बिष्णु न्यौपाने ‘परदेशी’-
बिदेशमा श्रम बेच्ने खाडी देश नेपालीको, पसिनाले भित्रियाउने रेमिट्यान्स नेपालीको !
भ्रष्टाचारी नेताहरुले खुन चुस्ने नेपाली, बिदेशमा सुरिक्षित छैन ज्यान नेपालीको !!
श्रम नीति बनाउन आवाज दिंदै नेपालको, एनआरएनए उठेको छ खाडीबाट नेपालीको !
ठुलाले बुझेनन् खोइ दर्द पीडा नेपालीको, नेतृत्व अब हुनु पर्छ खाडीबाट नेपालीको !!
सन्दर्भ महाधिवेशनको । हालै संसारभर तातो खबर, चर्चा परिचर्चा “एनआरएनएको” अब हुने २०१७-१९ कार्यकालको महाधिवेशनको छ ।
१५-१७ कार्यकालको निम्ती खाडी भनौं मध्यपूर्वका बिभिन्न राज्यबाट अध्यक्ष लगायत धेरै पदहरुमा उम्मेदवारी परेको थियो । दुर्भाग्यबश युरोप, अमेरिका र अन्य पश्चिमी मुलुकका ठुलाठालुबाट राजनीतिकरण र अपहरण शैलिमा खाडीलाई माथि उठन दिइएन । नेतृत्वमा पुनः उस्तै दोहोरिए । २०१३-१५ कार्यकालमा झन्डै ४ सय प्रतिशतले संस्थालाई उँभो लगाउन साउदी अरबले ठुलो भूमिका खेलेको थियो भने केही मुलुकले चर्को सदस्यता लिनु, खाडीको संयन्त्रमा एकरूपतामा कमी आउनु, खाडीको घोषणापत्रलाई धनी मुलुकका ठुला बडाले प्राथमिकता नदिनु, खाडीबाट उपस्थिती न्युन रहनु साथै अन्य बिबिध कारणले पनि १५-१७ कार्यकालको उमेद्वारी चयनमा खाडीले फड्को मार्न नसकेता पनि खाडीका ती योद्धाले आफ्नो हार मानेनन । खाडीको आवाजलाई अझ बुलन्द बनाउनमा र श्रमिक हकहितका निम्ति निरन्तर संघर्ष जारी राखे ।
साउदीबाट श्रमिक हकहितका मुद्धा धेरै उठेका हुन । जसले यो संस्थालाई हृदय देखि माया गर्नु हुन्छ, जसले श्रमिक हित अधिकार सुनिश्चितताको लागि अहोरात्र खटेर सरकारको माथिल्लो निकायसम्म आवाज उठाउनु भयो त्यस्ता व्यक्तित्वहरुको साउदी लगायत खाडीको आवाजलाई माथिबाट बेवास्ता गरेको तीतो यथार्थ छ । गत २०१४ को बहराइन भेला देखि यता साउदीमा कत्रो आँधी बेहरी आयो, श्रमिकको हितको लागि एनआरएनए साउदीले न्युन ज्यलादारीहरुको लागि भनेर सबैभन्दा कम सदस्यता शुल्क ३० रियल मात्र निर्धारण गर्यो । मध्यपूर्व लगायत खाडीका अन्य मुलुकको लागि पनि सो कार्वान्वयनको माग गरियो । आखिर ती निर्णय प्रति एनआरएनएको माथिल्लो निकायबाट प्रतिक्रिया, प्रशंसा, सुझाव आउनुको सट्टा उल्टै शुल्क बृद्धी गरेर मजदुरको ढाड सक्ने काम भयो ।
अबको एनआरएनएको नेतृत्व खाडीबाट किन आवश्यक छ ?
यसअघिका कार्यकालमा खाडीमा पसिना बगाउने यो परदेशीले निम्न कुराहरुको महशुश गर्न पाएनः
- भुकम्प पीडितको निम्ति आवास बनाउने प्रतिबद्दता एनआरएनकै लागि निल्नु न ओकल्नु बनेको छ, निर्धारित समय भित्र लाप्राकमा निरिक्षण, योजना र छलफलको बिषय बनाइए तापनि एउटा घर ठडिन सकेन । लागत बढाएर ठेकेदार लाभान्वित हुने खेल हुन पुग्यो ।
- एनआरएनएको भवन निर्माण कार्य पनि शेष घलेको कार्यकालमा पूरा हुन सकेन । जग्गा नै बिवादमा, मुद्धा मामिला, एकातिर कबोलेको सहयोग राशी उठाउन नसकेको, अर्कोतिर ठेक्का राशी नै बढाएर धान्नै नसक्ने अवस्था, जग्गा दलाल र निर्माण ठेकेदार मालामाल, यता खाडीका श्रमिक एनआरएनए माथि त्यही भवनकै लागि अनिवार्य लेबी भन्दै चर्को शुल्क लादियो । ३ डलरबाट एकैचोटी १० डलर शुल्क लादेर संस्था बिस्तारमा कठिन संघर्ष गर्दै बामे सर्दै रहेको साउदी जस्ता मुलुकमा ठूलो बाधा पुर्याइयो ।
- बैदेशिक रोजगार ऐन २०६४ त्यति प्रभावकारी बनाउनमा खास गरी खाडी मुलुकको हितमा कुनै पहल गरिएन ।
- खाडी मुलुकमा कामदार पठाउनु अघि सम्बन्धित देशको दुताबासको प्रमाणीकरण र अनुमति लिएर सम्बन्धित देशको परराष्टसंग समन्वय गरी ज्याला निर्धारणको नीति अवलम्वन गरिएन ।
- श्रम बजारमा बिशेषगरी खाडी मुलुकमा बेचिने नेपाली महिला तथा पुरुष प्रति कडा कानुन, सुरक्षा नीति सम्बन्धी कुनै काम गरेको देखिएन ।
- खाडी मुलुकमा काम गर्ने घरेलु महिला कामदारको सुरक्षा नीति र रोकथामको निम्ती कुनै पहल गरिएन ।
- बिदेशमा काम गर्दा ज्यान गुमाएका, जान अन्जानमा फौजदारी मुद्दामा जेल जीवन बिताएका तथा मृत्यु दण्ड पाएकाहरुको उद्धारको निम्ती कुनै पहल भएन ।
- नेपालबाट छिमेकी मुलुक हुँदै खाडी तथा बम्बैमा बेचिने नेपाली चेलीको उत्थान सम्बन्धि कुनै ठोस निर्णयको माग गरिएन ।
- सरकारले फ्री भिसा फ्री टिकट नियम लागु गरेपनि झुट्टा सम्झौता पत्र बनाएर लाखौं ठगेर १० हजारको रसिद थमाइ दिने म्यानपावर र दलालहरुको बिरुद्ध कडा कानुन मागको बिषयलाई गम्भिरताका साथ कुनै पहल गरिएन ।
नेतृत्वमा नरहेर पनि साउदी अरब अगायत खाडीबाट यती धेरै महान कार्यको निम्ती पहल कदमहरु र आवाजहरु उठाइएका थिए भने हालको एनआरएनए नेतृत्वले कुनै काममा खाडीलाई सहयोग गरे रे भन्ने यो परदेशीले कहिल्यै सुखद समाचार सुन्न पाएन । अतः यसअघिका कार्यकाल खाडी मुलुकका श्रमिकको हितको निम्ती सफल भएन । त्यसैले अबको नेतृत्व खाडी मुलुकबाट हुनु आवश्यक मात्र हैन अति आवश्यक छ । यदी मध्यपूर्वका न्यून आय भएका श्रमिक दाजुभाइहरुले माथि उल्लेखित बिषयहरुको सम्बोधन, श्रमिक हक अधिकार, कामदारको सुरक्षा, तलव सुबिधा, कानुनी उपचार, जेल जीवन मुक्त, सामाजिक न्यायको निम्ती अबको कार्यकालको निम्ती खाडीको नेतृत्व चयन गरौं । यसले परदेशमा रहेका बहुसंख्यक हामी नेपालीको हित गर्नेछ ।
(न्यौपाने हाल साउदी अरबमा कार्यरत छन्)