लाज छोपौं लाज  

रमेश खड्का- 

नेपाल सरकारले २१ असार २०७२ देखि लागु हुने गरि मलेसिया लगायत खाडीका ६ देशहरुमा फ्री भिसा, फ्री टिकटको निर्णय गरेपनि हालसम्म ब्यवहारमा भने यो लागु हुन सकेको छैन । पटक पटकको धर्ना र म्यानपावर ब्यवसायीहरुको आन्दोलनलाई विफल पार्दै तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङले ल्याएको यो निर्णयबाट बैदेशिक रोजगारमा जाने युवालाई फाइदा हुनुको साटो जिम्मेवार सरकारी निकायको कुम्भकर्ण प्रवृत्तिले ठग व्यवसायीलाई ठूलो फाएदा भएको छ । 

स्वदेशमा रोजगारीको अवशर ज्यादै न्यून रहेको र प्राप्त अवशरमा पनि पहुँचयुक्त व्यक्तिले कव्जा गर्ने भएका कारण अधिकाँश युवाका लागि खाडी र मलेसियाको रोजगारी खाए नखाए घिच् भनेजस्तै भइरहेको छ । यस्तो परिस्थितिमा नेपाल सरकारले श्रमिकको हित निमित्त ल्याएको प्रावधानबाट स्वयं श्रमिकहरु भनें वञ्चित भएका छन् । 

कसरी चेपुवामा पर्दैछन त श्रमिक ?

पछिल्लो समय म्यानपावर कम्पनिहरुले मलेसिया लगायत खाडीका ६ देशहरु (कुवेत, कतार, बहराइन, युएई, साउदीअरब, ओमान) बाट कामदारहरुको माग भइ आएमा नेपालका सबै सञ्चारमध्यमहरुमा आफ्नो बिज्ञापन बजाउँदा वा छपाउँदा फ्री भिसा, फ्री टिकट नै भनेर जानकारी गराउँछन् । एउटा बेरोजगार युवा त्यहि विज्ञापन पछ्याउँदै म्यानपावर कम्पनिहरुको ढोकासम्म पुग्छन । श्रम बेच्न निस्किएका उनीहरु यतिसम्म बाध्यतामा परेका छन् कि बिज्ञापनमा आएका सबै विवरणहरु बुझ्न म्यानपावर एजेन्सीसम्म नपुगी कुनै जानकारी नै पाउँदैनन ।  श्रमिकको पसिनाको कमाइबाट आफ्नो दुनो सोझ्याई रहेका म्यानपावर कम्पनिहरु भने टेलिफोनमा अरु सबै कुराको जानकारी दिन तयार हुन्छन तर लागत खर्चको बारेमा कहिल्यै बोल्दैनन । उनीहरुले लागत फ्री भएको र फोनमा सवै कुरा भन्न नमिल्ने भन्दै कार्यालयमै बोलाउँछन् । 

जसरी पनि विदेश जान तत्पर युवा न्यून शुल्कमा विदेश जान पाइने आश बोकेर म्यानपावर कम्पनीको कार्यालयमा पुग्छ । एक दिन दुई दिनको अन्तरालमा सबै प्रक्रिया पुरा गरि अन्तरवार्ताको तयारी गरिन्छ । रोजगारदाता कम्पनिहरुबाट अन्तरवार्ताको लागि प्रतिनिधिहरु आएका हुन्छन । सम्बन्धित देशको भाषा अनुसार सोधपुछ सबै चेकजाच गरिन्छ, फर्महरु भरिएका हुन्छन र अन्ततः सक्षम व्यक्तिहरुलाई छनौट गरिन्छ । यो त एउटा साधारण प्रक्रियाहरु मात्र हो । यहि प्रक्रिया भित्र नेपालमा रहेका नेपाल सरकारबाट मान्यता प्राप्त भनिएका म्यानपावर एजेन्सीहरुले आन्तरिक केहि फर्महरु नेपाली भाषामा नै तयार गरेका हुन्छन जसलाई रोजगारदाता कम्पनिका प्रतिनिधिहरुले बुझ्दैनन । ति फर्महरुमा ८ देखि १० वटा  प्रश्न हुन्छन जसलाई ठिक वा बेठिक (छ, छैन, हो होइन) भनेर संकेत लगाउनु पर्ने हुन्छ । त्यसमा म्यानपावर कम्पनीका कर्मचारीहरुले सबैमा छैन अथवा होइनमा संकेत लगाएमा मात्र पास हुने उर्दि लगाउँछन् । बाध्यतावस आँखा चिम्लेर सबै निःशुल्क एक पैसा दिएको छैन भनि सहिछाप गरी प्रक्रिया पुरा गर्नुपर्छ । 

भिसा आउँछ, जाने समय हुन्छ अनि लागतको कुरा हुन् थाल्छ । कति तिर्ने ८० हजार, एक लाख वा त्यो भन्दा बढी, दलाली चलिरहन्छ । दाम मोलामोल, खरिद बिक्रि जस्तो देखिने त्यो दृश्य उही पहिले कै पुरानो प्रावधान । खै त फ्री फिसा फ्री टिकट ? 

नेपाल सरकारको अकर्मण्यता र म्यानपावर कम्पनिहरुको चक्रब्यूहमा रुमल्लिदै युवा विदेशिन बाध्य हुन्छन् । त्यसरी सरासर आफ्नै देशमा ठगिएको एउटा यूवा जव उडानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तिम सोधपुछ गर्ने ठाउँमा राखिएको छ श्रम कक्ष । त्यहाँ ठूला ठूला अक्षरमा लेखिएको छ “नेपाल सरकारले तोकेभन्दा बढी लागत शुल्क दिनु भएको छ भने जानकारी दिनु होला ।” आफूले हजारौं रकम तिर्नु परेको बाध्यता त्यहाँ पनि कसैले पोख्न सक्दैन भलै त्यसरी जाने मध्ये सयमा ९० जनाले त्यसरी नै रकम तिर्नु परेको किन नहोस् । बहुसंख्यकले साहुसँग महंगो व्याज तिर्नेगरी ल्याएको एक लाखको हाराहारी रकम एजेण्ट वा म्यानपावर कम्पनीमा बुझाएर हातमा १० हजार तिरेको रसिद बोकेर उनीहरु गन्तव्यतर्फ उडिरहेका छन् सुखद भविष्यको सपना बोकेर । 

के सरकारले यहि चाहेको थियो ? के श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार विभागलाई यो लखनउ लुटका बारेका थाहा छैन ? थाहा छैन भनें यस्ता निकायको कुनै काम छैन, त्यहाँ मन्त्री, सचिव, सह–सचिवहरु राज्यकोषबाट तलव दिएर राखिरहनुको के अर्थ ? थाहा हुँदा हुँदै पनि कारवाही हुन्न भनें अझ त्यस्ता व्यक्ति जतिसक्दो छिटो त्यहाँबाट विदा गरिनु उचित हुन्छ । 

फ्रीभिसा, फ्रीटिकटको निर्णयले नेपाल सरकारको शिर उच्च भएको छ । आइएलओ वा यस्तै अन्य निकायले गर्ने कार्यक्रमहरुमा नेपाल सरकारका मन्त्री वा प्रतिनिधिहरु जाँदा उच्च शिरका साथ हामीले श्रमिकको लागत लगभग हटाएका छौं भन्न पाएका छन् । तर व्वहारमा ? यो त शिरमा निक्कै आकर्षक टोपी लगाएर कम्मर मुन्तिर नाङ्गै उभिए जस्तै भएन र ? लाज छोपौं सरकारी निकायका जिम्मेवार व्यक्तिहरु लाज छोपौं ।

फरक प्रसंगको भिडियो हेर्नुहोस्  

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय