मोहन बस्याल, युएई
दर्ता नभई सञ्चालनमा रहेका संस्थाले कुनै सामाजिक वा साँस्कृतिक कार्यक्रम गरे युएई सरकारले आर्थिक जरिवाना सहितका कारवाही गर्ने समाचार स्थानीय एक दैनिक पत्रिकामा प्रकाशित भएपछि अहिले युएईमा रहेका नेपालीहरु बीच यसले खैलाबैला मच्चाएको छ । सो समाचारको अनलाईन भर्सन तथा त्यसलाई फलोअप गर्दै नेपालबाट सञ्चालित देश परदेश डटकमले प्रकाशन गरेका सामग्री अहिले युएईमा भाईरलकै शैलिमा शेयर भैरहेको छ । अब के होला, कसो होला भन्ने अनुमान र अड्कलबाजी तथा टिप्पणी भइरहेका छन् ।
हरेक हप्ता कुनै न कुनै कार्यक्रम हुँदै आएको युएईमा निर्धारित मिति नजिकै रहेका कार्यक्रम पनि स्थगन शुरु भएको छ । सन् २०१४ मा ल्याईएको कानुनले संस्था दर्ता गर्नु पर्ने लगायतका प्रावधान ल्याएपनि कार्यान्वयनको चर्चा अहिले ब्यापक भएको हो ।
बिडम्बना
युएईमा बैदेशिक रोजागरी तथा ब्यवसायका लागि आएका नेपालीले सन् १९९० मा स्थापना गरेको नेपाली समाज २६ वसन्त काटेपनि अहिलेसम्म दर्ता हुन सकेको छैन । संस्था मुनाफा रहित भएपनि दर्ता भएपछि कार्यालय सञ्चालन गर्नु पर्ने लगायतका प्रावधान रहेकाले त्यसका लागि आवश्यक पर्ने खर्चका लागि नियमित आम्दानीको स्रोत नदेखिएकाले दर्ताका लागि यसका अगुवाहरु पछि हटेका हुन् । स्थापनाको २६ बर्ष पुरा भईसक्दा पनि यसका अगुवाले संस्थाको वैधानिकताका लागि आवश्यक पहल र सफलता नपाउनु आफैंमा बिडम्बना हो । विगतमा जे भएपनि अव ढिला नगरि संस्था दर्ता गर्ने र स्थानीय कानुनको अनुकुल भएर आफ्ना गतिविधि सञ्चालन गर्न ध्यान दिनुपर्छ ।
नेपाली समाजले बिज्ञप्ती निकालेर नेपाली दुतावास तथा युएईमा क्रियाशिल संघ संस्थाको सहयोग रहे नेपाली समाज दर्ता प्रकृयामा अगाडी बढ्ेन जनाएको छ । बिज्ञप्तीको भाषा हेर्दा अझै पनि नेपाली समाज दर्ता हुने आशा गर्न सकिन्छ तर भर पर्न सकिंदैन । वर्तमान कार्यसमिति निर्वाचित हुने बेला नेपाली समाजलाई दर्ता गर्ने बाचा गरिएको थियो । तर आफ्नो कार्यकालमा जसरी पनि संस्था दर्ता गरि छोड्छौं भन्ने प्रतिवद्धता चाहिं विज्ञप्तीमा छैन ।
सम्भावना
समाचारमा उल्लेख भए अनुसार मुनाफा रहित संस्थालाई क्लबको रुपमा दर्ता गर्न सकिन्छ । एउटा मुलुकबाट पाँचवटासम्म संस्थालाई मात्र मुनाफा रहित संस्थाको रुपमा दर्ता गर्न सकिने ब्यवस्था भएको समेत समाचारमा उल्लेख छ । युएईमा नेपाली नागरिकले स्थापना गरेका संस्था ८० को हाराहारीमा रहेको अनुमान छ । सहअस्तित्व, समन्वय, एकता र सहकार्यको भावना भए अहिले रहेका सबै संस्थालाई मिलाएर सामुहिक रुपमा पाँच वटा सामाजिक क्लब दर्ता गर्न सकिने सम्भावना छ । अहिले क्रियाशिल र आगामी दिनमा पनि दर्ता भई क्रियाशिल रहन सक्ने संस्थाको चर्चा यहाँ गर्ने कोशिस गरिएको छ ।
नेपाली समाज युएई
सबैभन्दा पुरानो र २० भन्दा बढि संस्था आवद्ध भएको संस्था भएकाले नेपाली समाज, युएई दर्ता भई बैधानिक रुपमा क्रियाशिल हुने बलियो सम्भावना बोकेको संस्था हो । ब्यवसायी तथा समाजसेवी दिनेश आचार्यले यस संस्थाले कार्यालय सञ्चालन गरे कार्यालय सञ्चालनका लागि आवश्यक सहयोग गर्ने सार्वजनिक कार्यक्रम मार्फत घोषणा गरि सकेका छन् । नेपाली समाजले आवश्यक कार्ययोजना अगाडी सारे त्यसका लागि सहयोग गर्ने तयार हुने नेपालीको संख्या उल्लेख्य हुने अनुमान गर्न सकिन्छ । युएईमा क्रियाशिल सबैजसो जिल्लागत संस्थाहरु यसमा आवद्ध भएकाले आवद्ध संस्थाहरु बीच समन्वय र सहकार्यको भावना भए यो संस्था नमुना संस्थाको रुपमा विकाश हुन सक्छ ।
नेपाली बिजनेश काउन्सिल
युएईमा नेपालबाट आएर ब्यवसाय गरि रहेका नेपाली ब्यवसायीको संस्था नेपाली बिजनेश काउन्सिल दर्ता भईसकेको यसमा संलग्नहरु बताउँछन् । यस संस्थामा १ सय ५० को हाराहारीमा सदस्य रहेको भनाई छ । यसले युएईमा नेपाली नागरिकलाई ब्यवसाय सञ्चालनका लागि सहजिकरण गर्ने, ब्यवसायीको दक्षता अभिबृद्धि गर्ने लगायतका उद्धेश्य राखेको छ । युएईमा हरेक साता नेपाली नागरिकको लगानीमा नयाँ–नयाँ ब्यवसाय शुरु हुने क्रम देखिएको छ । यसका सदस्यको बिस्तार हुँदैछ । प्रवासमा रहेका नेपाली नागरिकलाई कामदारबाट स्वरोजगारमुलुक पेशा तर्फ उन्मुख गराउन यस संस्थाले भुमिका खेल्न सक्छ ।
एनआरएनए
गैर आवासिय नेपाली संघ(एनआरएनए) संसारभर नेटवर्क भएको प्रवासी नेपालीको संस्था हो । कतिपय मुलुकमा यस संस्थामा पूर्व नेपाली नागरिक पनि समावेश भएको पाईन्छ । युएईमा यो संस्था सरकारी निकायमा दर्ता हुन सक्ने बलियो सम्भावना बोकेको संस्था हो । दुई हजार भन्दा बढि सदस्य रहेको यस संस्थाले युएईका बिभिन्न क्षेत्रमा आफ्ना शाखा पनि बिस्तार गरेको छ ।
आदिबासी जनजाति महासंघ
युएईमा क्रियाशिल आदिबासी जनजाति महासंघ युएईमा दर्ताका लागि सम्भावना बोकेको अर्को संस्था हो । अहिले बिभिन्न ११ वटा जातिय संस्थाको नेटवर्कका रुपमा रहेको महासंघले वार्षिक रुपमा बिभिन्न अन्तरकृया, साँस्कृतिक कार्यक्रम तथा नेपालको पर्यटन ब्यवसायलाई सघाउने उद्धेश्यले बिभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । पछिल्लो पटक विश्व आदिवासी जनजाति दिवसको अवसरमा यस संस्थाले नेपाल उत्सवको कार्यक्रम गर्यो । कार्यक्रममा ११ जात जातिले आ–आफ्ना खाना, भेषभुषा, नृत्य र बाजा प्रदर्शन गरे । नेपाल आदिबासी जनजाति महासंघले जातिय संस्कृति झल्कने कार्यक्रम गर्दै आएको छ । दर्ता भएपछि यसले योजनाबद्ध तरिकाले नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड, नेपाली दुतावास लगायतसँगको सहकार्यमा नियमित कार्यक्रम गर्न सक्छ । यसले युएईमा रहेका अन्यमुलुकका नागरिकलाई पनि कार्यक्रममा आकर्षित गर्न सक्नेछ ।
सहकारी संघ
युएईमा १५ वटा सहकारी संस्था क्रियाशिल छन् । यिनिहरुले नियमित रुपमा बचत संकलन गर्ने तथा संस्थाका सदस्यमा लगानी गर्ने गर्दै आईरहेका छन् । यि १५ वटा संस्थाका अगुवाको भेलाले कृष्ण पौडेलको संयोजकत्वमा सहकारी संघ पनि स्थापना गरि सकेको छ । संघ दर्ता भएमा यसमा रहेका सहकारीले संघको खातामा पैसा जम्मा गरेर बैंकिङ सुविधा लिन सक्छन् । बैकिङ बिधि मार्फत काम गर्न शुरु भएमा अहिले देखिएको बचतको मात्र कैयांै गुणाबृद्धि हुन सक्ने सम्भावना छ । सहकारीले बैधानिकता पाएमा जिल्ला तथा क्षेत्रगत रुपमा खुलेका बचत कोषलाई पनि सहकारीमै समावेश गर्नु उचित हुन्छ । यस मार्फत बचत हुने कोषलाई नेपालमा सामुहिक रुपमा लगानी गर्ने गरि अगाडी बढ्दा पनि उचित हुन्छ ।
नेपाली सोसिएल क्लब
बिगत देखि क्रियाशिल समुह भन्दा छिटो दर्ता हुने क्रममा भने ब्यवसायी तथा समाजसेवी शालिक सुवेदी नेतृत्वको नेपाली सोसियल क्लब देखिएको छ । यस संस्थाले दर्ताका लागि आवश्यक प्रकृया अगाडी बढाई रहेको जानकारीमा आएको छ ।
कसले के गर्ने, कसरी ?
तीज कार्यक्रम
युएईमा सबै भन्दा धेरै संस्थाले गर्ने कार्यक्रम तीज बिशेष कार्यक्रम हो । बिषेशगरी जिल्लागत संस्थाले तीजको अवसरमा नेपालबाट कलाकार ल्याएर नाँचगानको कार्यक्रम गर्ने गरेका छन् । करिब डेढ महिनासम्म हरेक शुक्रबार तीजका कार्यक्रम हुने गरेका छन् । विगतमा दुबईमा केन्द्रित हुने यस्ता कार्यक्रम अहिले रास अल खैमह, अल ऐन, आवुधावीमा पनि बिस्तार भएका छन् । दुई बर्ष अघिसम्म हल भर्न कठिन हुने गरेकोमा पछिल्ला बर्षमा एकै दिन तीन चारवटा कार्यक्रम भएपनि हल भरिने गरेका छन् ।
तर प्रत्येक जिल्लाले छुटटा छुटटै भन्दा कुनै स्थानमा कुन जिल्लाले कुनै स्थानमा अर्को जिल्लाले ब्यवस्थापन गर्ने गरि कार्यक्रम गर्न सकिन्छ । नेपाली समाजले सबै जिल्लालाई मौलिक गीत तथा नृत्य सहित उपस्थित गराउनका लागि प्रतियोगितात्मक कार्यक्रम गर्न पनि सक्छ । यस्तो कार्यक्रम दुई वा तीनवटा शुक्रबारसम्म लम्व्याउन पनि सकिन्छ ।
वनभोज
तीजका बेला सबैले तीज बिषेश कार्यक्रम गरेजस्तै जाडोको मौसममा सबैजसो संस्थाले वनभोजको कार्यक्रम राख्ने गरेका छन् । हरेक संस्थाले राख्नु भन्दा सामुहिक रुपमा राख्न सके उचित हुन्छ । बर्षमा पाँच वटासम्म बनभोज राख्न सकिन्छ । एनआरएनए, नेपाली समाज, सहकारी संघ, आदिबासी जननजाति महासंघ, नेपाली बिजनेश काउन्सिल जस्ता संस्थाले आफ्ना क्षेत्रगत रुपमा रहका सदस्यलाई एउटै भेलामा उपस्थित गराएर वनभोज गराउन सक्छन् ।
सहयोग तथा उद्धार
कुनै पनि नेपाली कामदार संकटमा परेको छ भने त्यसको प्राथमिक जानकारी जिल्ला वा नजिकका आफन्तले नै पाउँछन् । त्यसका आधारमा जिल्लागत संस्थाको सहयोगमा एनआरएनएले त्यस्ता मानिसको उद्धार तथा सहयोगमा भुमिका खेल्न सक्छ । त्यस बाहेक बिभिन्न कारणले अंगभंग हुने, मृत्यु हुने अवस्थामा पनि एनआरएनएले नेपाली दुतावासको सहयोगमा भुमिका खेल्न सक्दा राम्रो हुन्छ । यसका लागि बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड लगायतका संस्थासँग पनि यस संस्थाले काम गर्न सक्छ ।
साँस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवद्र्धन
यस कामका लागि नेपाल आदिबासी जनजाति महासंघले भुमिका खेल्न सक्छ । नेपालको मौलिक भेषभुषा, खाना, गीत, नृत्य, बाजाको प्रस्तुती राखेर बिभिन्न मुलुकका नागरिकलाई नेपालमा आउन आकर्षित गर्ने कार्य गर्न सकिन्छ । यस्ता कार्यक्रम राख्दा बढि भन्दा बढि बिदेशी नागरिकलाई आमन्त्रित गर्ने, नेपालको भिसा प्रकृया, नेपाल आवत जावतको खर्च, सुरक्षा ब्यवस्था, यातायात तथा होटल सुविधा, हेर्न लायक ठाउँको जानकारी समेटिएका बृत्तचित्र, फोटो प्रदर्शनी जस्ता कार्यक्रम गर्न सकिन्छ ।
सामुहिक लगानीको पहल
सहकारी संघले नेपालमा लगानीका सम्भावनाको छलफल तथा सामुहिक लगानीका लागि पहल गर्न सक्छ जुन अपरिहार्य पनि छ । नेपालमा खुलेका संस्थाको शेयर खरिद तथा नयाँ कम्पनी स्थापनाका लागि समेत सहजिकरण गर्न सक्छ ।
यो प्रारम्भिक बहस हो । यसमा आफ्ना बिचार समेट्न सबैमा आग्रह गर्दछु ।
यो पनि पढ्नुहोस्
युएईमा भोली यस्तो दिन भोग्नु नपरोस्