फिलिपिन्स हिंडेकी जोया, नेपाली मन र फेसबुके प्रवृति

मोहन बस्याल, युएई  

सम्भवत यो आलेख प्रकाशन हुने बेलासम्म यो कथा एउटा टुंगोमा पुग्छ होला । नयाँ सिक्वेल शुरु हुन पनि सक्छ । तर जोयाको जीवनमा आएको उतार चढाव र त्यससँगै देखिएको नेपाली मन र फेसबुके प्रवृतिबारे केही लेख्न मन लाग्यो । 

शुरुवात 

जोयाले नेपाल छोड्नु अघि आदर्श गृह चितवनले राखेको बिदाई कार्यक्रमको समाचार जव सञ्चारमाध्यममा आयो, त्यसले एउटा तरंग ल्यायो । त्यो थियो सबैलाई रुवाएर बिदा भईन जोया शिर्षकको समाचार । एक प्रकारले भाईरल जस्तै भयो । धेरै देशमा नेपाली र फिलिपिनो नागरिक संगै काम गर्छन कहिं सहकार्य कहिं प्रतिस्पर्धा चल्छ । कतिपय देशमा लिभिङ टुगेदर पनि छ नेपाली र फिलिपिनोबीच । त्यसैले फिलिपिनो नागरिक जोया बिहेका लागि नेपाल पुगेको, दुई बच्चा समेत जन्माई सक्दा पनि बिहे दर्ता हुन नसकेको र फिर्ता भएको समाचारले धेरैको ध्यान खिच्यो । 

समस्या गरिबी 

खासमा जोयाको विदाईको खवर सार्वजनिक भए लगतै आम नेपालीले आत्मग्लानीको महशुश गरे । जीवन थापालाई निम्नस्तरका गाली गलौज गरेको पनि देखियो । तर जव जीवनकी आमा, मामा, छिमेकी र जीवनका कुरा सार्वजनिक ञ्चारमाध्यममा आयो फेरी कथाले नयाँ मोड लियो । अब जीवन बिरुद्ध खनिएकाहरु आदर्शगृह र त्यसको कार्यकारी प्रमुख मिना खरेलका बिरुद्ध खनिए । तर न यो कथाको खलपात्र जीवन थिए न मिना खरेल नै थिईन । समस्याको जड गरिवी थियो । गरिविका कारण बसाईसराई गर्दै चितवन आईपुगेको जीवनको परिवारले बसाईसराई लगायतका कागजात समयमा नबनाउदा जीवन र जोयाको विवाह दर्तामा समस्या भएको कुरा परिवारका सदस्यले नै बताएका छन् । 

सामान्यतया नेपालमा विवाह गर्ने बित्तिकै दर्ता गर्ने, जन्म दर्ता, मृत्यु दर्ता जस्ता सामाजिक घट्ना दर्ता गराउन ध्यान दिएको पाईदैन । धेरै जोडीले छोराछोरी विद्यालय भर्ना गर्ने बेलामा जन्मदर्ता खोजेपछि विवाह दर्ता गराएर विवाह दर्ता गरेको पनि पाईन्छ । नेपाली नागरिकको हकमा ढिला दर्ता गर्दा पनि ठूलो जरिवाना नलाग्ने भएकाले खासै समस्या हुँदैन । तर जोया फिलिपिनो नागरिक भएकाले उनले पाएको भिजाको एक महिना भन्दा बढि अवधिको बसाईको जरिवाना तिर्नु पर्ने कुराको हेक्का जीवनको परिवारले राखेको देखिदैन । जब कागजी प्रकृया पुरा गर्न लाग्छन् त्यतिबेला जरिवानाले अवरोध ल्याउँछ । आर्थिक अवस्था कमजोर भएकै कारणले कञ्चनपुरबाट चितवनसम्मको बसाई सराई गराउन नसकेको जीवनको परिवारले ओभरस्टेको जरिवाना तिर्न सक्ने अवस्था थिएन । 

पिताको लामो समयको उपचार पछि निधन हुँदा झण्डै पाँच लाख रुपैया ऋण लागेको कुरा जीवनकी आमा पुर्णमायाले सञ्चारमाध्यमसंगको कुराकानीमा बताएकी छन् । जीवन पनि बैदेशिक रोजगारीको शिलशिलामा दुबई आएपनि पुरा अवधि नबसी फिर्ता भएको अवस्था छ । घरमा नियमित आम्दानीको स्रोत नभएकाले आर्थिक संकट सहज रुपमा बुझ्न सकिन्छ । 

आर्थिक अवस्था कमजोर भएकाले जोया र जीवनले होटल सञ्चालन गर्न शुरु गरेको  र पुस माघको ठण्डीमा भर्खरकी सुत्केरी जोयाले बिहान चार पाँच बजे तिर एकसरो लुगामा लुगलुग काम्दै भाँडा माझेको देखेर टिठाउने छिमेकीका कुराले पनि गरिवीको अवस्था पुष्टी गर्छ । जीवन र जोयाका लागि छुटटै कोठा होईन छुटटै बेड पनि नभएको भन्दै आदर्श गृहले कमसे कम बस्ने ठाउँ त बनाउ भनेपछि जीवनले आफ्ले बस्ने ब्यवस्था गरेको भनेर दिएको अन्र्तवार्ताले पनि उनीहरुको गरिबीको कारुणीक अवस्थाको चित्रण गर्छ । 

पाप लाग्छ 

फेसबुकमा मिना खरेल बिरुद्ध जथाभावी रुपमा गाली गलौज गर्ने, देश निकाला गरिनु पर्छ भनेर लेखिएको पनि पाईयो । मिना खरेलका बिरुद्ध यसरी लेख्नेहरुलाई नेपालमा कुनै कानुनी कारवाही त नहोला तर पाप अवश्य लाग्ने छ । जोया फिलिपिन्स फर्कनुमा मिना खरेल र आदर्श गृहको अपराध के हो ? संकटका बेला जोयालाई आश्रय दिनु आदर्श गृहको अपराध हो ? के मिना खरेलले ओभरस्टेको जरिवाना मिनाहा गर्ने हैसियत राख्छिन् ? जीवनको परिवारमा देखिएको चरम गरिवीको समस्या मिना खरेलले समाधान गर्न सक्थिन ? जीवनकी आमा पुर्णमायाले सञ्चारमाध्यममा दिएको अन्र्तर्वातामा भनेकी छन्ः जीवनको मोवाईल हेरेपछि जोया र जीवनको झगडा भएको थियो । जीवनको मोबाईलमा त्यस्तो के थियो जस्ले झगडा उत्पन्न गरायो ? झगडापछि आफु फिलिपिन्स फर्कने कुरा गरेपछि पासपोर्ट तानातान हुँदा च्यातिएको पनि जीवनकी आमाले अन्र्तर्वातामा बताएकी छन् । जीवन र जोयाले झगडा गरेर च्यातेको पासपोर्ट मिनाले आफैं बनाई दिन सक्थिन ?

गरिविका कारण कञ्चनपुर पुगेर बसाई सराईको कागज बनाउन पनि समस्या परि रहेको अवस्थामा जोया चाहेरै पनि माईति घर जान सक्ने अवस्था थिएन । त्यसमाथी ओभरस्टेको जरिवाना र च्यातिएको पासपोर्ट अझ ठूलो तघारो बन्यो । आदर्श गृहमा नपुगेको भए जोयाको जीवनमा जस्तोसुकै घट्ना पनि घट्न सक्ने अवस्था थियो । आदर्श गृहसँग जोडिएपछि जोयाको ओभर स्टेको जरिवाना फिलिपिन्स दुतावासले तिर्ने भयो । उनको पासपोर्ट नभएको अवस्थामा ट्राभल डकुमेन्ट पनि बनाई दिने भयो ।  के यो पनि आदर्श गृह र मिना खरेलको अपराध थियो ?

मिना खरेल एक सामाजिक कार्यकर्ता हुन् । उनी पनि मानिस हुन् । हाम्रै समाजको । उनमा पनि केही ब्यक्तिगत कमी कमजोरी होलान । अहिलेसम्म देखिएका घट्नाक्रममा जोयाको घटनामा उनको नियत खराब थियो भन्ने कुनै आधार देखिदैन । परिवारका सदस्यलाई गरिने ब्यवहार र समन्वयमा केही त्रुटी भएका हुन सक्छन् तर अपराधीलाई जस्तो व्यवहार गरिनु आफैंमा अपराध हो । कानुनी कारवाही नभएपनि पाप लाग्छ ।

नेपाली मन 

नेपाल संसारकै गरिव मुलुकहरुको सूचीमा पर्छ । तर नेपालीको मन धेरै फराकिलो छ । जोया नेपालीभूमि छोडेर जन्मभुमी पुग्दा नपुग्दै उनको नम्बर पत्ता लगाएर उनको नाममा पैसा पठाएको पनि देखियो । जोयाका नाममा खोलिएका बिभिन्न फेसबुक पेज मार्फत रकम संकलन अभियान पनि चलेको देखियो । ति फेसवुक सञ्चालन गर्नेको नियत के हो, पठाएको पैसा सम्बन्धित मानिसले पाउँछ की पाउँदैन भन्ने समेत ख्यालै नगरी पैसा पठाउनेको लर्को पनि देखियो । यसमा एउटा नेपाली मन र मानवताको नाता भन्दा अर्को कारण छैन । फेसबुक पेजमा उल्लेख भएको रकम हेर्दापनि लाखौं रकम यो अभियानमा संकलन भएको छ । यो सहि ठाउँमा पुगेको छ छैन त्यो अर्को पाटो हो । 

फेसबुके छुद्र प्रबृति 

हामी नेपालीको मन जति फराकिलो छ, हामी फेसबुक लगायतका सञ्चारमाध्यममा त्यतिनै छुद्र रुपमा प्रस्तुत हुन्छौं । अर्काको आलोचना गर्ने, अर्कोलाई गिराउने कुरामा हामी बढि क्रियाशिल हुन्छौं । जोया र जीवनको कथामा पनि यस्तै देखियो । जोयाका गह भरिएका तस्बिर र भिडियो देख्ने बित्तिकै कथाको सार नबुझी जीवनलाई तथानाम गाली गर्न थालेको पाईयो । जीवनको तस्बिरमा अनेक गाली गलौज गरि पोष्ट गरेको पाईयो । जब जीवनकी आमाको अन्र्तर्वाता र जीवनले आफु बिरुद्ध फैलिएका अफवाहबारे खण्डन गरे तव भिड मिना खरेल बिरुद्ध उर्लियो । 

फेसबुकमा मिना खरेल विरुद्ध लेखिएका कुरा हेर्दा लाग्थ्यो मिनाले जोयालाई माईतिघर नपठाएर मुम्बईको कोठीमा बेचेर आएकी हुन् । खासमा गलत कुराको शुरुवात फेसबुक पेजमा बिभिन्न फेसबुक पेजले लाईक कमेन्टको बर्षा गराउन नियोजित रुपमा भ्रामक कुरा लेखि पोष्ट गर्ने चलन छ । हामी मध्येकैले फेरी गलत र अफवाह फैलाउने कुरा हो भन्ने जाँदा जान्दै पनि लाईक कमेन्ट  र शेयर गर्न छोड्दैनौ । यस्ता कुराले सामाजिक सद्भाव खल्बल्याउने, आपसी भातृत्वमा कमि ल्याउने समस्या हुन सक्छ । यस्ता कुरामा ध्यान दिनुपर्छ । 

संचारमाध्यमको बेवास्ता

कुनै पनि समाचारलाई सन्तुलित बनाउन सम्बन्धीत पक्षको विचार समेटिएको हुनु पर्छ भन्ने सिद्धान्छ छ । तर जोया र जीवनको समाचार आउँदा यसमा जीवन तथा उनको परिवारको भनाईलाई कुनै मौका नै दिईएको पाईएन । जव जीवन र उनको परिवारको कुरा आयो मिना खरेललाई खलपात्रको रुपमा प्रस्तुत गरियो । तर यसमा पनि मिना खरेल र उनको आदर्श गृहको कुरा समावेश गरिएन । पत्रकारिताको आधारभुत सिद्धान्तलाई वेवास्ता गरि एकतर्फी र पुर्बाग्रही प्रचारवाजीले मिना खरेल तथा यस्ता सामाजिक काममा जीवन समर्पण गरेका मानिसलाई हतोत्साही बनाउने काम गर्यो । यस्ता कुरामा ध्यान दिनुपर्छ । जब जोयाको बिदाईको समाचार आयो त्यतिबेला नै उनका परिवारका सदस्यको कुरा पनि राख्न सकेको भए फेसबुकमा जीवनका विरुद्ध आरोप प्रत्यारोप आउने थिएन । जब जीवन र उनका परिवारको कुरा आयो त्यसबेला आदर्श गृह र मिना खरेलका कुरालाई स्थान दिईएन । उनका कुरा समावेश गर्न सकेको भए यस्तो समस्या आउदैन थियो । 

मिडियाका लागि चुनौति

सामाजिक सञ्जालमा ग्रुप, बिभिन्न पेज तथा ब्लगस्पट सजिलै बनाउन सकिन्छ । उट्पट्यांग सामग्री जति धेरै पोष्ट गर्यो उतिनै लाईक कमेन्ट आउने गर्छ । नेपालका आधिकारिक सञ्चारमाध्यम कै हाराहारीमा यस्ता उडन्ते फेसबुक फेजको लाईक भएको पाईन्छ । सञ्चारमाध्यमसंगै मिल्दा जुल्दा शिर्षकमा बनाईएका यस्ता पेज र ब्लगस्पटले सञ्चारमाध्यमको भ्रम छरेका छन् । आम मानिसले यिनैलाई सञ्चारमाध्यम मानेर विश्वास गरेको पाईन्छ । यस्ता पेजमा लेखिएका कुरा विश्वास गरेर शेयर गर्ने र पछि गलत भएको थाहा पाएपछि सम्पुर्ण मिडिया क्षेत्रलाई नै गाली गर्ने प्रबृति पछिल्ला दिनमा बढ्दो छ । यसले सञ्चारमाध्यमको गरिमा जोगाउन चुनौति देखिएको छ । कुन सञ्चारमाध्यम हो कुन होईन भन्ने बिषयमा चेतना मुलक अभियान नै चलाउनु पर्ने देखियो । 

जे हुन्छ राम्रै हुन्छ 

कतिपय घट्नाक्रम तत्कालका लागि नराम्रो भएपनि पछि त्यसका नतिजा राम्रो आउन सक्छन् । पारिवारिक झगडाले आदर्श गृह हुँदै स्वदेश फिर्किएकी जोयाको कथाले अन्तरदेशिय सम्बन्धका चुनौति जान्ने अवसर धेरैजनालाई भयो । मिना खरेलका बिरुद्ध कुप्रचार भएपनि धेरै जनालाई आदर्श गृहका बारेमा जान्ने मौका मिल्यो । अहिले भ्रम रहेपनि बिस्तारै मिना खरेल र आदर्श गृहको महत्व सबैले बुझ्ने छन् । आशा छ जोयाले नेपाल फर्किएपछि सञ्चारमाध्यममा आदर्श गृह र मिना खरेल बारे पक्कै बोल्नेछिन् । अन्त्यमा, जोया, जीवन र परिवारको जीवन सुखमय बितोस । शुभकामना । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय