भिजिट भिषा, अरवको मृत्यु र रातो बाकसको पर्खाइ

 

मेघराज सापकोटा, युएई

बिदेश गएर पैसा कमाई श्रीमती र बालबच्चा सहित सुखी जीवन जीउने सपना बोकेर भिजिट भिषामा युएई आएका एक नेपाली आज ६ सेप्टेम्बरका दिन रातो बाकसमा नेपाल फर्किए । गत अगस्त २६ तारिकका दिन हृदयघात भई मृत्‍यु भएका केरबानी ढिकार ६ रुपन्देहीका दिपेश सुनारको शव विश्वकर्मा समाज र दलित एकता सञ्जाल युएईको सहयोगमा नेपाल पठाइएको हो । शव नेपाल पठाउन ९ हजार २ सय ३० दिर्हाम (२ लाख ७० हजार रुपैयाँ) खर्च भएको कृश सुनारले बताएका छन । 

दुबई आउनु ४० दिन अगाडी बाबु गुमाएका मृतक सुनार २२ अगस्तका दिन आफ्नी दोजिया श्रीमतीलाई नेपाल छोडेर काम खोज्नको लागि युएई आएका थिए । नेपालमा उनका १ छोरा छन भने श्रीमती ४ महिनाकी गर्भवती छिन । २ जना आमा मध्ये जेठी पट्टिका उनी एक्ला छोरा हुन । उनले युएईको भिजिट भिषाको सेटिङको लागि १ लाख रुपैयाँ ‘ईमान्दार’ एजेन्टलाई बुझाएका थिए । ‘ईमान्दार’ यो अर्थमा कि युएईमा भिजिट भिषामा आउनेहरुले ३ देखि ५ लाखसम्म तिर्ने गरेका छन ।

उनलाई दुबई आउनको लागि सहयोग गर्ने दिपेशका साथी हेम गुरुङका अनुसार दिपेश मिलनसार ब्यक्ति थिए । ४ दिनको बसाईमा उनले कुनैदिन पनि मदिरापान नगरेको उनको भनाई छ । आर्थिक अवस्था दयनीय भएका उनी यस अघि रुस गएका भएपनि त्यहाँ काम गर्ने स्थिती नभए पछी युएई आएका थिए । 

“दिपेश काम खोज्दै रुस गएका थिए तर भनेजस्तो नभए पछी मेरै सहयोगमा युएई बोलाएको हुँ” उनले भने । दिपेशलाई युएई आउनको लागि हेमले १७ सय दिर्हाम (५० हजार रुपैयाँ) सहयोग गरेका थिए । दिपेश युएई आएपछी उनले पठाएको पैसा सहित ल्याएको १ हजार डलर मध्येको ३ हजार दिर्हाम हेमलाई राख्न दिएका थिए । 

“दिपेश त छोडेर गयो सर, मैले सापटी दिएको १७ सय दिर्हाम्स पनि राख्न मन लागेन । शव लिएर गएका दिपेशका काका धन बहादुर सुनारलाई पैसा फिर्ता गरिदिएँ, हेमले भने, मैले सकेको सहयोग गरेको हुँ ।”    

भिजिट भिसामा इन्सुरेन्स गर्न सकिने भए पनि दिपेश सुनारको भने इन्सुरेन्स गरिएको थिएन । भिजिट भिषामा युएई आउनको लागि इन्सुरेन्स अनिवार्य नगरिएको हुनाले प्रायः नेपाली बिना इन्सुरेन्स नै आउने गरेका छन । इन्सुरेन्स नगरी आएमा बिरामी भएको खण्डमा उपचार खर्च महँगो छ । मृत्‍यु भएमा पनि शव पठाउन लाग्ने खर्च मृतकका आफन्तले नै व्यहोर्नु पर्दछ ।

सुनारको शवलाई नेपाल पठाउनको लागि लाग्ने खर्च नेपाली कामदारहरुसँग संकलन गरिएको विश्वकर्मा समाज युएईका अध्यक्ष बाबुराम विश्वकर्माले बताए । “हामीले नेपाल सरकारको माथिल्लो निकाय तथा राजनीतिक दलका नेताहरुसँग कुरा राख्ने प्रयास गर्यौ तर कसैले सुनेनन” उनले गुनासो गरे । 

…………………………………..

एक पटक आँखा बन्द गर्नुहोस् । माथिको फोटोलाई सम्झनुस् । तपाईं दिपेश कदापी नहुनुस् तर भएको कल्पना गर्नुस् न । तपाईंको छोरो ४ बर्षको छ । २५ बर्ष उमेर नकटेकी श्रीमती छिन । त्यही पनि केही महिना पछी सुत्केरी हुँदैछिन् । 

अनी जागिर खोज्न गएको बेला दुरदराज अरबमा तपाईंको मृत्‍यु भयो । तपाईंको मृत्‍यु भएको खबरको कयौ दिनसम्म पनि तपाईंको शव बिदेशको अस्पतालको मुर्दा घरमा पल्टिरहेछ। रातदिन ५० डिग्रीमा पसिना चुहाउने नेपाली दाजुभाईले १०/२० दिर्हाम चन्दा दिएर तपाईंको शव नेपाल पठाउनु पर्ने अवस्था ।   

श्रीमती रोएर छिनछीनमा बेहोस् छिन । नदी किनारको त्यो घाटमा उनको बेहोसी चिच्याहट ! छोरोलाई आमा किन रोईन के थाहा ? घर र नदी किनारामा यती बिघ्न मान्छेहरु किन भेला भए के थाहा नाबालकलाई ? आमा रोएको देखेर जन्ती र मलामी छुट्याउन नसक्ने त्यो निर्दोश बालकको आँखामा आसुँ झर्दाको अवस्था ! कल्पना गर्नुभो ? 

अबको बाँकी जीवन कसरी जीउने ? छोरोलाई कसरी पढाउने ? श्रीमान बिदेश जाँदाको ऋण कसरी तिर्ने ? हे दैब ! खाउँखाउँ र लाउँलाउँको यो उमेरमा किन लाग्यो दिपेशलाई ?

जिन्दगीको यस्तो मोडमा हरेक बिहानीको उज्यालो सँगै त्यो रातो बाकस आज आउँछ कि भोलि आउँछ भन्दै कसरी बसिन होली ? आज पेटमा भएको उनको बच्चाले भोली सोध्नेछ, आमा मेरो बाबा खै ? त्यो बेला उनी फेरी रुनेछिन । अनि त्यसको उत्तर कसले दिने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय