कतारमा २८ जना अलपत्र, सहयोगको अपिल 

रवि रोषी, दोहा

दोहा सहर देखि करीब ५० किलोमिटर टाढा उकेर भन्ने एउटा लेबर क्याम्पको ढोकाबाट पस्ने बित्तिकै चोटामाथि सिधा माथिल्लो तल्लामा अवस्थित भान्साघर र स्नानागार तथा शौचालयबाट ढलान छिचोलेर रसाएका पानीका थोपाहरु तप्पतप्प टाउकोमा चुहिरहेको थियो । रंगरोगन गरेको सिलिंग भएपनि पानीको रसानको कारणले रंगका पाप्राहरु घामले सुकेका आँगनका लेउमाटो झैं परक्क बटारिएर सुत्ने विस्तारामा खसिरहेको थियो । एसी २ वटा छन्, तर फिटिक्क चिसो फाल्ने हुति नभएका एसीले तातो हावामात्र कोठाभित्र फालिरहेको थियो ।

कोठामा १० वटा डबल डेक्कर बेड सकिनसकि खाँदेर अटाईएको छ । त्यहि डेबल डेक्कर बेडमा घानाका कामदार र नेपाली कामदार गरेर २० जना सुत्ने गर्छन् । कसले कस्तो गन्धको श्वाश फेरिरहेको छ भन्ने कुरो निस्सासिँदो त्यो कोठामा सहजै पत्ता लगाउन सकिन्थ्यो । २० जनाको शरीरबाट प्रवाहित ताप, आगोमा बसालेर निकालेको हाँडी झैं रापिलो बाफिने कोठामा सबै नेपाली दाजुभाईहरु पसिनाले नुहाए जस्तै गरी देखिन्थे ।

विभिन्न तह र दर्जामा काम गर्न आएका नेपाली दाजुभाईहरु कुल २८ जना गत अप्रिल देखि तलब नपाएर बसेका भन्ने जानकारी प्राप्त भएपछि अन्तर्राष्ट्रिय नेपाली समाज, नयाँशक्ति दोहा कतारको सहयोगमा म त्यो ठाउँमा पुग्दा तत्कालिन अवस्थाको नेपाली दाजुभाईको सचित्र अवस्था देख्दा आफैंलाई भाउन्न भएर आयो ।

धनुषा, महोत्तरी, सर्लाही, बाग्लुङ, बाँके, रुपन्देही, सिराहा, कन्चनपुर जिल्लाका गरी तलब नपाएर बसेका ति नेपाली दाजुभाई कतार स्थित नेपाली राजदुतावास नपुगेका पनि होइनन् । दुतावासले अन्य दुतावास जाने पिडितलाई दिने गरे जस्तै रेडिमेड आश्वाशन दिएर लेबर कोर्ट जानु भनेर पेपर थमाएर त्यहाँबाट विदावारी गरेर पठाएछ । अरबी अक्षर बुझ्न नसक्ने भाषिक कठिनाई भएका ति नेपाली दाजुभाईलाई डकुमेन्ट मिलेन भन्दै पटक पटक लेबरकोर्टबाट फर्काइएछ ।

त्यसका लागि ४, ४ पटकसम्म के कसो गरेर हुन्छ, उद्धार गरी नेपाल जाने निकास निकालिदिनुपर्यो भन्दै दुतावासमा गएर अनुनय गर्ने काम पनि ति पिडितले गरिरहे । अन्त्यमा दुतावासले सबै कामदारको आइडि, आफुलाई पठाउने म्यानपावर कम्पनीको नाम लिएर आउनु भन्ने उर्दी पछि त्यो सबै पुर्ण विवरण पनि उपलब्ध गराएछन् । सिनामंगल स्थित आस्था म्यानपावर यस अघि नै ब्ल्याकलिष्टमा परेर बन्द भइसकेको, चक्रपथ स्थित प्रोग्रेसिभ म्यानपावर र गौशालास्थित अल अजिज म्यानेजमेन्ट एण्ड आउटसोर्सिङ गौशालामा ८० हजार देखि १ लाखसम्म बुझाएर आएको समेत दुतावासमा पेश गरेछन् ।

कागज बुझ्ने काम भयो, दुतावासमा अरबी भाषामा दख्खल भएका पिआरओ पनि राखेका छन्, तर उनीलाई हाम्रो समस्याको समाधानको लागि सम्बन्धित निकायमा पठाउने कुनै पनि काम भएन । राम्रोसंग अंग्रेजी बोल्न दख्खल राख्ने बाँके नेपालगन्जका नयनसिंह रसाईलीले गुनासो पोखे । हामीहरुलाई लेबर कोर्टले पटक पटक कागजात पुगेन भनेर फर्काइरहँदा सहयोग माग्ने हाम्रो अन्तिम ढोका भनेको दुतावास हो । तर दुतावासबाट त्यो सहयोग प्राप्त हुन सकेन ।

अप्रिलबाट तलब नपाएको र भिषाको म्याद नाघेको ११ महिना भैसक्दा पनि आईडि रिन्यु नगरिदिएको हुनाले हामी कहिँ निँस्कदा पनि पुलिसको नजरबाट लुकेर हिँड्नुपरेको छ । पटक पटक लेबरकोर्ट धाईरहँदा लेबरकोर्टबाट हाम्रो कम्पनी मालिकलाई फोन गर्दा फोन नउठाएपछि अर्को कागजात तयार गरेर हाईकोर्टमा जान आदेश दियो । हाईकोर्टमा गएर हामीले कागजात बुझाएर के हामीले न्याय पाउन सक्छौं ? यदि पाउँछौं भने हामीले न्याय सहितको बक्यौता तलब कुर्न कति समय यहाँ बस्नुपर्छ ? यो प्रश्नको उत्तर न त दुतावासले दिन सक्यो, न त लेबरकोर्टबाट छिटो न्याय पाउने सम्भावना नै देखे ।

नेपाली राजदुतावासका श्रम सहचारी गिरीजा कुमारी शर्माले यति मात्र भनिन्ः हामीले तलबको लागि जोडदार पहल गर्ने कोशिश गर्दै गर्नेछौं, तर अहिलको सम्भावना भनेको तपाईंहरु नेपाल जान चाहनुहुन्छ भने ट्राभल डकुमेन्ट तयार गरेर निःशुल्क नेपाल फिर्ति पठाउन भने सक्दछौं । लेबरकोर्टको निर्णय आएपछि दुतावासले बल्ल थप कानुनी प्रकृयामा अघि बढ्ने कुरा बताएको नयनसिंह रसाईलीले बताए ।

दुतावासका भनाईबाट कायल भएका अलपत्र सबै नेपाली दाजुभाईहरुले भिडमा कराउँदै भने, हामी कतारमा मस्ती गर्न आएका हैनौं, पसिना बगाएर कमाएर स्वास्नी छोराछोरीको दुःख पार लगाउन यहाँ आएका हौं । हाम्रो श्रम कुनै देशको नागरिकले शोषण गरेर खान्छ र त्यो न्याय दिलाउन सक्ने अधिकार दुतावासमा हुँदाहुँदै किन अल्छी गर्छ बोल्न र अधिकार दिलाउनलाई ? अप्रिल देखि तलब नदिएको र ११ महिना देखि आईडी समेत नलगाईदिएपछि हामी कतारको कानून अनुसार अबैध भईसकेका छौं । त्यहि भएर हामीले जुलाई देखि काममा जान छोडिदियौं । त्यहि मध्येका तारा पुनले भने ।

कतारी साउदी कन्ट्रयाक्टीङ नामक कम्पनीमा कार्यरत २८ जना नेपालीका कम्पनी मालिक अष्ट्रेलियन नागरिक ओलित हुन् भने यस कम्पनीका महाप्रबन्धक जोर्डनका हसन नाम गरेका ब्यक्ति हुन् । हामीलाई बक्यौता तलब नदिएमा काममा नजाने बताएपछि हसनले नेपाली खल्लीबल्ली भन्दै कहिल्यै सम्पर्कमा आएनन् । हामीलाई तलब दिए काममा जानेथियौं । तलब नदिएपछि कसरी काममा जानु ? ठूलो मर्कामा परेका छौं । २८ जनाको लागि जम्मा २ वटा चूल्हो छ । एउटा ट्वाइलेट छ । दशैंमा चिउरा कुट्न जानेले झैं लामो समय देखि चूल्हो र ट्वाईलेटमा पालो पर्खेर बस्नुपर्छ । त्यहि मध्येका शंकर सुनुवारले हँस्यौलो पारामा जिस्किदै भने ।

भवन निर्माण सम्बन्धी काम गर्ने कम्पनीमा अलपत्र परेका २८ जना नेपालीको पिडादायी प्रवासको भोगाईलाई मोचन गरेर न्याय दिलाउने अन्तिम ढोका भनेको नेपाली राजदुतावास हो । जटिल नै भए परराष्ट्र मन्त्रालय हो । हालै मात्र नवनियुक्त प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजनको प्रधानमन्त्रीसंग सीधा कुरा मार्फत सार्वजनिक कार्यक्रम बीच यसो भनेका छन् ।

“कोही अस्पतालमा अलपत्र छन्, कतिको शव नेपाल ल्याउन सकिएको छैन, कतिपय कम्पनीबाट निकालिएका छन्, यो निकै दुखद कुरा हो” । “सरकारले यो विषयलाई प्रमुखकताका साथ लिएको छ । हामी विदेशमा दुख झेलिरहने अवस्था अन्त्य गर्न चाहन्छौं ।”

पटक पटक कतार भ्रमण गरी यहाको  समस्या मज्जाले बुझेका प्रधानमन्त्री दाहालले कतारको यो घटनालाई चुनौतीको रुपमा नहेरी उद्धार र सहयोग गर्न पाउनुलाई अवसरको  रुपमा नै हेर्नेछन् र त्यहि  अनुसारको आदेश सम्बन्धित निकायलाई शिघ्रातिशिघ्र दिनेछन भन्ने आशा लिएको छु ।

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय