
प्रिय पाठक, सुभेच्छुक तथा देशपरदेशका साथिहरु,
सीप, समृद्धि र सुरक्षित बैदेशिक रोजगारमा केन्द्रीत देशपरदेश डटकमले सञ्चालनको तेश्रो बर्ष प्रारम्भ गरेको छ । नेपाली युवालाई सीप सिकेर स्वदेशमा नै रोजगारीका विकल्पको खोजि गर्न तथा बैदेशिक रोजगारीमा जानेहरुको यात्रा सुरक्षित र उपलव्धीमूलक बनाउने उद्धेश्यले हामी निरन्तर खटिइरहेका छौं । हाम्रो यो यात्राले तेश्रो बर्षको पाइलो टेक्दै गर्दा हामीले तपाईबाट पाएको विश्वास र माया स्तुत्य छ ।
२०७१ असोज १० गते हाम्रो यात्रा सुरु भएको थियो । विभिन्न क्षेत्रका सयौं हाम्रा शुभेच्छुकहरुले सामाजिक सञ्जाल मार्फत एकैपटक यसको सुरुवातको घोषणा गर्नुभएको थियो जसलाई हामीले हाम्रो यात्रा प्रारम्भको घोषणा सम्झेका थियौं । र, हामी त्यहि यात्रामा कत्तिपनि विचलित नभई निरन्तर अगाडी बढीरहेका छौं । सीप सिकेका युवा, स्वदेशमा रोजगारीको अवशरको खोजि र बैदेशिक रोजगारलाई सुरक्षित र उपलव्धीमूलक बनाउने हाम्रो अभियान अझ मजबुत हुँदै गएको अनुभव गरेका छौं ।
हामीले वितेको पछिल्लो एक बर्षमा नियमित रुपमा रोजगारीको अवशरको खोजिका सघायौं, सीप र बैदेशिक रोजगारसँग सम्वन्धित समाचार र जानकारी निरन्तर पस्किरह्यौं । केवल यहि विषयमा केन्द्रीत भएर हामीले गरेको यो कामको मूल्याङ्कन स्वयं पाठकले नै गरिरहनु भएको छ भन्नेमा हामी विश्वस्त छौं ।
हामीले गएको बर्ष महत्वपूर्ण रुपमा गरेका केहि कामलाई यहाँ सम्झन चाहन्छौं । सरकारले लागु गरेको फ्रिभिसा, फ्रिटिकटको निर्णयलाई उल्ट्याउन गरिएको प्रयत्नलाई निस्तेज बनाउन हामीले सञ्चालन गरेको म कामदारको पक्षमा अभियानले प्रभावकारी रह्यो । देशपरदेशले सुरु गरेको यो अभियान पश्चात स्वदेश र विदेशमा रहेका सयौं नेपाली म कामदारको पक्षमा भन्ने सन्देश सहित अघि सरे । बैदेशिक रोजगारका क्रममा रहेका नेपालीले आफू कार्यरत स्थानबाट आफू कामदारको पक्षमा रहेको सन्देश सहित तस्वीर पठाएर यो अभियानमा आफ्नो सहभागिता जनाए । स्वदेशमा विभिन्न जिल्लाहरुमा र्यालीहरु निकालिए, उनीहरुले तत्कालिन श्रम तथा रोजगार मन्त्रीलाई भेटेर खवरदारी गरे । फलस्वरुप श्रम तथा रोजगार मन्त्रालयको लर्खराएको कदम पुनः बलियो भयो । पूर्व निर्णय उल्टाउने प्रयास सफल हुन पाएन ।
हामीले गएको बर्ष हराएका परदेशी खोज्ने अभियान पनि सञ्चालन गर्यौं । यस अभियान अन्तर्गत हामीले विभिन्न जिल्लाबाट हामीलाई प्राप्त अनुरोध बमोजिम १२ जना हराएका परदेशीका बारेमा भिडियो सहितको सामग्री प्रकाशन प्रशारण गर्यौं । र, सुखद कुरा त्यसमध्ये ६ जना व्यक्ति परिवारको सम्पर्कमा आएका छन् । थप केहिका बारेमा प्रारम्भीक जानकारी प्राप्त भएको छ । आशा छ, उनीहरु पनि छिट्टै आफ्नो परिवारको सम्पर्कमा आउनेछन् । यो अभियान यसबर्ष पनि जारी रहनेछ ।
मानव तस्करले विमानस्थलमा सेटिङ मिलाएर गर्ने मानव तस्करी, भिजिट भिसामा युएई लगायतका मुलुक लैजाने प्रवृत्ति र त्यसले निम्त्याएको समस्याका बारेमा हामीले नै विषय उठान गर्यौं । यसमा हाम्रा ति देशमा रहेका सहकर्मीहरुले मेहनत स्मरणीय छ । सोही प्रयास पश्चात दुतावासहरु, एनआरएनए लगायतले यस्ता समस्या समाधानका लागि केहि अध्ययन गरे, सिफारिसहरु गरिए । यो विषय राष्ट्रिय बहसको विषय बनेको छ । यसका साथैै युएई, कतार, साउदी अरव, कुवेत, मलेसिया, कोरिया लगायतका देशहरुले बनाउने नयाँ नीति, नियम र कानूनहरुका बारेमा त्यहाँ कार्यरत वा ति देशमा जान चाहनेहरुलाई सरल भाषामा जानकारी गराउने काम हामीले गर्दै आएका छौं जसलाई पाठकले पनि अत्यन्त रुचाएका छन् । हामीले प्रकाशन गरेका कतिपय समाचारहरु दुई लाख ५० हजार पटक भन्दा बढी पढिनु, हामीले प्रकाशन गरेका भिडियोहरु झण्डै चारलाख पटक हेरिनुले यहि कुरालाई पुष्टि गर्छ ।
हामी दृढ संकल्पित छौं आगामी दिनमा अझ राम्रो गर्नका लागि । त्यसैले हामी तेश्रो बर्षमा केहि नविनत खुराक लिएर आउने छौं । त्यो हाम्रो प्रयासले सीप विकासका लागि युवालाई झक्झक्याउने छ, बैदेशिक रोजगारीका नाममा भइरहेका विकृति, विसंगति रोक्न मद्धत गर्नेछ । कामले नै हामी यसलाई प्रमाणित गर्नेछौं । पुनः तपाईको विश्वासलाई धन्यवाद दिंदै, आगामी दिनमा पनि तपाईको यस्तै साथ सहयोगको अपेक्षा राख्दछौं ।
सुनिल न्यौपाने
सम्पादक
तथा
देशपरदेश डटकम परिवार