नरोए हुँदैन ?

सप्तरङगी टीका

भन्दै हरेक बर्ष

आउने भाइटिका

यसपाली नि

खाली हात आएछ ।

………………….

भो पर्दैन

माईल दुरीबाट

आउन सकिन है भनेर

क्षमा मागी मागी

मनाउने तिहार,

माईल दुरीबाट

ल्याउन सकिन है भनेर

तिमीलाई 

माफी मगाएरै

आउने तिहार

भो, तिमी पटक्कै पटक्कै नआउनु ।

………………………….

हरेक बर्ष

बिहानीमा

मेरो नीद हरामसँगै

वालहरुमा रङिबिरङी बनेर 

छरप्रस्ट बन्ने तिहार

दुरुस्त लाग्ने

तिम्रा प्रतिबिम्ब

कतै टोलाउदा भेट्छु,

कती ढाट्नु

मेरो मनलाई

यसपल्ट पनि 

धुजा धुजा बनाएर मेरो मनलाई, 

भो, तिमी पटक्कै पटक्कै नआउनु ।

……………………………

काग तिहारसँगै

बिझ्ने मेरो मुटु

भाइटिकामा थिचिएर

कहिल्यै नउठ्ला झै हुन्छ

लामो

आयु बोकेको तिलक

बिना नै आयु मिलिक्क 

होला कि झै लाग्छ । 

मखमली फूल

कहिल्यै नदेख्ने ठाउँमा

तेलको घेराले नछोप्दा

यमराज

मेरै मनमा आएर बसे जस्तो हुन्छ

यस्तो पिडा दिने 

तिहार

भो, तिमी पटक्कै नआउनु । 

…………………………..

भन्दिनु

यमुनालाई,

यमराज यसपाली

गैती र बेल्चाले जीबन खोज्दैछ । 

यमराजकै आगोका लप्काहरु

उम्लिरहेको तेलका खड्कुलाहरु

झै लाग्ने दुरदेशमा 

भन्दैछ,

खाली निधार बोकेर

आउने तिहार

भो, तिमी पटक्कै पटक्कै पटक्कै नआउनु ।

……………………..

काग पूजा

कुकुर पूजा

लक्ष्मी पूजा

गोबर्धन पूजा 

मात्र मनाए हुँदैन ? 

तै बिसेक हुन्छ कि मनमा,

आज,

भाइटिका नमनाए हुँदैन ?

दाल भात खानु नि बहिनी

आजै चाँही 

सेलरोटी नखाए हुँदैन ?

बर्षै भरी नाच, गाउ

आजै चाँही 

देउसिरे नभने हुँदैन ? 

कस्तो दिन रहेछ

आज,

तिमीले उता

मैले यता 

नरोए हुँदैन ?

– मेघराज सापकोटा

हाल रसअल खैैमह, युएई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: