मेघराज सापकोटा-
नेपाली समाज युएईको १३ औ अधिबेशन आगामी जुलाई ७ शुक्रबारको दिन दुबईमा हुने भएको छ । उक्त अधिबेशनले सन २०१७ २०१९ को आगामी कार्यकालको लागि नेपाली समाज युएईको नयाँ नेतृत्वको छनौट गर्नेछ । सन १९९० मा स्थापना भएको नेपालीहरुको सबैभन्दा पुरानो संस्था भएकोले पनि नेपाली समाजको अधिबेशनलाई सबैले चासोको रुपमा हेरेका छन ।
नेपाली समाजले विश्व सहयोग महासंघ युएईका संयोजक गोबिन्द ढकालको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ । समितिले अधिबेशन र निर्वाचनको लागि यसअघि नै कार्यतालिका प्रकाशित गरिसकेको छ । निर्वाचन समितिले नेपाली समाजको निर्वाचनको बारेमा बढी होहल्ला नहोस् भनेर सामाजिक सञ्जालमा कुनै पनि टिका टिप्पणी नगर्न अनुरोध गरेको छ । निर्वाचन समितिको आशय नेपाली समाजको अधिबेशन र निर्वाचन शान्त र होहल्लारहित सम्पन्न होस् भन्ने छ । समिति आफैंले फेसबूकलाई सुचनाको माध्यम बनाए पनि समाचार सम्प्रेषण र टिका टिप्पणी गर्न चाँही नगर्न अनुरोध गरेको छ । निर्वाचन समितिका संंयोजक ढकाल अनुभव अभावका कारण बेलाबेला सानो सानो कुरामा बिबादमा तानिने गरेका छन । अर्कोतिर युएईको सरकारले बिभिन्न माध्यम मार्फत समाचार प्रकाशित गर्दै युएईमा सरकारको अनुमति बिना कुनै पनि संघसंस्था खोल्न वा सञ्चालन गर्न नपाउने भन्ने जानकारी गराएको छ । युएई सरकारको पटक पटकको चेतावनीका बाबजुद पनि सामाजिक र साँगठानिक गतिबिधीहरु भईरहनुले यसका अभियानकर्ताहरुलाई जोखिममा पारेको छ । यस्तो अवस्थामा नेपाली समाजको अधिबेशन कसरी होला भन्ने चासो हुनु स्वभाबिक हो ।
निर्वाचन समितिका संयोजक ढकालले केही दिन पहिले नेपाली समाजका आकांक्षी ३ जना उम्मेद्वारलाई बढी बोलेको, बोल्न नहुने बोलेको र निर्वाचन समितिको अचार संहिता उल्लङ्घन गरेको भन्दै कारबाही गरेको बताएका थिए । उनीहरुलाई के कस्तो कारबाही गरियो भन्ने बारेमा उनले अहिलेसम्म केही बताएका छैनन । ती ब्यक्तीहरुमा अध्यक्षका दाबेदार भीम अधिकारी, मणी भुर्तेल र राजु खड्का रहेका थिए । भीम अधिकारीले उम्मेद्बारी दर्ता गराएर कारबाहीलाई खारेज गरिदिए भने अन्य निर्वाचनको खेल मैदानमा उत्रिएनन ।
को–को र कस्ता छन उम्मेद्वारहरु ?
निर्वाचन समितिले तय गरेको उम्मेद्बारी दिने अन्तिम दिन गत जुलाई २ तारिकका दिनसम्ममा अध्यक्षका लागि वर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा र धादिङ समाज युएईका अध्यक्ष भीम अधिकारीले मनोनयन दर्ता गरेका छन । त्यसैगरी महासचिवमा तोयानाथ लम्साल र उपाध्यक्षमा कमला भण्डारी, प्रबिणकाजी श्रेष्ठ र मोहम्मद नोमान सिद्दिकीले आफ्नो मनोनयन दर्ता गरेका छन । सचिवमा कृष्ण पौडेल र कोषाध्यक्षमा गोबिन्द प्रसाद भट्टराईले उम्मेद्वारी दर्ता गराए । सदस्यमा उम्मेद्बारी दर्ता गर्नेहरुमा गणेश न्यौपाने, हरी प्रसाद चापागाइँ र बिक्रम पौडेल रहेका छन । एकातिर उम्मेद्बारी दर्तामा भएको कम सहभागीताले नेपाली समाजको आवश्यकतामा प्रश्न चिन्ह उब्जेको छ भने अर्को तिर सक्षम र आशालाग्दा ब्यक्तिहरु नेतृत्व टीममा आउन नखोज्नुले पनि यसको महत्व कम भएको हो कि भन्ने लाग्न थालेको छ । संस्था बनाउने तर केही काम नगर्ने भो भने किन ? भन्नेहरु धेरै देखिन थालेका छन ।
भीम अधिकारी (अध्यक्षका उम्मेद्वार)
भीम अधिकारी धादिङ समाज युएईका वर्तमान अध्यक्ष र नेपाली समाज युएईका पूर्व उपाध्यक्ष हुन । उनी अघिल्लो कार्यकालमा नेपाली समाजमा अध्यक्षका प्रत्यासी समेत रहेका थिए । वर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा अध्यक्षमा आउने निश्चित भए पश्चात अधिकारी पछी हटेका थिए । उनी सिधा स्वभाबका, देखेको बोल्ने र समाजका लागि केही गरौ भन्ने भावना भएका ब्यक्ती हुन । केही महिना अगाडी सामाजिक संजालमा प्रधानमन्त्रीलाई गाली गरेको भन्दै उनी बिबादित बने पनि पछी एक बिज्ञप्ती जारी गर्दै क्षमायाचना गरेका थिए । मृदुभाषी र सरल बोलीका धनी अधिकारीलाई धेरै जनाको सहयोग र समर्थन रहेको उनले दाबी गरेका छन । राजनीतिक रुपमा उनी नेपाली काङ्रेस नजिक छन । उनलाई नेपाली काङ्रेस निकट जनसंपर्क समितिको समर्थन रहेको बुझिएको छ ।
तथापी पछिल्लो अवस्थामा अधिकारीलाई अध्यक्ष बन्न कठिन देखिन्छ । बर्तमान कार्यसमिति, निर्वाचन समिति, जनसम्पर्क समिति बाहेकका राजनीतिक संस्थाहरु र जनजाती महासंघले अधिकारीलाई समर्थन र सहयोग नगर्ने जानकारहरु बताउँछन । साथै धेरै जिल्ला संस्थाहरु पनि अधिकारीको पक्षमा नदेखिएकोले अधिकारीको बारेमा अहिले नै केही भन्न नसकिने अवस्था रहेको छ ।
कतिपयले उनको क्षमतामा पनि प्रश्न उठाउने गरेका छन । यद्दपी अधिकारी आफु भने अध्यक्ष पदका लागि सक्षम रहेको दाबी गर्दछन । धादिङ समाजको अध्यक्ष भएर धेरै कामहरु गरेको उल्लेख गर्दै उनले नेपाली समाजलाई पनि शसक्त र नेपालीहरुको प्यारो संस्था बनाउने प्रतिबद्दता ब्यक्त गरेका छन ।
चन्द्र प्रसाद (सिपी) सापकोटाको निरन्तरता ?

चन्द्र प्रसाद सापकोटा युएईका नेपाली ब्यवसायी हुन । उनले २० बर्ष भन्दा बढी समय युएईमा बिताएका छन । केही गरौ भन्ने मन भएका सापकोटा बेला बेला आफ्नै अभिब्यक्तीले पनि बिबादमा तानिने गरेका छन । आफुलाई कुनै राजनीतिक दलको कार्यकर्ता नभएर स्वतन्त्र रहेको बताउने उनी गत बर्ष नयाँ शक्तीमा प्रबेश गरेकोले आलोचित बनेका थिए । नेपाली समाजलाई नजिकबाट बुझ्नेहरुले सिपी सापकोटाले फेरी पनि निरन्तरता दिने बताउँछन । उनले यस अगाडी अध्यक्षमा नदोहोर्याउने जानकारी गराएको भए पनि अन्तिम दिनमा आफ्नो उम्मेद्बारीको मनोनयन गरएका छन । उनको निरन्तरताले भने धादिङेहरुमा फाटो ल्याउन सक्नेछ । उनी धादिङ समाज युएईका संंरक्षक समेत हुन । धादिङ समाजका एक सदस्यका अनुसार सापकोटाले यसअघि सापकोटाले नेपाली समाजको अध्यक्षमा नदोहोर्याउने जानकारी समाजलाई गराएका थिए ।
‘अध्यक्ष भएर कसैले गर्ने केही हैन क्यारे, बरु सिपी नै होउन’ भन्ने धारणा बलियो बन्दै गईरहेको एक आजिवन सदस्यले बताए । सापकोटाले अध्यक्ष हुनासाथ नेपाली समाजलाई युएईमा दर्ता गर्ने, कल्याण कोषको निर्माण गर्ने लगायतका घोषणा गरे पनि हालसम्म उक्त कार्यहरु भएका छैनन । सापकोटाले फेरी ३ महिना भित्र नेपाली समाजलाई युएईमा दर्ता गर्ने भन्न थालेको उनी निकटका ब्यक्तिहरु बताउँछन ।
राजनीतिक रुपमा सापकोटा नयाँशक्तीका भएकोले अन्य राजनीतिक दलहरु बिशेष गरी नेपाली काङ्रेसको भूमिका के हुने हो त्यसले पनि निर्णयक भूमिका खेल्नेछ । नेपाली काङ्रेसले आफ्नो भूमिका खोजेको खण्डमा सापकोटा ‘आउट’ र अधिकारी ‘ईन’ हुने सम्भावना पनि छ । एमाले र माओवादी केन्द्र लगायतका दलहरुको भूमिका अहिलेसम्म खासै देखिएको छैन ।
यो पनि पढ्नुहोस्
आमा भन्छिन्ः विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो
