पत्रकार महासंघ युएईको आसन्न अधिवेशन र अबको बाटो 

मोहन बस्याल, युएई  

प्रवासमा स्थापना भएर सबैभन्दा पहिले नेपाल पत्रकार महासंघबाट मान्यता पाउने पहिलो शाखाको सदस्य हुन पाउँदा मलाई गौरव छ । स्थानीय कानूनले हामीलाई पत्रकारिता गर्ने छुट नदिएपनि नेपाली भाषामा नेपाली समुदायका गतिविधिलाई प्रवाहित गर्नु यहाँको कर्म हो । यसका लागि सञ्चारकर्ममा रमाउनेहरुलाई प्रोत्साहन, सहयोग र समन्वयको भूमिका महासंघले खेल्दै आएको छ । समय समयमा नेपाली समुदाय भित्र देखिएका समस्या समाधानका लागि पहल गर्ने भूमिकामा समेत महासंघ अगाडी देखिएको छ ।

युएईमा नेपाली पत्रकारको संगठन र औचित्य

प्रवासीएका नेपाली बीच सहयोग आदानप्रदानका लागि संगठन निर्माण हुनु स्वभाविक हो । तर स्थानीय कानून प्रतिकुल हुँदाहुँदै पनि पत्रकारितालाई प्रवद्र्धन गर्ने भन्दै पत्रकारको संगठन निर्माण हुनु स्वभाविक होईन । युएईमा नेपाली पत्रकारको संगठनको स्थापना हुनु जोखिमयुक्त कुरा हो । तर यो आवश्यकताले नै जन्मिएको प्रभावकारी संगठन हो । यो आम संगठन जस्तो होईन । पत्रकारिता ईन्टरनेट प्रविधिमा आधारित रहेको र यस्तो गतिविधिलाई साईबर सम्बन्धी कानून अन्र्तगत पनि हेरिने भएकाले यो चुनौतियुक्त छ । साईबर सम्बन्धी कानून सबैजसो मुलुकमा कडा कानुनको रुपमा लिईन्छ । गम्भिर कानून प्रतिकुल हुँदाहुँदै पनि पत्रकार महासंघ स्थापना भई क्रियाशिल भएर यहाँ रहेका नेपाली समुदाय र नेपाली पत्रकारितामा यसको उपलब्धी के भन्ने बिषयमा छलफल हुनुपर्छ ।

नेपाली व्यवसायको प्रवद्र्धनः 

मुलत मजदुरीका लागि आएका नेपालीले पछिल्ला दिनमा युएईमा आफ्नै ब्यवसाय शुरु गरेका छन् । कतिपयले स्वरोजगारमुलक ब्यवसाय शुरु गरेका छन् भने कतिपयले सेवा र रोजगारी पनि दिएका छन् । नेपाली नागरिकले युएईमा ब्यवसाय शुरु गरेको लामो समय बितेको छैन । उनीहरुको दिगो विकासका लागि अन्य नेपालीको सहयोग र सद्भाव आवश्यक पर्छ । यसका लागि यहाँ कार्यरत सञ्चारकर्मिले प्रचारप्रसार गर्न सहयोग पुर्याउनु पर्छ जुन भूमिका केही हदसम्म पुरा भएकै छ । थप के के गर्न सकिन्छ ? यहाँ रहेका नेपाली व्यवसायीद्धारा स्थापित नेपाली बिजनेश काउन्सिलसंग पनि बसेर छलफल परामर्श गरेर अगाडी बढ्न सके यो भूमिका अझ प्रभावकारी हुन सक्छ ।

नेपाली उत्पादनको प्रवद्र्धनः 

दुई लाखको हाराहारीमा रहेका नेपाली नागरिकले नेपालमा उत्पादन हुने सामानको प्रयोग बढाउन प्रयत्न गर्न सके नेपालको बैदेशिक ब्यापार घाटा कम गर्न सकिन्छ । शुरुवातमा नेपाली नागरिकले नेपाली उत्पादन प्रयोग गर्ने अभियान चलाउने बिस्तारै नेपाली नागरिकले काम गर्ने संस्थामा रहेका अन्य देशका नागरिकलाई पनि प्रयोग गर्न प्रोत्साहन गर्ने अभियानहरु चलाउन सकिन्छ । यसका लागि युएईमा रहेका नेपाली सञ्चारकर्मि र सञ्चारमाध्यमको भूमिका महत्वपुर्ण हुन्छ ।

नेपाली पर्यटनको प्रवद्र्धनः नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक हो । नेपालको आर्थिक सम्बृद्धिको मुख्य आधार पर्यटन हो । नेपाली जहाँ जहाँ छरिएर रहेका छन् त्यहाँ त्यहाँबाट स्थानीय नागरिक नेपाल भित्राउन सके नेपालको पर्यटनले छोटो समयमा गति लिन सक्छ । यो अभियान सञ्चालन गर्न अब ढिलाई गर्न हुन्न । यो अभियानमा नेपाली लगानीका ट्राभल्स कम्पनी र पत्रकारिता क्षेत्र बीच सहकार्य हुन जरुरी छ ।

सीप सिकाईको प्रसारः

नेपाली नागरिक दुबई लगायतका मुलुकमा अदक्ष र अर्ध दक्ष कामदारका रुपमा ठुलो संख्यामा कार्यरत छन् । अब यसमा सुधार ल्याउन नेपाली सञ्चार माध्यमले भूमिका खेल्नु पर्छ । बिदेशमा काम गर्नका लागि सीप सिकेर आउनु पर्छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्ने मात्र होईन यहाँ कार्यरत रहेकै कामदारलाई पनि नयाँ नयाँ सीप सिक्ने अवसर तर्फ आकर्र्षीत गराउन सक्नुपर्छ ।

प्रमुख चुनौती र सवालः 

चौथो अंगको भ्रम:

पत्रकारितालाई राज्यको चौथो अंगको रुपमा चिन्ने गरिन्छ । धेरै मानिसले पत्रकारिता चौथो अंग हो भन्ने सुनेका त छन तर अरु तीन ओटा अंग कुन कुन हुन, तिनको भूमिका के छ । चौथो अंगको भुमिका के हो ? के हुनु पर्छ भन्ने बारेमा थाहा पाएका छ्रैनन । चौथो अंग भएकाले राज्य स्रोतबाट यिनिहरुलाई मनग्ये पैसा आउँछ भन्ने भ्रम पनि धेरैलाई रहेछ । मिडिया साक्षरताका कार्यक्रम ल्याएर यस्ता भ्रम चिर्नु पर्ने हुन्छ । चौथो अंग राज्यको स्रोत साधनबाट चल्ने क्षेत्र नभएर निरन्तर राज्यका तीनवटा अंगलाई खबरदारी गर्ने र आफ्नो बाटोमा अगाडी बढ्न सघाउने सचेत नागरिक समुह हो । यत्ति मात्र बुझाउन सकियो भने पनि धेरै प्रगति हुन्छ ।

बैधानिकताको सवाल:

युएईमा अहिले ३० को हाराहारीमा रहेका नेपाली युवाले सञ्चारकर्ममा सहभागिता जनाउदै आएका छन् । केही युवा स्थानीय सञ्रचारमाध्यममा कार्यरत पनि छन् तर उनीहरु नेपाल पत्रकार महासंघसंगको सहकार्यका लागि अनिच्छुक देखिएका छन् । जो महासंघसंग आवद्ध र सम्पर्कमा छन् उनीहरुको भिसा संचारकर्मीको हैसियतको छैन । कोही व्यवसायी छन् कोही कामदार छन् । यहाँको स्थानीय कानुनमा जुन कामका लागि जुन कम्पनीका लागि भिसा लिएको हो उही कम्पनीमा उही काम गर्नु पर्ने प्रावधान छ । त्यसैले यहाँ कामदार वा व्यवसायीको भिसा लिएर पत्रकारिता गर्ने हामी सबै स्थानीय कानूनका आधारमा अवैधानिक हौ । अब नेपाली लगानीमा सञ्चारगृहको स्थापना वा स्थानीय सञ्चारमाध्यममा नेपाली पत्रकारको सहभागिता जे गर्न सक्छौं त्यो बाटो लिनु पर्ने आवश्यक्ता छ । हुन त एभरेष्ट मिडिया दर्ता भएको छ त्यसले गतिविधि शुरु पनि गर्दै छ । आशा गरौं यसले नेपाली सञ्चारकर्मीलाई बैधानिक बनाउने भुमिकामा सघाउ पुर्याउनेछ ।

सरकारी सुविधामा पहुँच:

नेपाल सरकारले पत्रकारिता क्षेत्र प्रति आफ्नो जिम्मेवारी बढाउदै गएको छ । सेवामुलक उद्योगको रुपमा सञ्चार उद्योगलाई मान्यता दिने  प्रकृयासंगै पत्रकारले नियमितजसो भोग्ने समस्या न्युनिकरणका लागि केही पहल शुरु भएको छ । तर यस्ता पहलबाट प्रवासमा रहने धेरै पत्रकार बञ्चित छन् । नेपाल सरकारले नेपाल पत्रकार महासंघसंगको सहकार्यमा नेपालमा रहेका पत्रकारको वीमाको कार्यक्रम ल्याएको छ । सो सुविधाबाट युएईमा कार्यरत पत्रकार बञ्चित छन् । विमाका लागि सुचना विभागको रातो कार्ड हुनु पर्ने प्रावधान छ । प्रवासमा रहेका पत्रकार यो सुविधाबाट बञ्चित भएकाले विमाको सुविधाबाट पनि बञ्चित छन् । नेपाल सरकारले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा पनि पत्रकारका लागि ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । यो सुविधाबाट पनि नेपाली पत्रकार बञ्चित छन् । यसका लागि नेपाल पत्रकार महासंघ तथा सुचना विभागसंग समन्वय सहकार्य गर्ने प्रवासका पत्रकारलाई पनि यो सुविधा उपलब्ध गराउन पहल गर्न जरुरी छ ।

(एक दशक भन्दा लामो समय नेपालमा रेडियो र छापा पत्रकारितामा बिताएर बैदेशिक रोजगारीका लागि युएई पुगेका लेखक नेपाल पत्रकार महासंघ युएईको आसन्न अधिवेशन मार्फत बन्ने नयाँ कार्यसमितिका लागि सचिव पदका आकांक्षी हुन् । उनी नेपाल पत्रकार महासंघ  चितवन शाखामा एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल केन्द्रिय सभाषद् रहि सकेका छन् ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय