‘ज्या है मलेसियाको रोजगारी गुम्यो भनेर नेपालीले पुर्पुरोमा हात राख्नु पर्दैन’

 

सुदीप निउरे, भदौ २१, क्वालालम्पुर

बिगत १५ महिना यता मलेसिया आउने नेपाली कामदारहरुको संख्या अत्यन्तै घटेको छ । अघिल्लो बर्षको असार महिना देखिनै नेपाली कामदारहरु यता आउन छोडेका छन्। बिगत बर्षहरुको तुलना गर्ने हो भने अहिले मलेसिया आउने नेपाली कामदारहरुको संख्या नगन्य वा सामान्य भन्दा फरक पर्दैन । नेपाल सरकारले लागु गरेको फ्रिभिसा, फ्रिटिकटको नीति पछि नेपाली कामदार मलेसिया आउने क्रम ओरालो लाग्यो । सरकारले लागु गरेको नीतिले कामदार मलेसिया आउन रोकिए या कामदार स्वयम आउन छोडे भन्ने दुर्इवटा कुरा बिश्लेषण गर्ने हो भने पनि  यि दुुबै कुराले उत्तिकै महत्व राख्ने देखिन्छ । 

पछिल्लो तथ्यांक अनुसार झन्डै ५ लाख नेपालीले यहाँ काम गरिरहेका छन् । दुर्इबर्ष अघिसम्म १० लाख देखि १२ लाखसम्म नेपालीले यहाँ काम गर्ने गरेको यहाको सरकारी तथ्यांक छ । 

मलेसियामा काम गर्ने नेपालीको संख्यामा भारी मात्रामा गिरावट कसरी आयो ? यसरी एकाएक नेपाली कामदार मलेसिया आउने क्रम रोकिनुमा नेपाल सरकारले चालेको फ्रिभिसा फ्रिटिकटको कदम नै मुख्य कारक तत्व हो त ?   फ्रिभिसा फ्रिटिकटको कदम अगाडी देखिए पनि यस बाहेकका केहि सन्दर्भ पनि यस बिषयमा जोडीन आई पुग्दछन । नेपाल सरकारले चालेको कदमबाट सबै ठप्प भयो भन्ने बुझाई आम जनमानसमा परेको भएपनि कामदार यता आउन नचाहनुको पछाडी मलेसियाको सुरक्षा अवस्था नै प्रमुख रुपमा जोडीन आई पुग्दछ । यस बिषयलाई मुल्यांकन गर्न तपाई हामीले खाडीका मुलुकहरुमा रहेका नेपालीहरुको अवस्था कस्तो छ भन्ने कुरालाई मध्यनजर गर्न सक्छौ । मलेसियाको सुरक्षा अवस्था नाजुक भएर खाडी मुलुकको सुरक्षा ब्यवस्थामा आमूल परिवर्तन भएको त पक्कै होईन होला । कुरा यत्ति हो की खाडीका मुलुकमा काम गर्ने नेपालीले आफुलाई मलेसियामा काम गर्ने नेपाली भन्दा सयौ गुणा सुरक्षित महसुस गर्न सक्छन । गर्ने काम भलै कष्टकर किन नहोस । 

हरेक नागरिकमा स्वतन्त्र भएर हिड्न, डुुल्न, बोल्न ,खान, काम गर्न पाउने नैसर्गिक अधिकार निहित हुन्छ । चाहे उ देशमा होस या परदेशमा । तर मलेसिया बसेर काम गर्ने आप्रवासी कामदारले यस्तो खाले कुनै आभाष महशुुष गर्न सक्दैन । यदि मलेसियामा राम्रो सुरक्षा ब्यवस्था हुने थियो भने  नेपाल सरकारले ल्याएको  फ्रिभिसा, फ्रिटिकटको कदमले नेपाली कामदारलाई मलेसिया आउन कहिल्यै रोक्न सक्ने थिएन । जुन कुरा बर्षौदेखि रोजगारीका लागी बिदेश जाने नेपालीले ७० हजार  र  ८० हजार सम्मको बिल हातमा लिएर अध्यागमनमा देखाउने र मेनपावरमा २ लाख देखि ३ लाखसम्म बुुझाउने कुराले प्रष्ट पार्दछ । नेपाल सरकारले चालेको फ्रिभिसा, फ्रिटिकटको कदमलार्इ जनताले साथ दिएको कुरामा भने कुनै दुइमत छैन । 

मलेसियाले फ्रिभिसा, फ्रिटिकटबारे बिल्कुलै चासो नदेखाएपछि नेपाल सरकार मलेसियासंग झुक्न बाध्य बनेको देखिन्छ । मलेसियामा कामदार पठाउन बर्षौ देखि पखाईमा बसेको बंगलादेशका कारण पनि नेपालको योजना बिफल बन्न पुगेको हो। नेपाल सरकारको योजना बिफल बनाउनमा मलेसिया, बंगलादेश र नेपालका मेनपावर ब्यवसायी सफल बन्दैछन् । 

अबको केहि समयमै बंगलादेशी कामदार मलेसिया आउन शुरु गर्दैछन । जहां आवश्यकता हुन्छ त्यहाँ आवश्यकता पुर्ती गर्ने बिकल्प प्रशस्त भेटिन्छन भने भाउ खोज्ने देशलाई कस्ले पो स्थान दिन्छ र ? यस्तै भएको छ यतिबेला नेपाल र मलेसियाबिच कामदार लेनदेनको सम्झौता । 

नेपाल सरकारले फ्रिभिसा, फ्रटिकटको अडान एक बर्ष भन्दा बढि समयसम्म जारी राखे पनि मलेसियाले टेरपुच्छर नलाएपछि प्रधानमन्त्रि प्रचण्ड नेतृत्वको सरकार आए लगत्तै त्यसलाई बदल्ने मनसाय सार्बजनिक भैसकेको छ । यसबाट सहजै अनुमान लगाउन  सकिन्छ कि मलेसिया आफ्नो सर्त बमोजिम मात्र अगाडी बढ्ने कुरामा दृढ छ । बर्षौ देखि नेपाली कामदारको पहिलो  रोजगार गन्तब्य रहँदै आएको मुलुक मलेसिया यतिबेला अन्य मुलुककै दाँजोमा पुगी सकेको छ । खाडीका देश लगायत नेपाल सरकारले कामदार पठाउने मुलुक भन्दा सधै अगाडी रहने मलेसिया पछाडी पर्नाका कारणहरु प्रसस्त छन ।  

केहि कारणहरु यस्ता छन जुन यहाँ बुँदागत रुपमा उल्लेख गरिएको छ । 

१. दलाल तथा मेनपावरले भने बमोजिमको र सम्झौता अनुसारको काम  नहुनु । 

२. स्थानियबाट चोरी, लुटपाट र कुटपिट हुनु । 

३. स्थानिय प्रहरीबाट सुरक्षा भन्दा सास्ती बढी पाउनु । 

४. कामदार सम्बन्धित काममा निपुर्ण नहुनु । 

५. काम, बस्ने ठाउँ र रोजगारदाताको ब्यवहार राम्रो नहुनु । 

६. सम्बन्धित मुलुकमा रहेको राजदुतावासको सक्रियता न्यून हुनु। 

७. तीन बर्षसम्मको भिषा अवधि लामो हुनु  । 

८. कतिपय कम्पनिमा समयमा तलव हात नपर्नु । 

९. कतिपय कम्पनिले तलबै नदिनु । 

१०. प्रत्येक दिन १२ घण्टासम्म काम गर्नु पर्ने । 

११. छुट्टी नहुनू । 

१२. ओभर टाईम नहुनु । 

१३. बढ्दो महंगी

१४. हजार बेशिक अपर्याप्त हुनु ।  

१५. राहदानी कम्पनी मालिकको साथमा हुनु 

यी र यस्तै कारणहरुको चर्को चेपाईमा परेपछि नेपाली कामदारको पहिलो रोजगार गन्तब्यको पगरी मलेसियाबाट खोसीन पुगेको हो । मलेसियन रोजगारदातामा यस्तो छाप कायम छ कि नेपाली कामदारलाई जस्तो भन्यो त्यस्तै हिसाबबाट काममा लगाउन सकिन्छ भन्ने । मलेसियामा १५ लाख बंगलादेशी कामदार आएर सबै कामदार अभावको खाडल पुरेपनि नेपाली कामदारको याद भने रोजगारदातामा आई रहने पक्का छ । नेपाली कामदार आवश्यकता प्रति चासो नदिए पनि मलेसिया सरकारसँग आफ्ना कामदारको सुरक्षा ग्यारेन्टी माग गर्न राज्यले छोड्नु हुँदैन ।

यदि नेपाल सरकारले आफ्ना नागरिक, कामदारको रुपमा मलेसिया पठाउने हो भने सबै भन्दा पहिले उनीहरुको हकहितका लागि मलेसियासँग श्रम सम्झौता गर्न जरुरी छ । मलेसिया जतिसुकै मौन बसोस् तर श्रम सम्झौता बिना कामदार पठाईए त्यो आम नेपाली नागरिकका लागि घातक हुनेछ । सरकार कडारुपमा प्रस्तुत हुने हो भने नेपालसँग श्रमसम्झौता गर्न मलेसिया सहमत हुने पक्का छ । 

यसको ठोस सबुत यो हो की नेपाली कामदार मलेसियामा काम गर्ने अन्य मुलुकका कामदार भन्दा सयौं गुणा ईमान्दार, स्वच्छ छविका आज्ञाकारीको रुपमा मानिन्छन । मलेसिया सरकार होस या रोजगारदाता कम्पनि उनीहरुको नम्बर एक रोजाई नेपाली कामदार नै हुन भन्नेमा कुनै दुईमत छैन । राज्यस्तरबाट कुनै खाले पहल कदमी नगर्ने हो भने मलेसियाबाट फर्किने नेपालीको लर्को केहि समय अहिले जसरी नै जारी रहन्छ र अवका केहि बर्षमा नै मलेसिया नेपाली शुन्य हुने पक्का छ । मलेसियाले नेपाली कामदार नलिएमा लौ वरवाद भो भन्ने पछुतो सायद कोहीपनि नेपाली नागरिकलाई लाग्ने छैन । तर राज्यले अर्को सुरक्षित बैदेशिक रोजगार गन्तब्य खोज्न या मुलुक भित्रै प्रसस्त रोजगारी सिर्जना गर्न जरुरी छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय