वायुको एक बेगले
हल्लाएका केराका पातहरु
सर्ररररररररररर
सर्रररररररररर
हल्लिरहँदा चाडको माहोलमा
आमाका नयनहरुबाट तरक्क
तररररररररररर
तप तप, तप, तप
पोखिएको न्यानो अश्रु
दलिनमा भेल वनेर वगिरहेछ
चौतारीमा दृष्टिका विस्कुन ओच्छ्याएर
खोजिरहेछिन रंगिन आकृतिहरु
मुग्लान भासिएको छोरो पर्खिरहेकी छिन
आमा
कमेरोले पोतिएका राता भित्ताहरुमा
नातिले ऋण बोकाउन कोरेका काला धर्साहरु
दलिनमा टाँगिएको धुमिल तस्विर
फ्रेममा हल्लिरहेका माकुरीको जालो
बाबाले नाम्रो नाना लिएर आउँदैछनभन्दै
कोहोराम मचाईरहेको छोरो
औला भाँच्दै दशैं आयो
म त छुट्टै बसौला भन्दै गाउँदैछ दशैं गित
मजेत्रोको एक कुनाले आँसु पुछदै छिन आमा
कतै यस बर्ख
आफ्नै हातले सुमसुम्याउन पाईन्छ की ?
उखुबारीभरी
सल्र्याक्क सुर्लुक
सल्र्याक्क सुर्लुक
निधारमा चाउरी परेको
आँखा गाडिएर खजमजिएको मुहार
पैयुका फुलहरु शिरमा उम्रिएको मान्छे
द्धार सजाउने मनोकाक्षाँले काटिरहेछ लाँक्राहरु
भग्नावशेस मात्र वाँकी रहेको जीजिविसा
डाँडा माथिको जुन वनेको परिवेश
पर्खिरहेछ एक हुल कर्याङ्ग करुङ्गको हुल झै फर्कन्छ की कतै
चुक घोप्टिएको मन बोकेर
सोच्दैछ निरन्तर के बाँच्नु भनेको
एक भुल्को स्वाश फेर्नु मात्र हो ?
त्यसैले त आजकाल
ऊ गल्र्याम गुर्लुम
गल्र्याम गुर्लुम गल्र्याम गुर्लुम
बरको रुख ढलेको सपना देख्छ
समाचारमा देखिएका राता बन्द बाकसका दृष्यहरुसँग
काप्दछन उनका मुटूहरु
ढुक ढुक ढुक ढुक
न्युरोन चुढिने समाचार सुन्नु नपरोस
सुकेका पातका सर्याक सुरुक
सर्याक सुरुक्क
सर्याकककककककककककक
सुरुक्ककककककककककककक
मेला भर्न गएकी हर्कमाया
यसपाली दशैंमा रातो सारी लगाएर
उनको हातले निधार रंग्याउने कल्पनामा
चिलाईरहेछ ललाट
काखीका पसिनाको गन्धमा
गर्धन लुकाएर माईत जाने हुटहुटिमा
चिलाएका पैतालाहरु
छिचोल्दैछन् शितले भिजेका वनमाराहरु
पति स्पर्शको आशामा रंगिएका गालाहरु
हरेक रात सपनिमा ओठ सुकेका तनहरु
भिजेर गाढा दाग लागेका शिरानी
ओहो,
कस्तो खुस्केट म ?
छिटो भर्नु छ भारी
अनि, झर्नु छ
तल तल
धेरै तल
सललललललललल
सल सल सल सल बग्ने
सभाखोलाको छेउको देउरालीमा पुग्नुछ
उनको स्वागतका लागि
समयको लामो र दर्बिलो झापडले
विताएका ति लामा दिन र रातको
एकमुष्ट हिसाब गर्दै फस्र्योट गर्न
उनलाई विर्सीएको वाटो देखाउन
-निमेश गिरी
सुनसरी, हाल युएई
