‘भिजिट भिषा’मा आउनेहरु होसियार 

मेघराज सापकोटा, युएई

संयुक्त अरब ईमिरेट्स (युएई) मा भिजिट भिषामा आएर काम खोज्ने नेपालीहरुको संख्या अत्यधिक बढ्न थालेको छ । सरकारले भिजिट भिषामा कडाइ गरे पनि त्रिभुवन विमानास्थलको अध्यागमन पार गरेर सेटिङमा उनीहरु काम खोज्नको लागि युएई आईपुगेका हुन ।

यसरी भिजिट भिषामा युएई आउनको लागि उनीहरुले कम्तीमा २ लाख ३० हजार देखि ५ लाख रुपैयाँसम्म एजेन्टलाई बुझाउने गरेका छन । भिजिटमा आउनेहरुलाई एजेन्टले दुबई वा अबुधाबीमा एउटा कोठामा २५ जनासम्म राख्ने गरेको पाईएको छ । दुबईमा काम लगाइदिने शर्तमा ल्याए पनि यहाँ आए पछी एजेन्ट फरार हुने गरेका कारण धेरै नेपाली बिचल्लीमा पर्ने गरेका छन । १ महिना अवधिको भिषा सस्तो पर्ने हुनाले दलालले प्रायः १ महिना अवधिको भिषा निकाल्ने हुनाले भिषाको समयावधि सकिए पछी कतिपय नेपाली गैरकानुनी रुपमा बस्न वाध्य बनेका छन भने कतिपयले भिषा थप्दै बसेका पनि पाईन्छ ।

भिजिट भिषामा आउनेहरु प्रायः दलाल मार्फत नेपालबाट सिधै युएई आईपुगेका हुन । केही युवतीहरु भने भारत र श्रीलंका हुँदै पनि आउने गरेको पाईन्छ ।

कसरी थप्छन भिषा ?

नयाँ भिषा थप्नको लागि नजिकैको अर्को मुलुक जानु (एक्जिट) अनिवार्य छ । यसको लागि ४ हजार दिर्हाम (१ लाख २० हजार रुपैयाँ) लाग्ने गरेको छ । पहिले युएईबाट एक्जिट “किश” शहर (ईरानको अधिनमा रहेको सानो टापु) जाने गरे पनि अहिलेलाई किश एक्जिट बन्द गरिएको छ । कोही कोही ओमान तिर पनि जाने गरेको पाईन्छ । दुबई, शारजाह र रस अल खैमह राज्यमा हुनेहरुले ४८ घण्टामा अर्को भिषा पाउनु पर्ने गरी एक्जिट भई एअरपोर्टमै बसेर पनि अर्को भिषा थप गर्ने गरेका छन । तर यसो गर्नको लागि सम्बन्धित एयरलाइन्सको टिकट लिन जरुरी छ । कुनै कुनै राज्यमा भने हावाइजहाज चढेर ओमानको मस्कट गएर सोही जहाजमा फर्केर एयरपोर्टमै अर्को भिषाको प्रतिक्षा गर्ने गरेको पाईन्छ ।

एक्जिट जानको लागि मस्कटको लागि हवाइजहाजको टिकटको मुल्य ३५० दिर्हाम देखि ५०० सम्म पर्दछ भने एअरपोर्टमा २ हजार दिर्हाम (झण्डै ६० हजार रुपैयाँ) धरौटी राख्नु पर्ने हुन्छ । नयाँ भिषा आएको खण्डमा १०० दिर्हाम काटेर बाँकी १,९०० दिर्हाम फिर्ता गरिन्छ । थप ३ महिनाको भिषाको लागि कम्तीमा १,१०० दिर्हाम देखि १,४०० दिर्हामसम्म खर्च हुनेगरेको छ । भिषा आईसके पछी एयरपोर्ट शुल्क बापत थप ५० दिर्हाम पनि तिर्न जरुरी हुन्छ । तर यसो गर्दा ४८ घण्टा भित्र अर्को भिषा आईसक्नु पर्दछ ।

भिषा आएन भने सुरक्षाकर्मीले डिपोजिट राखेको रकमबाट टिकट काटेर नेपाल फिर्ता पठाउने गरेको छ । यसरी हेर्ने हो भने ३ महिनाको भिषा थप गर्नको लागि अन्य खर्च सहित कम्तीमा २,५०० दिर्हाम (डिपोजिट बाहेक) खर्च हुने देखिन्छ । त्यति रकम जोहो नगरी आएर युएईमा अप्ठ्यारोमा पर्नेहरुको संख्याको कुनै कमि छैन । त्यसैले भिजिट भिषाको सपना देखिरहेकाहरुले यसमा ध्यान दिन आवश्यक छ । 

भिजिट भिषामा आएर पनि काम पाउने कुनै ग्यारेन्टी भनें हुँदैन । काम नपाएको खण्डमा फर्किनुको बिकल्प छैन । कसैले पनि गैर कानुनी तवरले युएईमा बस्छु भनेर सोच्ने मुर्खता गर्नु हुन्न ।

भिजिट भिषामा इन्सुरेन्स किन गर्ने ?

भिजिट भिषामा आउनेहरुको इन्सुरेन्स प्रायः गरिएको हुँदैन । भिजिट भिषामा रहेको अवस्थामा बिरामी भएको खण्डमा उपचार एकदमै महँगो छ । अझ दुर्घट्ना भई अस्पतालमा भर्ना हुनुपरेमा झनै उपचार झनै कठिन छ । तसर्थ भिजिटमा युएई आउन चाहनेहरुले इन्सुरेन्स सुबिधा लिन अत्यन्तै जरुरी छ । सामान्यतय भिजिट भिषामा १ महिनाको ४० दिर्हाम र ३ महिनाको लागि ९० दिर्हाम इन्सुरेन्स शुल्क लाग्ने गरेको छ । हवाइजहाजको टिकट लिदा पनि इन्सुरेन्स सुबिधा किन्न जरुरी छ ।

भिजिट भिषामा युएई आएर मृत्‍यु भएका बिशाल मेचेको जिम्मा कसले लिने ?

भिजिट भिषामा युएई आएका धाइजन ३ झापाका २१ बर्षिय बिशाल मेचेको गत १६ जुन मा हृदयघातका कारण मृत्‍यु भयो । उनी गत ३ जुनमा युएई आएका थिए । भिजिट भिषामा आएका उनी काम खोजेर यतै बस्ने तयारीमा थिए । कोठामा दिउँसो १२ बजे अकस्मात पिसाब गर्न अप्ठेरो भएका मेचे सिकिस्त बनेपछि तुरुन्तै एम्बुलेन्समा उपचारको निमित्त  शारजाहको कासमिया हस्पिटल पुर्याए पनि हस्पिटल पुर्याउनु पुर्व नै मेचेको निधन भएको थियो ।

मृतकका दाजु अमित मेचे युएई मै थिए । तर पनि उनले आफ्ना भाईलाई दलाल मार्फत झिकाउनु बाध्यता थियो । किनकी नेपाल सरकारले भिजिट भिषामा खाडी राष्ट्र जान कडाइ गरेको छ । तिनै नेपाल सरकारका कर्मचारीलाई घुस खुवाएर युएई आउन भने छुट छ । दैनिक सयौको संख्यामा भिजिट भिषामा युवा युवतीहरु खाडी आईनै रहेका छन । 

भिजिट भिषामा आएका कारण उनको शबलाई नेपाल पठाउन लाग्ने खर्च (झण्डै ३ लाख रुपैयाँ) मृतकका आफन्तले नै बेहोर्नु पर्ने देखिन्छ । नेपाल सरकारसँग खर्च गर्ने उक्त रकमको बजेट छैन । गैर कानुनी ढंगले मेचेलाई युएई पठाउने दलाललाई पनि उक्त जिम्मेवारीले छुदैन । २५ प्रतिशत तलव बृद्दीका मात लागेका त्रिभुवन एअरपोर्टमा बस्ने अध्यगमनका घुसखोरी कर्मचारीलाई त छुने कुरै भएन । तसर्थ युएईमै भएका नेपालीहरुका संघ संस्थाहरुको काँधमा उक्त जिम्मेवारी थपिएको छ ।  

फ्री भिषा फ्री टिकट भन्दै भिजिट भिषामा पठाउदै सरकार

सरकार फ्री भिषा फ्री टिकट भन्दै भिजिट भिषामा युवायुवतीहरुलाई युएई धपाउदैछ । अहिले युएईका प्रतिष्ठित कम्पनीहरुमा भिजिट भिषामा काम खोज्नेहरुको लर्को देख्न सकिन्छ । महिना महिनामा नेपाल गएर कामदार ल्याउने कम्पनीहरुले युएईमै कामदार पाउन थालेका छन । नेपाल सरकारले तोकेको कानुनी प्रकृया झन्झटिलो मान्ने उनीहरुले अब कुनै शर्त मान्न जरुरी छैन । नेपाल सरकारले तोकेको तलव, सेवा सुबिधाका शर्तहरु मान्न जरुरी छैन । कम्पनीको अन्य बिबिध खर्च जोगिएको छ । सहज रोजगारी कठिन बन्दै गएको बेला नेपालीहरु जस्तो पनि काम गर्न तयार हुनुले कम्पनीलाई सेवा शर्त तोक्न झनै सजिलो बनेको छ । कामदारहरुको तलवबाट भिषाको लागतको रकम प्रत्येक महिना काट्ने गरे पनि काम गर्नु पर्ने कामदारहरुको बाध्यता छ ।  

यसको मारमा म्यानपावर ब्यवसायीहरु समेत परेका छन । युएईका कम्पनीले युएईमै नेपाली कामदार पाउन थाले पछी नेपालका म्यानपावर कम्पनीलाई कामदार माग गर्न छाडेका छन । पठाउनेले त पठाइरहन्छ किनकी त्यसरी आँखा चिम्लेर जानेहरु उनीहरुका लागि सुनको फुल पार्ने कुखुरा नै हुन । तर त्यसरी कुखुरा हुन तम्यतार हुनेहरु सचेत हुन उत्तिकै जरुरी छ । 

सरकार, यो बेथितिलाई रोक्न ढिलो भएन ? कि यो कमाउ धन्दा चलि नै रहनेछ ? 

यो पनि पढ्नुहोस्  

साउदीको २० हजारको जागिर छोडेर फर्केर नेपालमै महिनामा एक लाख कमाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: