कसरी हट्यो भिडियो यूट्युव र फेसबुकबाट 

काठमाडौं, असोज १९ 

युएईको फुजेरामा एक नेपाली रेष्टुरेण्ट सञ्चालकले उनको रेष्टुरेण्टमा काम गर्ने केहि नेपाली कामदारलाई होष्टलमा कुटपीट गरेको घटना देशपरदेशकले भिडियो सहित गत हप्ता सार्वजनिक गर्यो । यसले बैदेशिक रोजगारमा नेपालीले भोगिरहेको एउटा दुःखद पाटोलाई सवैको सामु छर्लंग बनाएको छ ।  

सो समाचार प्रकाशित भएपश्चात नेपालबाट केहि व्यक्तिले टेलिफोन मार्फत सो समाचार हटाउन लगातार दवाव दिइरहे । त्यो गत शुक्रवार र शनिवारको कुरा थियो । यसैगरी युएईबाट पनि केहि व्यक्तिले फोन गरेर समाचार तथा भिडियो हटाईदिन आग्रह गरे । कतिपयले आग्रह गरे, कतिपयले धम्कीपूर्ण भाषाको प्रयोग गरे । 

युएईबाट यसरी फोन गर्नेहरुमा केहि कलाकार पनि थिए । उनीहरु पनि ति व्यक्ति अत्यन्त असल भएको, आवेगमा आएर भएको घटना पश्चात उनले कारवाही पनि भोगिसकेको हुँदा समाचार तथा भिडियो हटाईदिन पटक-पटक आग्रह गरे । यसरी युएईबाट फोन आउन क्रम आइतवारसम्म जारी रह्यो । 

सोमवारको दिन विहानसम्म पनि नेपालबाट फोन गरेर देशपरदेशको कार्यालय रहेको स्थान सोधिखोजि गर्ने, एक्लै भेट्ने प्रस्ताव आइरह्यो । यसरी भेट्ने प्रस्ताव गर्नेहरुमा कोहि आफूलाई व्यवसायी बताउँथे, कोहि विद्यार्थी त कोहि चलचित्र निर्माता । अर्थात समाचार हटाृउने दवाव निरन्तर चलिरह्यो । 

तर हामीले पीडितको समस्या प्रत्यक्ष सुनेर तयार पारेको सामग्री हटाउने प्रश्नै थिएन । हामीले चर्को दवावका बीच त्यो समाचार हटाएनौं । सो समाचार हालपनि देशपरदेशमा यथावत छ । तर यसबीचमा पीडकको तर्फबाट देशपरदेशको यूट्यूव च्यानलमा तथा फेसबुक पेजमा अपलोड गरिएको भिडियो विरुद्ध उजुरी गरिएको र सोहि उजुरीका आधारमा गरिएको छानविनमा सो भिडियो सामग्रीले ति संस्थाहरुको “सोसल गाइडलाइन” उल्लंघन गरिएको भन्ने आधार जनाउँदै ति भिडियोहरु हटाइएको जानकारी पठाइयो । सोका विरुद्धमा देशपरदेशले गरेको उजुरीलाई अमान्य ठहर्याईएको छ । र यूट्यूव र फेसबुकले हटाएका भिडियोहरु पुनः प्रकाशित भएनन् । सम्भवतः सो भिडियोमा प्रयोग भएको नेपाली भाषा यूट्यूव र फेसबुकले पहिचान गर्न नसकेका कारण यसो भएको हो भन्ने हामीलाई लाग्दछ । 

हुन त यस विषयमा हामीले थप बताइरहन आवश्यक नहुन सक्दथ्यो । तर ति भिडियोहरु किन हटे भन्ने बारेमा हाम्रा पाठकहरुबाट हामीले धेरै प्रश्नहरु फेसबुक र ईमेलमा पाइरह्यौं । त्यसैले यो प्रकरणका बारेमा जानकारी दिनु हामीले आफ्नो दायित्व सम्झियौं । यो प्रकरणले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारप्रति हुने अन्यायका विरुद्धमा एक धक्का दिने काम गरेको छ । आगामी दिनमा नेपाली कामदारमाथि हात उठाउनु अगाडी त्यो भिडियो हरेक व्यक्तिको मष्तिष्कमा आउने नै छ । 

हामी हाम्रो कामप्रति दृढ संकल्पित छौं । परदेशमा नेपाली माथि जुनसुकै बहानामा भएको त्यो निन्दनिय कार्यको विरुद्धमा हामी जुटिरहने छौं । कामदारको पक्षमा पत्रकारिता हाम्रो निष्ठा हो । जसमा हामी सदैव उभिइरहने छौं । 

सुनिल न्यौपाने

सम्पादक 

देशपरदेश डटकम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय