
मोहन बस्याल , दुबई
बर्षौदेखि अदुरदर्शी र स्वार्थी राजनीतिक नेतृत्वका कारण निराशामा जीवन विताउन बाध्य नेपाली नागरिकले आज भोली कसैले विकासका कुरा गर्यो भने विश्वास गर्दैनन् । दुरदर्शी कुरा गर्यो भने त झन पत्याउने कुरै भएन । २० बर्ष अघि देखिको मेलम्ची काठमाडौं आएको छैन । कसरी पत्याउने ? दुबईमा अझै पनि कुनै एउटा नेपाली नागरिकको ज्यान गयो, दुर्घटनामा पर्यो, काम दिने कम्पनीको कारण अलपत्रमा परे भने चन्दा उठाउनु पर्छ । नेपाली रकमका हिसावले अर्ब, करोडौ खर्च हुने कल्चर हाउसको निर्माण तत्काल असम्भव नै देखिन्छ । तर पनि आज मलाई दुबईमा नेपाली कल्चर हाउस सम्भव छ भनेर मनचिन्ते गन्थन गर्न मन लागेको छ । किनकी दुबईमा हुने कल्चर हाउसले बिश्वमा नेपाली संस्कृति चिनाउन महत्व राख्छ । नेपाली झण्डा वाहक बिमान दुबईको आकाशमा उड्न फेरी शुरु गरेपछि यस्तो बहस गर्न मन अलि खुकुलो भएको छ ।
युएईमा भएका कार्यक्रममा पुग्दा जहिले पनि म चितवनको क्यान्सर अस्पतालमा भएको अडिटोरियम हल सम्झने गर्छु । कास त्यस्तो हल यहाँ हुन्थ्यो भने नेपाली संघ संस्थालाई कार्यक्रम गर्न कति सहज हुन्थ्यो होला ? कम से कम नारायणी कला मन्दिरको जत्तिको हल भएपनि धेरै सहज रुपमा भब्य कार्यक्रम हुन्थे । तर महँगा होटलका साँघुरो हलमा कार्यक्रम गरिने गरेका कारण ब्यवस्थापन गर्न भइरहेको कठिनाई देखेर मेरो मनमा नेपाली कल्चर हाउसको कुरा खेल्न थालेको हो ।
अन्य मुलुकका नागरिकको ध्यान खिच्न
म डेढ बर्ष अघि दुबई आएको हुँ । करिब पाँच महिना म सार्वजनिक कार्यक्रममा गईन । एक त जान सम्पर्क थिएन अर्को उतिसारो चासो पनि थिएन । तर नेपाल पत्रकार महासंघका साथीहरु भुपराज बस्याल, लक्ष्मण खनाल, त्रिलोचन कोईराला लगायतका साथीको संगतले फेरी सार्वजनिक कार्यक्रममा तानिन पुगे । नेपाल पत्रकार महासंघ, युएईका तात्कालिन अध्यक्ष अर्जुन दाहाल लगायत एन आर एन ए, नेपाली समाज तथा बिभिन्न नेपाली संस्थाका पदाधिकारीले देखाएको स्नेहले पनि यस्ता कार्यक्रममा म तानिन पुगे । यसबीचमा नेपाली संघ संस्थाले आयोजना गरेका झण्डै ३० वटा कार्यक्रममा म यो बीचमा पुगी सके । ति मध्ये आधा कार्यक्रम सांस्कृतिक र सांगितिक कार्यक्रम नै थिए । कार्यक्रम बिभिन्न उद्धेश्यले आयोजना गरिएका हुन्छन् ।
कार्यक्रमबाट बचत भएको रकम नेपालीमा वा युएईमै रहेका दुःखमा परेका नेपालीलाई सहयोग गर्ने घोषणा पनि गरिएको हुन्छ । कार्यक्रमका आयोजक तथा उद्घोषकले यस्ता कार्यक्रमले नेपालको कला संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्याउने, पर्यटन प्रवद्र्धन गर्ने कुरा पनि बोलि रहेका हुन्छन् । तर यस्ता कार्यक्रममा छिटपुट रुपमा भारतीय नागरिक बाहेक अन्य मुलुकका नागरिकको सहभागिता मैले देखिन । एक सय बीस देशका नागरिक ब्यवसाय, रोजगारी तथा पर्यटनका लागि बस्दै आएको मुलुकमा हुने नेपाली सांस्कृतिक कार्यक्रमका बिदेशीका लागि चासो नै हुँदैन त ? नेपाली गित संगित र नृत्य अरु देशका नागरिकलाई मन पर्दैन होला त ? यस्तो पक्कै पनि होईन । हामीले नेपाली कल्चर हाउस निर्माण गरेर नियमित रुपमा नेपाली मौलिक कला संस्कृतिको प्रर्दशन गराउन सक्यौ भने पक्कै पनि उनीहरुले मन पराउने छन् । यसले नेपालको पर्यटन प्रर्वधनमा पनि पक्कै फाईदा पुर्याउन सक्छ ।
कल्चर हाउसमा कस्ता सुविधा हुनु पर्छ ?
कम्तिमा एक हजार जना ब्यक्ति आरामले बसेर हेर्न मिल्ने अडिटोरियम हल होस् । झण्डै आधा मानिसलाई कार्यक्रम सकिनु अघि उभिएर नाच्न मिल्ने स्टेज र दर्शक दिर्घा बीचमा खुल्ला ठाउँ पनि होस । आमन्त्रित अतिथि र दर्शकहरु आउ जाउँ गर्ने अलग अलग ढोका होस । पार्किङ सशुल्कै भएपनि कल्चर हाउस भएकै ठाउँमा होस ।
दुबईमा मुस्लिम बाहुल्य संस्कृति छ । समय अनुसार नमाज पढ्ने छुटटै कोठा होस । मन्दिर, चर्च र गुम्बा पनि होस । जुन सकै जात धर्मका मानिस आएपनि म गलत ठाउँमा आएँ भनेर उसलाई कहिल्यै महसुस नहोस ।
एउटा तलामा क्यान्टिन होस जहाँ नेपाली परिकार हरेक शुक्रबार आउँदा फेरी फेरी खान पाईयोस । एन आर एन ए , नेपाली समाज र नेपाली दुतावासका सम्पर्क कार्यालय वा सम्पर्क ब्यक्तिलाई जुन कुनै बेला जाँदा त्यहाँ भेट्न पाईयोस । नेपाली भाषामा कुरा गरेर टिकट काट्न पाईने नेपाली लगानीका ट्राभल्स, घर पैसा पठाउने नेपाली लगानीका एक्सचेन्ज हुन् । ढाका टोपि किन्ने र दौरा सिलाउने ठाउँ खोज्न भौतारिनु नपरोस ।
नेपाली नागरिकले कम्युटरको एउटा कुनै सफ्टवेयर चलाउन नजान्दा प्रमोसन नभएर बर्षौ देखि एउटै पदमा बसि रहेका छन् उनीहरुले शुक्रबार शुक्रबार आएर त्यस्ता सफ्वेयर चलाउन सिक्ने ठाउँ होस । एउटा काममा दुई बर्ष बिताएपछि अर्को कामका लागि आवेदन गर्न सिभि बनाउने, अन्र्तवार्ताको लागि सहजिकरण गर्ने छोटा अवधिका तालिम सिक्न सहजिकरण गर्ने सहयोगी समाजसेवी भेटियोस ।
के के परिवर्तन आउला ?
नेपाली संघ संस्थाले गर्ने कार्यक्रम अहिले एकै दिन दुई तीन ठाउँमा देखिन्छ । जाडो महिनामा हुने बनभोजको कार्यक्रम त एकै दिन पाँच ठाउँमा पनि हुने गरेको छ । सुविधा सम्पन्न कल्चर हाउस बनेपछि सायद एकै दिन कार्यक्रम नजुधाएर तालिका निर्माण गरि अग्रिम बुकिंग गर्ने प्रचलको बिकास हुने आशा गर्न सकिन्छ । फरक फरक स्थानमा कार्यक्रम हुने हुँदा खोज्दै घुम्नुपर्ने, ट्याक्सिलाई पैसा तिर्नुपर्ने , पार्कमा टिकट काट्नु पर्ने रकम एकमुष्ट बुझाएर सहज रुपमा कार्यक्रम स्थल पुग्न सजिलो हुन्छ। कार्यक्रम नजुध्ने र पार्किङको पनि सुबिधा हुने भएकाले कार्यक्रम समयमा शुरु गर्न र समापन गर्न सहज हुने छ ।
नेपालमा एउटा सहकारीले कार्यक्रम गर्दा उस्तै आसपासका सहकारीका प्रतिनिधिलाई पनि अतिथिको रुपमा आमन्त्रण गर्ने प्रचलन छ । राजनितिक दलले कार्यक्रम गर्दापनि अन्य राजनितिक दलका प्रतिनिधिलाई आमन्त्रण गर्ने चलन छ । कुनै एक मानव अधिकारबादी संस्थाले कार्यक्रम गर्दा अन्य सबै अधिकारबादी संस्थाका प्रतिनिधि बोलाउने चलन छ । मैले सोच्थे दुबईमा नेपाली समाजले कार्यक्रम गर्दा भारतीय, पाकिस्तानी, बंगाली, फिलिपिनो लगायतका देशका संस्थाका प्रतिनिधि पनि डाकिदो हो । उनीहरुका कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि पनि डाकिदा हुन् । तर त्यो स्तरमा जनसम्पर्क बढाउने उनीहरुलाई नेपाली कला संस्कृति देखाउन उनीहरुलाई नेपालको पर्यटन गर्न लोभ्याउने प्रयास नहुँदो रैछ । अधिकांश कार्यक्रम त स्थानीय कानुनका हिसाबले हेर्दा अबैध कृयाकलाप हुँदो रैछ ।
नेपाली सांस्कृतिक घर बन्यो भने अरु केही नभए उद्घाटन दिन भएपनि दुबईका शेख आउलान । मिडिया कभरेजले नेपाल तर्फ विश्वका बिभिन्न मुलुकका नागरिकको ध्यान खिच्ला भन्ने आशा छ । नियमित रुपमा हुने कार्यक्रममा पनि यहाँका स्थानीय नागरिक बाहेक पनि बिभिन्न मुलुकका ब्यवसायीलाई बोलाउन सकियो भने नेपालको पर्यटन प्रर्वधनमा सहयोग पुग्न सक्छ ।
आशा
युएईमा क्रियाशिल रहेको आदीबासी जनजाति महासंघले आदिबासी जनजाति दिवसको अवसरमा गर्ने कार्यक्रममा मिनि नेपाल उत्सब गर्ने तयारी गरेको छ । नेपाली भेष भुषा, गित, नृत्य र खानाको परिकारको ब्यवस्था गर्ने तयारी गरेको छ । यस अघि नेपाली समाजले आफ्नो २६ औ बार्षिकोत्सबको अवसरमा आयोजना गरेको कार्यक्रममा पनि नेपालका बिभिन्न कला संस्कृति झल्कने प्रस्तुती समेटेको थियो । पच्चिसौ बार्षिक उत्सवमा पुग्दा पश्चिमी शैलीको गितमा युवा युवती नाचि रहेको देख्दा मलाई नमज्जा लागेको थियो । यस पटक थोरै आशाबादी भएको छ । अब यस्ता कार्यक्रममा नेपाली मौलिक कला संस्कृतिलाई जोड दिने र बिदेशी नागरिकलाई पनि देखाउने प्रयास गर्न आवश्यक छ ।
(बस्याल युएईमा कार्यरत पत्रकार हुन)