चार बजेतिर नै दिन धमिलिएको थियो।नेपाली रेष्टुरेण्टमा चिया पिएर म लभ डाँडोमा सामाजिक बिषयको बैठकमा उपस्थित हुन जाँदै थिए।
नेपाली चोक मेट्रो पार्क हुदै म लभ डाडोमा पुगे। सयौ नेपालीहरु समुह समुहमा बसेर गफ गरिरहेका थिए । टाढैबाट यो देखिन्थ्यो ।
लभ डाडोको बिषयमा आज मात्र हैन धेरै लेखक र पत्रकार साथिहरुले लभ डाडोमा हुने नेपालीको चर्तिकलामा सचेतनामुलक कलम नचलाएका होइनन।
म लभ डाडोको टुप्पोमा पुगें । लगभग ६०, ७० जना महिला पुरुषहरु आनन्दले बसेर गाउँमा भोज भतेरमा खानपिन गरे जस्तै अगाडि बियर र प्लास्टिकका ग्लासमा ह्वीस्की सितन सित खाँदै थिए। नयाँ अनुहार भएकोले मैले कसैलाई चिनिन । सरर हेरेर म मेरो गतब्य बैठक त्यहि नजिकै गएर बसे।
बैठक बसेको वरपर पनि नेपालीहरु खजुरको रुखमुनि समुह समुहमा बसेका थिए। बैठक अवधिमा एकजना नेपाली महिला चटपटे लिएर आईन र हामीले किनेर खायौ पनि।
सामाजिक बिषयमा कलम चलाउन रुचि राख्ने भएकाले म बैठकमा भन्दा पनि ध्यान मेरो नेपाली महिला पुरुषहरुको मनोरञ्जन खानपिन कार्यमा बढि केन्द्रित थिएँ ।
यत्तिकैमा एकजना भारतीय नागरिक पहेलो सेफ्टि जकेट लगाएको एउटा हातमा प्लाष्टिकको झोलामा पानीको बोतल र अर्को व्यागमा रक्सिको बोतल लिएर हाम्रो समुहमा आएर “भाई बोतल चाहिए” भन्दै आयो । हामीले नहिं चाहिए भन्यौं र उ नजिकै अर्को समुहमा गयो र एकजना नेपाली महिलाले एउटा बोतल किनिन। मैले लुकेर फोटो खिचें।

सो व्यक्ति त्यसरी नै अर्को समुहमा गयो र त्यहाँ पनि उसले अर्को वोतल बेच्यो । हामी नेपाली नेपालमा पनि यसरि चौरमा बसेर खुल्लम खुल्ला कहिल्यै पिएनौ । तर दुवईको त्यो पार्क मानौं कुनै एउटा भट्टिपसल नै थियो।
बैठक सकियो म पुन लभ डाडोको टापुमा पुगे । त्यहाँ २, ३ जना युवाहरु झगडा गर्दै थिए । केहि महिलाहरु झगडा मिलाउन लाग्दै थिए। कोहि डराएर आफ्नो सरसमान मिलाएर भाग्दै पनि थिए। वातावरण रक्सिभट्टि जस्तै थियो जताततै बियर र रक्सिका बोतलहरु यत्रतत्र छरिएका थिए। म गतब्य तिर लागे। साँझ पनि ढल्किसकेको थियो।
युएईमा सार्बजनिक स्थलमा पान खैनि गुट्खा आदि खानुलाई ग़ैरक़ानूनी मानिन्छ । यस्तो सख़्त कानुन भएको देशमा खुल्लमखुल्ला सार्वजनिक पार्कमा मदिरा सेवन गर्नु एक आपसमा झगडा गर्नु निकै दुःखलाग्दो सन्देश हो। यसले भोलि आम नेपालीहरुको प्रतिष्ठा र रोजगारीमा नै धब्बा नलाग्ला भन्न सकिदैन।
मादक पदार्थ सेवन गरि सवारि चलाउदा दुर्घटना भएर कति नेपाली जेलमा सडेका छन। केहि दिन अगाडि दुई जना महिला र दुई जना पुरुष मादक पदार्थ सेवन गरि सवारी चलाउदा दुर्घटनामा परि रसिद हस्पिटलमा भर्ना भएका थिए।
युएईका सामाजिक संघसंस्थाहरुको काम के ?
युएईमा सयौको हाराहारीमा संघसंस्थाहरु छन। कसैको मृत्युमा चन्दा उठाउनु’ बनभोज गर्नु’आफ्नो संघसंस्था बलियो बनाउनु, दोसल्ला ओढ्नु भन्दा नेपाली समुदाय बिच हुने यस्ता बिकृतिका बिषयमा जनचेतना फैलाउन आजसम्म कुनै संस्थाले अधिकारिक रुपमा पाईला चालेको देखिदैन।
ग़ैरक़ानूनी सयौं संघसंस्थाहरुले त केहि गरेनन गरेनन तर युएई सरकारबाट मान्यता पाएका हामी नेपाली एसोसियन र बिजनेस काउन्सील जस्ता आधिकारिक संस्थाहरुले पनि यस बिषयमा ध्यान दिएको देखिदैन।
त्यसैले सवै संस्थाहरु मिलेर नेपाली समुदाय बिच हुने यस्ता ग़ैरक़ानूनी कार्यलाई निरुत्साहित गर्न समन्वयात्मक रुपमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ ।
यो पनि पढ्नुहोस् वैदेशिक रोजगारी व्यवस्थीत गर्न स्थानीय सरकारले सघाउने
