
एउटा त्यो ठूलो हिस्सा जसले साँच्चै भन्दा देश धानेको छ । त्यो हिस्सा जसको पसिनाले देशको अर्थतन्त्रलाई सिंचित मात्रै गरिरहेको छैन, प्राणवायु बनेर मुलुक धानिरहेछ । तिनै आप्रवासी कामदार जो घरपरिवारबाट टाढा पुगेर आफ्नो परिवार मात्र धानिरहेका छैनन, देशको अर्थतन्त्र धानिरहेछन्, अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवशरमा हामी तिनिहरुलाई सम्मान गर्दछौं ।
आज अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस । यो दिवसको सन्दर्भ पारेर देशका विभिन्न शहरहरुमा विविध कार्यक्रमहरु आयोजना गरिंदैछन् । यसैगरी विश्वका अन्य मुलुकहरुमा पनि आप्रवासी कामदारको हक, अधिकारका विषयमा केन्द्रीत रहेर विविध कार्यक्रमहरु आयोजना गरिएका छन् ।
यो दिवसको सेरोफेरोमा सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिए । एकैदिन दुईतीन वा चारवटासम्म कार्यक्रमहरु भए । हो, सरकारी र थुप्रै गैरसरकारी संघसंस्थाहरु तथा प्रवासमा रहेका विभिन्न संघसंगठनहरुले यसरी नै यो दिवस मनाए, मनाउँदैछन् ।
पछिल्ला केहि बर्षयता बैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा भएको बृद्धिसँगै आप्रवासी कामदारको हक, अधिकारका विषयमा सचेतना बढेको छ । यस क्षेत्रमा देखिएको लखनउ लुट रोक्न केहि प्रयासहरु भइरहेका छन् । बैदेशिक रोजगारका बारेमा ठूलो मात्रामा जनचेतना बढेको छ । पछिल्ला केहि सरकारका कार्यक्रमहरुमा यस विषयले स्थान पाइरहेको छ । यो सकारात्मक कुरा हो ।
तर यतिले मात्र पुग्दैन । बोलि होइन असल व्यवहारको खाँचो छ । मुल कुरा स्वदेशमा रोजगारी सिर्जना हुन जरुरी छ । अनी बैदेशिक रोजगारीमा जान चाहनेलाई ठगिमा पर्नबाट जोगाउनु आवश्यक छ । बैदेशिक रोजगारमा पुगिसकेपछि नेपालीको बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलव्धीमूलक बनाउन जरुरी छ । यसका लागि दक्षता अभिबृद्धिका लागि, सीपमूलक तालिमको सुलभता हुन जरुरी छ ।
डिसेम्वर १८ को दिन थुप्रै कार्यक्रमहरु हुन्छन् । तर हाम्रो आग्रह आप्रवासी कामदारलाई आज मात्र नसम्झिईयोस् । उनीहरुलाई सधैं सम्झिनु आवश्यक छ । उनीहरुलाई चोट लाग्नबाट जोगाउन आवश्यक छ । र, दुर्भाग्यवस कसैलाई चोट लागि हालेमा मल्हम लगाउने सहयोगि हातको खाँचो छ । आप्रवासी कामदारको मुहारमा हाँसो ल्याउन जरुरी छ । यस क्षेत्रमा कृयाशिलहरुबाट हामी आजको दिन त्यहि अपेक्षा गर्दछौं ।
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस, २०७३ को अवशरमा हाम्रो शुभकामना ।