
राज तामाङ, हाल साउदी अरव
परदेशमा मेरो ६ बर्ष जति बितिसक्यो । सन् २०११ मा रोजगारीको सिलसिलामा म मलेसिया पुगें । त्यहाँ म आउटसोर्स भिसामा गएको थिए । त्यहीँबाट जिफन्टको प्रवासी कमिटी मार्फत जिफन्टको सदस्यता लिएँ । त्यसपछि आफ्नो रोजगारमा भन्दा पनि बढी समय संगठन बिस्तारमा र पीडित नेपाली श्रमिकहरुलाई सहयोग तथा उद्धार गर्नमा लगाएँ । म संगठन बिस्तारकै क्रममा सक्रिय भएर लागि परें जसले गर्दा मलेसियाको सबै ठाउँमा पुगें । नेपाली श्रमिकहरुको कार्यथलोमा पुगेर विभिन्न समसामयिक विषयमा अन्तरकृया छलफल गरिन्थ्यो ।
जिफन्ट संगठनमै काम गरेका कारण मलेसियामा २ पटक जेल समेत परे । पहिलो पटक जेल पर्दा मलेसियाका लागि जिफन्ट प्रतिनिधि एवम् जिफन्ट मलेसियाका संस्थापक संयोजक बेदकुमार खतिवडा, पत्रकार रामचन्द्र नेपाल अनि मलाई स्थानीय राजनीतिक पार्टी (पास) का कार्यकर्ताहरुले चुनाव बिथोल्न खोजेको आरोप लगाउदै जेल चलान गरियो । ६ घन्टा पछि सोधपुछ गरि निर्दोष सावित भयो र म युनियनको मान्छे भनेर थाहा पाएपछि सेलेङ्गर राज्यको शाहा आलमका तत्कालीन उम्मेदवारले हात जोडेर गल्ती भएको भन्दै माफी समेत मागे ।
यसरी सक्रिय भएर लागि पर्दै विभिन्न अन्तराष्ट्रिय सभाहरुमा समेत संगठनको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि मिल्यो । सन् २०१४ मा म नेपाल फर्के र जिफन्टको माईग्रेन्ट डेस्कमा केही समय काम पनि गरियो । त्यहाँ काम मेरो काम वैदेशिक रोजगारमा गएका नेपालीहरुको समस्या र मुद्दालाई फलोअफ गर्ने, बैदेशिक रोजगार विभाग र बिमा कम्पनीहरुमा जाने आदि थियो । त्यही क्रममा मैले साउदी अरबमा नेपालीहरुले भोगी रहेको समस्याको बारेमा थाहा पाएँ अनि शव नेपाल झिकाउन पनि धेरै समय लाग्ने समस्याहरु बुझें । जिफन्टमा यस्ता निवेदनको चाङ थियो । त्यसपछि मैले साउदी अरवमा आउने र जिफन्ट सहयोग समूह निर्माण गर्ने सोच बनाए । सन् २०१५ मा साउदी अरब आएँ र यहाँ जिफन्ट सहयोग समुह विस्तार गर्दै नेपाली श्रमिकहरुलाई संगठित गर्ने काम गरिरहेको छु ।
प्रवास बसाईमा सबैभन्दा महत्वपूर्ण त मैले बिद्यमान असमान नेपाली समाजको बारेमा जानें । जहाँ राष्ट्र निर्माणमा आफ्नो अमुल्य जीवन दाउमा लगाएर काम गर्ने श्रमिक वर्गलाई सधैं राष्ट्रले उपेक्षा गरिएको र हरेक अवसरहरुबाट समेत बन्चित गराउने जस्तो निर्मम गतिविधिहरु देखें र बुझें । यसैगरी नेपाली राजनीतिका बारेमा पनि सचेत भएँ ।
स्कुल कलेजमा पनि पाउन नसकिने ज्ञान प्राप्त गरें जस्तो लाग्छ । मेरा आफन्त र घर परिवारले यो त बौलाएछ समेत भन्न भ्याए जिफन्टमा काम गर्दा । सामान्यतया नेपालको श्रम कानुन र वैदेशिक रोजगार श्रम ऐनहरुको बारेमा अवगत नै छु । संयोगले जिफन्ट स्कूलको समेत तालिममा सहभागी भएँ । यसबीचमा अग्रजहरुबाट धेरै कुराहरु सिकें । साथ सहयोग र वर्गीय माया पनि पाइरहेको छु । सिकेका कुरालाई अहिले संगठनको माध्यमबाट नेपाली श्रमिकहरुलाई सिकाउने प्रयत्न पनि गरिरहेको छु । खुशीको कुरा एउटा श्रमिक जो वैदेशिक रोजगारमा थियो त्यसलाई जिफन्टले आज आर्थिक सामाजिक राजनीति रूपमा सक्षम बनाएको छ ।
राजनीतिलाई कमाई खाने पेशाको रूपमा नभई जनताको सेवा हो भन्ने हिसावले नेतृत्वले काम गरिनुपर्छ र देशमा भएको साधन स्रोतको प्रयोग गरि युवा स्वरोजगार कार्यक्रम ल्याउनु पर्छ ।
पिडितहरुसँग जिफन्टको दशै अर्थात पीडितहरुसंग भेटघाट र छलफल गर्ने वातावरण बनाउँदै छौ । अनि दोस्रो लिडरसीप तालिम सञ्चालन गर्ने गरि तयारी गर्दैछौ । अन्त्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीमा दशैंको हार्दिक शुभकामना ।
यो पनि पढ्नुहोस्
‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन