सुनिल न्यौपाने, काठमाडौं
मलेसियाले रोजगारीका लागि आउने कामदारको भिषा वान स्टप सेण्टर मार्फत दिने निर्णय ग¥यो । भिषा जहाँसुकैबाट लगाएपनि त्यो नेपालीका लागि चासोको कुरा हुने थिएन । तर त्यहि नाममा फेरी एकपटक मलेसियाले हातपाखुरा बजारेर परिवारको दुई छाक टार्न जाने नेपालीकै खल्तीमा हात हाल्न खोजेको छ । अर्थात अवैधानिक रुपमा बसेकाहरुलाई बैधानिक बनाउने नाममा कमाउने ध्याउन्नमा लागेको मलेसियाली सरकार अहिले वान स्टेप सेण्टरको नयाँ पसल थापेर बसेको छ ।
रोजगारीका लागि आउन चाहने कामदारसँग रकम असुल्न खोज्ने मलेसियाको यो नै पहिलो प्रयास पनि होइन । यसअघि भिएलएनको नाममा पनि उसले खेती सुरु गरेको थियो । नयाँ ठेकेदार स्वयं मलेसियाली सरकारले नै खडा गरिदिएपछि अहिले हरेक नेपाली कामदारले ति ठेकेदारलाई प्रतिव्यक्ति ३९ सय बुझाउनु परिरहेको छ । माइग्राम र बायोमेट्रिक कामदारबाट रकम असुल्ने थप बाटाहरु हुन् । अर्थात रोजगारी गर्न जाने कामदारको थाप्लोमा आर्थिक भार थपिंदो छ ।
कामदारसँग रकम असुुल्ने मलेसियाको यो सिलसिलाले के प्रष्ट हुँदैछ भनें मलेसियाको रोजगारी अव सहज छैन । यसमा व्यवसायीहरुले भन्दै आएको फ्रिभिषा, फ्रिटिकट नीति कारक होइन भन्ने कुरा स्वयं मलेसियाले बढाउँदै लगेको लागत खर्चले पनि प्रष्ट हुन्छ । एकातिर चर्को लागत खर्च र अर्कातिर ठूलो असुरक्षाका बीच गर्नुपर्ने कामले मलेसिया अव नेपालीका लागि उति रुचिकर गन्तव्य रहने छैन । विदेशी कामदार लिन रोकेर अवैधानिकलाई बैधानिक बनाउने बाटोमा लागेको मलेसियाले तीन बर्षभित्रमा १५ लाख बंगलादेशी कामदार ल्याउने सम्झौता गरेर तथा सुरक्षा गार्डमा श्रीलंका तर्फ आँखा लगाउनुले पनि मलेसियाको गुम्दो रोजगारीलाई नै ईंगित गर्दछ ।
यीनै कारणहरुले गर्दा दुई बर्ष अघिसम्म नेपालीको मुख्य गन्तव्य मुलुकका रुपमा रहेको मलेसिया गएको बर्ष तेश्रो गन्तव्यमुलकमा झर्यो । र, यहि क्रममा लागत खर्च बढ्दै जाने हो भनें चालु बर्षमा यो घटेर युएई भन्दा कममा आइपुग्नेछ । फलस्वरुप लाखौंको संख्यामा मलेसियामा रहेको नेपाली पनि क्रमशः कम हुँदै जानेछन् । किनकी पछिल्लो समयमा मलेसिया जाने भन्दा त्यहाँबाट फर्किनेको संख्या धेरै छ ।
पछिल्लो बर्ष मलेसियामा रोजगारीको अवशर खुम्चिएपछि सवैभन्दा धेरै नेपाली साउदी अरव गए । त्यसैले गत बर्ष नेपालीको पहिलो गन्तव्य मुलुक साउदी बन्यो । तर पछिल्लो समयमा साउदी अरवको रोजगारीको अवशर पनि खुम्चिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा अन्तराष्ट्रिय बजारमा आएको गिरावटका कारण त्यहाँ रोजगारीका अवशरहरु कमजोर भएका छन् । त्यसैले साउदी अरवका कतिपय कम्पनिहरुले अनिवार्य विदा, समयमा तलव भुक्तानी गर्न नसक्नु लगायतका समस्याहरु बढेर गएका छन् । यसले मलेसियाको रोजगारीलाई प्रतिस्थापन गर्नेगरी अगाडी आएको साउदी अरबको रोजगारी पनि नेपालीका लागि क्रमशः कमजोर भएको छ ।
यो अवस्थाको पक्कै पनि सरकारी अधिकारीहरुले राम्रोसँग विश्लेषण गरेका छन् । हुन त भूकम्प पश्चात नेपालमा नै रोजगारीका अवशरहरु बढेका छन् । तर औद्योगिक विकास उकालो नभई ओरालो लागेको अवस्थामा रोजगारीका अवशरहरु त्यति धेरै बृद्धि भएका छैनन् । यो अवस्थामा तत्कालिन हिसावले बैदेशिक रोजगारी परिवार, समाज र देशका लागि आर्थिक मेरुदण्ड नै हो । त्यसो भए अव नेपाली युवाका लागि बैदेशिक रोजगारीको गन्तव्य कहाँ हो त ? के यस विषयमा छलफल गरिएको छ त ? सम्भावित नयाँ गन्तव्यको खोजिका लागि अव ढिलो गरिनु हुन्न । आगो लागिसकेपछि कुवा खन्न दौडिने बानी त्याग्न र बेला छँदै सम्भावित उपायका बारेमा छलफल गर्न अग्रसर हुनुपर्दछ ।