मे दिवस अर्थात श्रमिकले जितेको दिन

काठमाडौं, हरेक बर्ष मे १ का दिन संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको माग सहित अमेरिकालगायत विश्वभरी नै मजदुरले गरेको संघर्षको सम्झना गर्दै श्रमिक दिवस मनाउने गरिएको हो । सन् १८८९ मा आजकै दिन अर्थात मे १ बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए । नेपालमा पनि २००७ सालपछि मजदुर दिवस मनाउन थालियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि भने यो दिनमा सार्वजनिक बिदा दिन थालिएको छ।

सन् १८८६ को मे ४ मा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको सम्झनामा मे दिवस मनाइन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो सहरका श्रमिकहरूले गरेको मजदुर आन्दोलनमाथि भएको भीषण दमनपश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुरवर्गले मनाउने गरेको यो दिवसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ। १८८९ मा फ्रान्सको राजधानी पेरिसमा भेला भएका श्रम संगठन र नेताहरूको बैठकले विश्वव्यापी रूपमा श्रमिक दिवस मनाउने निर्णय गरेको थियो ।

सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घण्टासम्म काममा लाग्नुपर्ने बाध्यता व्यहोरेका थिए। जसविरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो। अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा ग¥यो। फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सम्पत्र भयो र विश्वकै इतिहासमा पहिलोपटक श्रमजीवी वर्गको समाजवादी राज्य सत्ता स्थापना भयो।

हुनतः सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो। तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा ग¥यो। त्यति मात्र होइन, रुसी क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो। अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ। यसरी मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ। आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि नेपाली श्रमिकको साथ नभएको भए २००७ सालदेखि २०४६ अनि २०६३ सालसम्मको आन्दोलन सफल हुने थिएन । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ जसमा धेरै नेपाली अटाएका छन् । विगतमा शारिरीक श्रम गर्नेहरुलाई मात्र श्रमिक मान्ने परिपाटीमा फेरवदल आइसकेको छ । नेपाली नेपालभित्र मात्र श्रममा संलग्न छैनन, विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ। यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करहरूमध्येको अधिकांश हिस्सा तिनै श्रमिकको पसिनाको उपज हो। अहिले उत्पादन क्षेत्रमा वैज्ञानिक पद्धति प्रवेश गरिसकेको छ। पहिला धेरै उत्पादनलाई धेरै श्रम शक्ति लगाउनुपर्ने अवस्था थियो भने अहिले थोरै श्रमबाट धेरै उत्पादन गर्न सक्ने प्रविधिको विकास भएको छ। आर्थिक विकासको गति नयाँ क्षेत्रहरूमा सरिरहेको छ भने श्रमिक आन्दोलनको प्रकृति पनि परिवर्तन भएको छ। यस्तो अवस्थामा देशको ट्रेड युनियन आन्दोलनको नेतृत्व पंक्तिले पनि श्रमिक आन्दोलनको ढाँचालाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने जरुरी भएको छ।

कोभिडले थिलथिलो बनाएको विश्व अर्थतन्त्र पछिल्लो समयका युद्धहरुले अझ खराव अवस्थामा पुर्याएको छ । तसर्थ श्रमिकको जीवन अझ कष्टकर भएको छ । महँगी अचाक्ली छ । कमाईको क्षेत्र संकुचित भइरहेको अवस्थामा भएको मूल्यवृद्धिको मारमा गरिखाने वर्ग अझ बढी परिरहेको छ । यो अवस्थामा श्रमिकको रक्षा र उन्नयनका लागि ट्रेड युनियनहरुले अझ सशक्त भूमिका खेल्नु पर्ने खाँचो देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय