
लक्ष्मण खनाल, युएई
पछिल्लो समयमा सरकारले बैदेशिक रोजगारीबाट फर्कनेहरुले लैजान पाउने काँचो सुनमा बन्देज लगाएपछि एउटा बहस तातेको छ, यो ठिक हो वा होइन । यसैगरी हुण्डी र भिजिट भिषाका बारेमा यस अगाडी देखि नै पर्याप्त बहस हुँदै आएको छ । हाल सुन बहसले युएईमा कार्यरत नेपाली श्रमिकदेखि नेपाली संघ संस्थाका अगुवा र एनआरएनएका पदाधिकारी पनि बहसमा उत्रिएका छन् । अर्थात फलाम तातेको छ । यहि तातेको फलाम उपयुक्त आकार दिनका लागि सहि समय हुन्छ ।
अहिले सुन बहससँगै उठेका विषयहरु धेरै सान्दर्भिक छन । यदी साँच्चै हुण्डी, तस्करी र भिजिट भिषाको समस्याहरु दिर्घकालिन समाधान तिर लैजाने हो भने अहिले युएईमा क्रियाशिल व्यक्तिहरुद्धारा सामाजिक सञ्जालमा लेखिएका सुझावहरुलाई पनि मनन गर्न आवश्यक छ ।
सुझावहरुलाई हेर्दा नेपाल सरकारको निरीहपना, भन्सार कर्मचारीको भ्रष्ट गतिविधिलाई गाली गर्ने देखि दलालहरुलाई सामाजिक बहिस्कारसम्म गर्नु पर्ने खालका छन् । सामाजिक संस्थाको आडमा समाजसेवा नाममा हुण्डी, तस्करी र भिजिट भिषाको कारोवारको जालो फैलाउनेहरुलाई नाङ्गेझार पार्नु अहिलेको अवश्यकता हो । सरकारले कारवाही गर्ने हो भनें सुन तस्करको नामावली नै तयार छौं भन्ने कुरा यहाँ क्रियाशिल पत्रकार देखि सामाजिक संस्थामा आवद्धहरुले भन्न थालेका छन् । त्यसैले यो उपयुक्त अवशर हो युएईस्थीत नेपाली दुतावासलाई पनि । अहिले निक्कै सक्रिय देखिएको दुतावासले यसमा पहल गरेमा नेपालीले नेपाली ठग्ने परम्परामा केहि नियन्त्रण हुन सक्छ ।
लुम्बिनी बेलफेयर सोसाइटीका महासचिव नरेन्द्र गिरीले कुनै पनि हुण्डीको कारोबार गर्ने व्यक्ति कार्यसमितिमा छ भने सो संस्थाको कुनै पनि कार्यक्रममा आफु उपस्थित नहुने प्रतिवद्ध भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सो घोषणा गरेका हुन् । उनी सबै एकजुट भएर यो प्रवृत्तीलाई निर्मुल पार्नुपर्ने धारणा राख्छन् ।
त्यसैगरी स्याङ्जा सहयोग समाज, युएईका भुतपुर्व महासचिव राम गुरुङले नेपाल सरकारले झिटि गुण्टा नियम परिवर्तन गरेर साँच्चै नै अबैध तस्करी रोक्न खोजेको हो भने आफु १५ जना सुन तस्कर र नाइकेको नामावली दिन तयार रहेको लेख्छन । उनले युएईमा ठूलै समाजसेवीको नामले परिचित रहेका व्यक्तिहरु, नेपाल सरकारका कर्मचारी र राजनीतिक दलमा नै आवद्ध व्यक्तिहरु यसका अगुवा भएको बताउँछन् । उनले कर्मचारीको मिलेमतोमा अहिले पनि तस्करी भइरहेको कुरा सरकारलाई थाहा छैन भन्दै प्रति प्रश्न गरेका पनि छन ।
हो, हुण्डी, सुन तस्करी र भिजिट भिषाको कारोवारमा समाजसेवी वा कर्मचारीको आवरणमा रहेका व्यक्तिहरु नै संलग्न रहेको घाम जत्तिकै छर्लङग छ । त्यसैले निर्लज्ज हुँदै समाजसेवीको खादा ओढेर तस्करीमा संलग्न हुनेहरु, हुण्डीको खेलो चलाउनेहरु र भिजिट भिषाको व्यापार गर्नेहरु अव धेरैदिन दुलो भित्र बस्न नपाउने स्थीति सिर्जना हुँदैछ । खाँचो छ त त्यस्ता व्यक्तिको नामावली संकलन गर्ने युएईस्थीत दुतावासको जाँगरको । दुतावासले यसरी नामावली बनाउन अगाडी सर्ने र आव्हान गर्ने हो भनें हुण्डी कारोवारी, सुन तस्कर र भिजिट भिषाका कारोवारी सजिलै पहिचान हुनेछन् ।
अर्कातर्फ सामाजिक संघसंस्थाहरुले पनि यसमा आफूलाई स्पष्ट बनाउनै पर्छ । तिनिहरुले कतै आफ्नै संस्थामा त्यस्ता व्यक्ति त छैनन भनेर छलफल चलाउन र शुद्धिकरण अभियान सञ्चालन गर्न जरुरी छ । के यसका लागि युएईमा क्रियाशिल सामाजिक संघसंस्थाका अगुवाहरु तयार छन् ? छन् भनें आउनुहोस् सामाजिक बहिष्कारका लागि सार्वजनिक आव्हान गरौं ।
यो पनि पढ्नुहोस्
काँचो सुनमा भन्सार छुटको मागः सिके राउतको बाटोमा एनआरएनए