सक्नुहुन्छ हुण्डी नगर्ने प्रतिवद्धता गर्न ?

 

मेघराज सापकोटा,युएई- “मैले सन २००२ देखी अहिले सम्म बैधानिक तवरले नेपाल पैसा पठाएको छु” जनमोर्चा निकट एकता समाज युएईका कृष्ण केसीले १५ बर्षको बैंक स्टेटमेन्ट देखाउदै कड्केर भने, “कुन समाजसेवीले हुण्डी गरे नामै तोकेर भन्नुपर्यौ । होइन भने हेर्नुस् समाज सेवा म पनि गर्छु । तर मैले बैधानिक माध्यमबाट रेमीट्यान्स पठाईरहेको छु । हेर्ने हो आक्षेप लगाउन त्यती सजिलो छ ?”

 

नेपाली दुताबास अबुधाबी द्वारा २० जनवरी शुक्रबारका दिन रस अल खैमहमा आयोजना गरेको “उत्पादनमुलक क्षेत्रमा रेमिटेन्सको प्रयोग” नामक कार्यक्रममा युएईका धेरै नेपाली समाजसेवीहरु थिए । हुण्डी बिरुद्दको जनचेतना जगाउने र रेमिटेन्सको सही सदुपयोग कसरी हुन्छ भन्ने बारे छलफल गर्न आयोजित उक्त कार्यक्रममा उपस्थित बक्ताहरु हुण्डीको बारेमा जानकार राख्ने ब्यक्तित्वहरु नै थिए । श्रोताहरु पनि हुण्डीका बारेमा जानकार थिए ।

 

एकता समाजका बक्ता कृष्ण केसीले बोल्न अघी नेपाली काङ्रेस निकट नेपाली जनसंपर्क समितीका चित्र केसीले बोलेका थिए । “हुण्डी गर्ने पनि हामीसमाज सेवी पनि हामी । हामी आँफैमा सुधार गरौ । कार्यन्वयन गर्ने नीकायले गरोस ।” उनको भनाइमा केही सत्यता भने अवस्य छ । तर सबै समाजसेवी हुण्डी गर्छन् भनेर भन्नु ठीक हैन भन्दै कृष्ण केसीले आफ्नो बैंक स्टेट्मेन्ट देखाउँदै चित्र केसीको उक्त भनाइको खण्डन गरे ।

 

आज भन्दा केही बर्ष अघीको कुरा हो । युएईको अर्कै ईमिरेट्समा बसोबास गर्ने आफुलाई बरिस्ठ समाजसेवी हुँं भन्ने एक महासय हुण्डीको पैसा उठाउन रस अल खैमह सम्म धाउने गरेको जानकारहरु बताउँछन । केही बर्ष अघी सम्म अन्तराष्ट्रिय स्तरको एउटा संस्थाका प्रमुख हुण्डी गरेको पैसा आफ्नो कम्पनीको बैंक अकाउन्टमा जम्मा गर्न लगाउँथे । अहिले पनि केही समाजसेवी महिना मरे पछी युएईका केही क्याम्प धाउँछन ।

 

मेरा एक मित्र छन अजमानमा । उनी सँग मेरो सबै बिषयमा कुरा हुन्छ तर हुण्डीको बिषयमा कहिल्यै कुरा हुन्न । उनलाई नजिक बाट चिन्नेहरु भन्छन उनी एक्लै मात्र महिनाको २ करोड रुपैयाँ भन्दा बढीको हुण्डी गर्छन् रे । उनको सेवा यती भर्पर्दो र विश्वसनीय छ कि तपाईंलाई सार्हो गार्हो पर्‍यो भने तपाईंको तलब आउनु भन्दा २ हप्ता अघी नै तपाईंको घरमा उनी पैसा पठाइदिन्छन ।

 

दुबईमा एक जना मेरा नजिकका एक मित्र छन् । समाजसेवी हुण्डी गर्छन् भन्ने कुरामा उनी सहमत मात्रै हैन ठोकुवा गरेर भन्छन । एकदिन उनले एउटा सानो किस्ता नै सुनाए- ती मित्र हुण्डीवाला समाजसेवी सँगै बाटोमा कतै जाँदै थिए । समाजसेवीले एक छिन काम छ है भनेर एउटा क्याम्प भित्र गाडी घुसाए र गाडीमै १० मिनेट कुराए । एकछिनमा क्याम्प भित्र बाट पैसाको मुठो लिएर उनी बाहिरिए । ती हुण्डीवाला समाजसेवी कुनै संस्थाका अध्यक्ष पनि हुन रे ।

 

उक्त कार्यक्रममा बोल्दै सिद्दार्थ बैंकका प्रतिनिधि रुन्चे गायक प्रकाश पौडेलले एउटा बडो गज्जबको कुरा उठाए । ” नैतिकता” । यो नैतिकता भन्ने कुरो जो कोही सँग हुन्न । उनले बोल्दै भने- ” यहाँ मान्छेहरु भन्ने गर्छन् अधिकारिक च्यानलबाट पैसा पठाउँदा भन्दा हुण्डी गरेर पठाउँदा १-२ रुपैयाँ बढी पाईन्छत्यही भएर हामी हुण्डीबाट पैसा पठाउँछौ । म के भन्छु भने ३ हजार कमाउनलाई महिना भर ८ घण्टा काम गर्नु पर्छ चोरी गर्यो भने एकैछिनमा पनि कमाउन सकिन्छ ।”

 

अब यो नैतिकता कसले कसलाई पढाउने भन्ने कुरा बहुत गार्हो रहेछ । सामाजिक सँजालमा हेर्यो भने मानौ दुनियाँको सबैभन्दा असलनैतिकबान र राष्ट्रबादी अरु कोही हैन जस्तो लाग्छ । उसको अर्को समाजसेवा नै क्याम्प क्याम्प गएर पैसा उठाउँदै हुण्डी गर्नु हो । ती हुण्डीका अपराधीहरुले कुनै न कुनै पार्टीका झण्डा बोकेका छन । राजनैतीक शिक्षा उनलाई भन्दा अरु कसैलाई आउँदैन । देशको कम माया लाग्दैन । अहिले नै देश सकिन लाग्यो भनेर फेसबूक तिर क्वा क्वा रोइरहेकाहरु सबैभन्दा बडी हुण्डी गर्ने गरेका छन । अब यिनलाई नैतिकता कसले पढाउने ?

 

एनआरएनएयुएईका अध्यक्ष सुदीप कार्कीले सुरक्षाको ग्यारेन्टी भए हुण्डीवालाहरुको नाम संकलन् गरेर बुझाउने बताए । नेपाल सरकार साच्चै नै हुण्डी रोक्न पतिबद्द छ भने सहयोग गर्न तत्पर रहेको तर श्रोतहरुलाई गोप्य राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाए । कार्यक्रममा बोल्दै माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मंचका हेमन्त पौड्यालले रेमिटेन्सको सदुपयोग बर्तमान सरकारले सारेको नारा नेपालको पानी जनताको लगानीमा गर्न आह्बान गरे ।

 

कार्यक्रममा नेपाल एयरलाइन्सका रमेश पौडेलनेपाली बिजनेस काउन्सिलका अध्यक्ष डा. असिफ अलि सीद्दिकीप्रवासी नेपाली मंचका  दुर्गाप्रसाद ज्ञवालीप्रवासी नेपाली एकता समाजका शशी सिलवालनेपाली समाज युएईका चन्द्रप्रसाद सापकोटाव्यवसायी विकास अधिकारीसमाजसेवी कृष्णबहादुर ढकालयुएई एक्सचेन्जका प्रतिनिधि लगायतले बोलेका थिए ।   

सबैभन्दा घतलाग्दो कुरा त नेपाली सोसल क्लबका शालिक सुबेदीले गरे । उनले भने-” हुण्डी गर्ने हामी मध्ये केही उठेर गए केही अझै यही छन ।” उनको भनाइलाई धेरैले ताली बजाए र समर्थन गरे । उनको समर्थनमा बजेका ताली देख्दा लाग्थ्यो दुताबासले हुण्डीवालाहरुलाई नै बोलाएर कार्यक्रम गर्‍यो । त्यसो भए पनि राम्रै भोकम्तीमा जसले जसले गर्ने गरेका छन उनिहरुलाई त थाहा भो उसले देश बिरुद्द अपराध गर्दै छ । बेलुका ओछ्यानमा गएर यसो आँखा चिम्म गर्ने बेलामा कसो याद नहोला- म एक हुण्डीवाला देशद्रोही अपराधी हुँ” भनेर ।

 

कार्यक्रममा द्वितिय सचिव बिष्णु अधिकारी रेमिटेन्स सम्बन्धी एक कार्यपत्र पस्तुत गरेकी थिईन ।  रेमिटेन्स र यसको सही प्रयोगफाईदा बेफाईदाहुण्डी के होकिन र कसरी हुण्डी रोक्ने आदी बारेमा तयार उक्त कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र एकदमै सरल ढंगले सबैले बुझ्ने गरी तयार गरिएको थियो । माथि प्रकाश पौडेलले भने जस्तो उपस्थित सबैमा नैतीकता हुने हो भने त्यो कार्यपत्र हेरेपछी सबैले बैधानिक तरिकाले मात्र पैसा रेमेट गर्नेछन ।

 

अबुधाबीबाट ३०० किमी टाढा रहेको यातायतको हिसाबले बिकट मानिएको क्षेत्र रसअल खैमहमा गरिएको उक्त कार्यक्रममा रसअल खेइमह क्षेत्रका नेपालीहरुको उपस्थिती शुन्य थियो । अर्को दु:खद कुरा के पनि हो भने कार्यक्रममा बोल्दै पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालले एउटा प्रस्ताब राखे । “आजै बाट यही मंच र कार्यक्रमबाट हामी प्रतिज्ञा गरौ कि अब देखी हुण्डी गर्ने छैनौ र हाम्रो संस्थामा रहेका कोही कसैले गर्ने गरेको भए कारबाही गर्नेछौ ।” तर उनले यसो भन्दैगर्दा फ्लोर त सुनसान थियो । कसैले प्रतिज्ञा गर्न सकेनन ।

केही बैंकर्सहरुले जायज मन दुखाए । बैंकर्सहरुलाई लक्षित उक्त कार्यक्रममा उनिहरु भने उपस्थित सबैका कुरा सुने तर आफ्नो कुरा नसुनाई रित्तै फर्किए ।

 

अर्को उठ्नै पर्ने कुरा भने उठेन । केही समय पहिले युएईबाट लगिएको ३४ केजी सुन पक्राउ पर्‍यो । त्यो सुन किन्ने पैसा यही हुण्डीबाट नै संकलन् गरिएको हो भन्नेमा दुई मत नहोला । सरकार ती सुनवालाहरुको खोजी गरिरहेको छ । युएईमा बसेर हुण्डी गर्नेहरुको नाम दिन किन सकिदैन ?  

 

कार्यक्रमको अन्त्य तिर फ्लोर बाटै पत्रकार निमेश गिरीले फेरी पनि आवाज उठाए- “सबैले हुण्डी गर्दिन भनेर प्रतिज्ञा गरौ ।” कसैले गरेनन । न त दुताबासले नै प्रतिज्ञा गर्न जोड दियो । समस्या कहाँ रहेछ त मैले त प्रतिज्ञा गरेँ तपाईं पनि गर्ने कि ? 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: