नफेरिएको नेपाली संस्कारले बनाउला युएईमा छाता संस्था ? 

सन्तोष खडेरी, युएई 

सरकारी निकायमा दर्ता नगरी कार्यक्रम नगर्न चेतावनी सहित समाचार प्रकाशित भएपछि युएईमा कृयाशिल करिव ७०, ८० हाराहारीका संस्था सञ्चालक अहिले अव के गर्ने भन्ने अन्यौलमा छन् । वडा, गाउँ, गा.वि.स, नगर, जिल्ला, अञ्चल, विकास क्षेत्र, जाती, धर्म, पेशा, राजनीति लगायतमा बाँडिएको नेपाली समुदायमा अव छाता संस्थाको बहस सुरु भएको छ । 

हाल व्यवसायिक समूहको एउटा संस्था बाहेक नेपालीहरुको कुनै पनि समाजिक संस्था युएईमा कानून बमोजिम गठन हुन नसकेको परिवेशमा आएको यस्तो समाचारलाई नेपालीहरुले अवसर र चुनौती दुबैका साथ हेरिरहेका छन् । अवसर यस मानेमा कि हालसम्म कुनै पनि कानूनी आधार बिना चलिरहेका थुप्रै संस्थाहरुको ठाउँमा बैधानिकता लिएर केही प्रतिनिधि संस्थाले निर्धक्कसँग आफ्ना गतिविधि सञ्चालन गर्ने वातावरण बन्दैछ । 

चुनौतीको पाटोमा ठूलो धनराशि, झन्झटिलो प्रकृयाका बिच सरकारी मापदण्ड पूरा गरि निश्चित संस्था मात्र दर्ता हुन सक्ने भएकाले अब कसरी त्यसको ब्यवस्थापन गर्ने तथा एकले अर्काको अस्थित्व स्वीकारको विषय हो । अर्कातिर दर्ता गरिने संस्था दिगो रुपमा बहुसंख्यक नेपालीको हीतमा कसरी सञ्चालन गर्ने भन्ने हो । युएईमा कृयाशिल सामाजिक संघसंस्थाका लागि अव घण्टी बजिसकेको छ । त्यसैले यो समय अर्काको खुट्टा तान्ने वा खुच्चिङ भनेर बस्ने होइन । 

हामी नेपाली जुन संस्कार र सिकाईबाट आज यहाँसम्म आइपुग्यौं त्यसमा आमुल परिवर्तनको खाँचो छ । हामी निहित स्वार्थमा अल्झन्छौं, मेरै नेतृत्व, म नै नेता भन्ने स्तरबाट आफूलाई माथि उठाउन आवश्यक छ । सानो नै किन नहोस् आफ्नै संस्थाको नेता हुन गर्व गर्ने हामी के एकै ठाउँमा अटाऔंला ? के हामी अरु कसैको नेतृत्व मानेर अगाडी बढौंला ? यसविषयमा आत्मसमिक्षाको खाँचो छ । 

तर यो समाचारले हिजोका दिनमा पनि वृहत क्षेत्र समेट्ने उद्धेश्यले र प्रजातान्त्रीक पद्धतीबाट नेतृत्व चयनको अभ्यासमा रहेका संस्थाहरुलाई अव कसरी नेपालीको साझा पहिचान स्थापित गर्नेगरी कानूनी रुपमा अगाडी बढ्ने भन्ने छलफलको ढोका पनि खुलेको छ । आशा गर्छु, समाचार प्रकाशित भइसकेपछि सायद यस विषयमा ति संस्थाको नेतृत्वले गम्भीर रुपमा छलफल थालिसकेको हुनुपर्दछ । 

सामाजिक सञ्जालमा केही दिनयता स्वघोषित रुपमा छाता संस्थाका रुपमा दर्ता गर्ने गरि आफूलाई खडा गरेका बिज्ञप्ती प्रकाशन हुन थालेपछि यसले अर्को विवाद सुरु गरेको छ । यो जुहारीले फेरी पनि हामीलाई कहिं पुर्याउँदैन । लौ हामी कस्सीयौं भन्दै एक पक्षले फेसबुकबाटै जनाउ दिने र अर्का पक्षले हेरौंला नि त तिम्रो पाइन भन्ने हो भनें यसले केवल तित्तता मात्र बढाउँछ । अन्त्यहीन राजनीतिक संक्रमण वाक्कदिक्क भएर परदेश पसेका नेपाली सामाजिक संस्थाबाट सामाजिक काम नै हुने भन्ने अपेक्षा राख्छन्, त्यसको आडमा फेरी राजनीति होस् भन्ने चाहना साह्रै थोरैको होला । त्यसैले सामाजिक छाता संस्था दर्ताको प्रकृयामा अगाडी बढ्न चाहनेहरुले सोही अनुरुप व्यवहार देखाउँदा राम्रो हुन्छ । 

पछिल्ला दुई बर्षमा यहाँ एनआरएनए र नेपाली समाज, युएईको नयाँ नेतृत्व चयन हेर्ने अवशर पाइयो । तर दुःखका साथ भन्नु पर्छ ति दुवै संस्थाका चुनाव राजनीतिक दलहरु लडे । दलगत प्यानल बने, भोट उसैगरी मागियो जसरी नेपालमा राष्ट्रिय चुनावमा मागिन्छ । अर्थात हामी परदेशमा आइपुगेर पनि सामाजिक जिम्मेवारी थोरै, राजनीतिक जिम्मेवारी धेरै बोकेरै हिंडिरहेका छौं । अझ दुःखको कुरा त जित्ने दंग परिहाले, हार्नेले त्यो संस्था अव आफ्नो देख्न छोडे र जित्नेले पनि हार्नेलाई पनि समेटेर अगाडी बढ्नुपर्ने आवश्यकता महशुश गरेन । यो विडम्वना हो । यसमा सुधार जरुरी छ । 

हुन त हामी संस्था गठन गर्दा विशुद्ध सामाजिक काम गर्ने भन्छौं तर विस्तारै त्यो लक्ष्य हराउँदै जान्छ । धेरैजसोमा त्यो केवल केहि व्यक्तिलाई समाजसेवीको पगरी गुथाउन बढी काम लाग्छ । भलै कतै कसैलाई आपत विपत पर्दा दुईचार दिरहम संकलन नगर्ने होइनन् । हामीले खोजेको छाता संस्था यस्तो होस् जसले नेपालीको भावना बोकोस् । त्यसको नेतृत्व चयनमा दलहरु नभिडुन्, हिजो गरेका कामका आधारमा मूल्याङ्कन गर्न सकियोस् । रहर लाग्दो होस् त्यो नेतृत्व । हो हामीले कल्पना गरेको छाता सामाजिक संस्था यहि हो । 

हालका दिनसम्म आआफ्ना संस्था लिएर अगाडी बढेपनि युएईमा अव त्यो सम्भव छैन भन्ने देखिएको छ । हो, हिजो जिल्ला, क्षेत्र, जात जुनसुकै नाममा खुलेका संस्था भएपनि तिनले यथासक्य गरेको योगदानलाई नविर्सौं । तर अव पनि मेरो गोरुको बाह्रै टक्का भनेर बस्यौं भनें हुन्न । परदेशमा धक्कु लगाउँदै जवर्जस्ती कुनै काम नगरौं । माथि समिक्षा गरिए जस्तै तमाम समस्याहरुलाई मनन गरि हामीले आफ्नो संस्कार बदल्नै पर्छ र बिगतबाट पाठ सिकेर नयाँ पद्धतिबाट सोच्नै पर्छ । एकले अर्काको अस्थीत्व स्वीकार गर्न नसक्ने अबिश्वासको वातावरणलाई त्याग्दै माथि उठेर नयाँ संस्कारका साथ अगाडी बढेमा नेपालीका रहरलाग्दा छाता संगठन असम्भव पनि छैनन । हामी सहयोगका लागि  लाखौं उठाउन सक्ने नेपालीले संस्था दर्ता गरी अगाडी बढ्न आवश्यक पर्ने रकम र पूरा गर्नुपर्ने प्रकयाका कारण मात्र सायद पछि पर्ने छैनौं । खाँचो छ त केवल एकता, ईमान्दारी र सहकार्यको । 

यो पनि पढ्नुहोस् 

युएईमा अव कुन संस्था दर्ता गरेर अगाडी बढ्ने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय