हराएका मान्छे देखेका छौं भन्दै सयौं फोन कल 

हरिकृष्ण न्यौपाने (कुवेत)- बिहीवारको दिन थियो । कुवेतको स्थानिय समय बेलुकीको ५ः०० बज्नै लागेको थियो । देश परदेश डटकममा एउटा भिडियो सहित सामग्री प्रकाशित भयो । कुवेतमा करिव ५ बर्ष देखि हराएका नवलपरासीका  बोधबहादुर महतोको बारेमा त्यो समाचार थियो । मैले सो व्यक्तिको खोजिका लागि अनुरोध सुरु गरें । सो समाचारलाई तीतोपाटी डटकममा पनि साभार गरियो ।     

उनको घर नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवामै गएर देश परदेश टिमले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रको सहयोगमा बोधबहादुरको बच्चाहरु, घर परिबेश अनी श्रीमती योगमायाको बियोगको यथार्थता भिडियोमा कैद गरिएको थियो । सो भिडियोमा बोधबहादुर मलेशिया हुँदाको फोटो र उनलाई चिन्ने कुवेतमा रहेका जो कोही नेपालीले पनि मसँग सम्पर्क गर्न मेरो नम्वर दिईएको थियो । बियोगको पिडा र वास्तविक दुःखको भोगाइ भएको भिडियो हेर्ने जो कोहिको पनि मन भक्कानिन्थ्यो ।  

पासपोर्ट नं, कुवेतको कम्पनी, अहिले बस्ने ठेगाना वा कुवेत पठाउने मेनपावरको बारेमा समेत कुनै पनि जानकारी नभएको र धेरै बर्ष पहिले सम्पर्क गरेको नं (अहिले काम नगर्ने)को आधारमा मात्र बोधबहादुरलाई भेट्न निक्कै कठिन थियो । तर पनि नेपाली दुतावास लगाएत कुवेतका संघसंस्था र त्यसका प्रतिनिधिहरुलाई सम्प्रेषण गरिएको समाचार सहित लामो समय देखि बेखबर भनिएका बोधबहादुरको खोजीका लागि फेसबुकको म्यासेज मार्फत अनुरोध पठाइ रहेको थिएँ । 

भिडियो सहितको समाचार सम्प्रेषण भएको करिब १५ मिनेटमै अग्रज पत्रकार तोयानाथ दाहालले मनिश राई मार्फत उनलाई प्राप्त भएको हराएका भनिएका बोधबहादुरको भाईबर नं र फोटो सहितको एउटा स्क्रिन सट पठाए । फेसबुकको म्यासेज बक्समा सुरज नाम लेखेर आएको उक्त नम्वरमा तत्काल सम्पर्क गरेँ । एक महिलाले फोन उठाइन् । मैले सुरज दाईलाई पाउन भने पछी उनीले तपाईं को, कहाँबाट धेरै प्रश्नहरु तेस्र्याइन । मैले म सुरजसंगै काम गर्ने साथी भने पछी उनले सुरजलाई फोन दिईन । जब सुरजसंग कुरा हुन थाल्यो, म आफैं अप्ठ्यारोमा परें । कसरी वास्तविकता खोल्नु ? मैले नमस्कार सुरज जि भन्दै हाल खबर सोधेँ । उनले नमस्ते भन्दै तपाईं को कहाँ सोध्न थाले । मैले तपाईंको घर नवलपरासी हो भन्दा हो भने अनी नाम बोधबहादुर हो भन्ने बित्तिकै उनले फोन काटिदिए । अर्को नम्वरबाट कल गरें । फोन नै उठेन, धेरै प्रयास गरे फोन उठाएनन ।

२, जुन२०१६ को त्यो साँझ मेरो लागि तनावमै बित्यो । किनकी ५ बर्ष देखी हराएका भनिएका बोधबहादुरसँग १५ मिनेटमै फोनमा सम्पर्क भएर पनि कुरा हुन सकेन । उनले कुरा गर्नै चाहेनन । तर एक्कासी १० बजे पछी भने उनलाई राम्रोसँग चिन्ने ब्यक्तीहरुको फोन आउन थाल्यो । खासगरी बोधबहादुर अबैधानिक विवाह गरी करिब ४ बर्षको छोरी सहित आफु पनि अबैधानिक भएकोले लुकेरै काम गर्ने अनी घरको कुरा गर्न नचाहने उनलाई चिन्नेहरुले बताए । यसै क्रममा बिक्रम, भवानी, श्रीकृष्ण, सुमन लगाएतले बोधबहादुरको बारेमा वास्तविकता बताए भने नेपाली समाजका सहयात्री मित्रहरु नवराज पराजुली, दावा थोकर, दिल पुनले पनि बोधबहादुरलाई राम्रोसँग चिनेको जानकारी पाएँ । रातभर र त्यो हप्ता भर कुवेतमा रहेका धेरै बिशेष गरी नवलपरासी, चितवन, बुटवल तथा अन्य ठाउँका नेपाली दाजुभाइ, दिदिबहिनीहरुले फोन र म्यासेज पठाए । त्यो रात निन्दै परेन र बिहान करिब ८ बजे उनको एकजना मिलनसार साथीले मलाई फोन गरेर बोधबहादुर(सुरज) केही डराएको तर कुरा गराउन सक्ने जानकारी दिए ।

मैले उनै मित्र मार्फत जुन ३ शुक्रबारका दिन बोधबहादुरसँग फोनमा लामो कुरा गरे । उनलाई मसँग नडराउन र सकेसम्म छिटो घर परिवारमा सम्पर्क गर्न अनुरोध गरें । उसलाई धेरै सम्झाइ बुझाई गरेपछी उनले मलाई भेट्न वा नेपाली दुतावास जान मन्जुर गरे पनि पछी केही उनकै साथीहरुले अवैधानिक भएका कारण दुताबास नजान र मलाई नभेट्न सल्लाह दिएछन ।

मैले दुतबासमा जुन ५ आईतवार  बिहान बोधबहादुरलाई ल्याएर दुताबासबाटै उनको परिवारलाई फोन गराउने कार्यक्रम तय गर्दै दुताबासमा समय लिएको थिए । तर उनले आफु अबैधानिक भएको र बाटोमा आउँदा जाँदा समस्या हुने भएकोले दुताबास जान इन्कार गरे । बोधबहादुरले घरमा सम्पर्क गर्छु, तर दुताबासमा जाने र तपाईंलाई भेट्ने कुरामा मलाई वाध्य नपार्नुस भने पछी मैले उसलाई कर गरिन । उनी म बस्ने नजिकै कुवेतको मंगफमा बस्ने भए पनि उनलाई अझै भेट्न गईन । सुल्तान कम्पनीमा आएर त्यो कम्पनीबाट अन्तै भागी अबैधानिक भए पनि राम्रोसँग काम गरिरहेका बोधबहादुरले कुवेतमै विवाह गरी छोरी समेत जन्माइ सकेको हुँदा अब केही समय यसरी नै बिताउने बताए ।

बारम्बारको कुराकानी र सल्लाह पश्चात बोधबहादुरले घरमा फोन गरेको खबरले खुशी छु । तर बोधबहादुर जस्तै बिदेश आएर बिदेशको सुख सयलमा भुल्दै आफ्नो परिवारिक अस्थित्व भुलेर बेखबर हुने घट्ना दिन प्रतिदिन बढ्दै गएको प्रति भने दुःखी छु ।

यती मात्र होइन, केही क्षणिक आनन्द र यौनिक मायापिरतीका लागि आफ्नो घरबार,बुवाआमा, आफन्त, श्रीमती वा श्रीमान, बालबच्चा देखी टाढिदा अनी आफ्नो कर्तब्यबाट हात झिक्दा आफु आश्रित परिवारहरुको हाल के होला ? सबैले सोच्न जरुरी छ ।

यो पनि पढ्नुहोस् 

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय