छोरीले एसएलसी दिए घर खान्दान, छोराका लागि पासपोर्ट 

 

काठमाडौं– मगु माग्रीका मञ्जन देवकोटा गत चैतमा मुगुबाटै प्रवेशिकाको परीक्षा दिएपछि कमाउन कैं लागि भारतको मुम्वई हान्निए । तीन महिना मुम्वई नगरीमा रमाएका देवकोटा प्रवेशिकाको नतिजा सार्वजनिक भएसँगैं घर फर्किए । घर आएका देवकोटा वैदेशिक रोजगारीमा जानैकै लागि अहिले काठमाडौंको यात्रामा छन् । उनलाई आफु कुन ग्रेडिङमा उत्तिर्ण भएँ भन्ने कुराको खास चासो पनि छैन । पासपोर्ट बनाएर विदेश उडाई दिने शर्तमा उनी एकजना आफन्तको साथ लागेर काठमाडौं आउँदै छन् । 

देवकोटाका लागि प्रवेशिका परिक्षाको नतिजाको अर्थ फरक छ । त्यो उनका लागि बैदेशिक रोजगारीमा जाने योग्यता पुगेको लाइसेन्स जस्तै हो । अवको केहि दिनमै उनी हरियो पासपोर्ट हल्लाउँदै उनको कल्पनाको कुनै ‘कमाउ देश’ उड्नेछन् । 

देवकोटा त एउटा केवल प्रतिनिधिपात्र मात्र हुन् । उनी जस्ता हजारौं प्रवेशिका दिएका युवालाई उच्च शिक्षा भन्दा अव भविष्यको चिन्ता छ । त्यसैले त्यसरी भर्खरै प्रवेशिका उत्तिर्ण गरेपछि उनीहरु राम्रो उच्च माविको साटो मेनपावरका कार्यालयमा हाजिर हुँदैछन् उनीहरुका ग्राहकका रुपमा । नेपालको श्रम बजारमा बार्षिक ४ लाख जनशक्ती थपिने गर्छ । र, त्यसरी थपिनेमा तिनै प्रवेशिका दिएका किशोर–किशोरीहरु पर्दछन् । 

मेनपावरले सामान्य लेखपढ गर्न जानेकालाई अघिल्ला बर्षसम्म एसएलसी पास भएको भए काम राम्रो पाईन्थ्यो भनेर सेवा र पारिश्रमिकको वार्गेनिङमा चुकाउँथे । तर यस पटक भने प्रवेशिकाको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएपछि कसैको लब्धांक पत्रमा फेल लेखिएको छैन । जो विगत बर्षमा ३२ अंकमा आधारित पास–फेलको मापदण्डमा पर्न नसक्नेहरुका लागि यो वर्षको गे्रडिङ प्रणाली वरदान सावित भएको छ । 

देवकोटाको स्तर पनि विगतको परीक्षा प्रणाली कायम रहेको भए ३२ अंकको मापदण्ड भेट्टाउन नसक्ने अवस्थाकै हो । तर उनका हात, पाखुरा र शारिरिक तन्दुरुस्ती भने विगतको नतिजा प्रणालीमा मापन गर्ने हो भने विशिष्ट भन्दा कम छैन । अहिलेको ग्रेडिङ प्रणाली मैं मापन गर्ने हो भने ‘ए प्लस’ भन्दा कम छैन । तर उनको विश्वविद्यालय भनें फरक छ । उनी विश्व श्रम बजारको कुनै कुनाको एउटा कामदार हुने पक्का छ । तर त्यो देश कुन हुने, त्यहाँ गर्नुपर्ने काम के हो उनले भेउ पाएका छैनन । तय छ त उनको बैदेशिक रोजगार । उनलाई यति मात्र थाह छ, अव प्लेन चढिन्छ, विदेश गईन्छ, काम गरिन्छ र फर्किदा पैसा कमाएर आइन्छ । न त उनलाई विदेश जाँदाको लागतको जानकारी छ, न उनलाई कुन मेनपावरबाट जाने भन्ने चासो छ, उनलाई आफन्त दलालले काठमाडौं झिकाएका हुन् । 

मेनपावर व्यवसायका लागि प्रवेशिकाको नतिजाले पनि जनशक्ती उत्पादन गर्छ भन्ने जानकारी छ । सुगम बस्ती र समृद्ध परिवारका सन्तानलाई प्रवेशिकाको नतिजा उच्च शिक्षाको अवसर भएपनि विपन्न र दुरदराजका वस्तीका अभिभावकका लागि एसएलसी, त्यसपछि सन्तानले कमाउने आश बढाउने खड्गो हो जुन यसबर्ष धेरै अभिभावका लागि सहज भएको छ । 

हो, यो आर्थिक संकट झेलिरहेका थुप्रै गरिव परिवारको बाध्यता हो । यहि बाध्यतालाई गाउँका र शहरका दलाल देखि मेनपावर कम्पनीसम्मको कमाइ खाने माध्यम हो । त्यसैले मञ्जन देवकोटा जस्ता युवा आफैं कुनै दलालको चंगुलमा परेर राजीखुशीका साथ ठगिइन राजधानी धाइरहेछन् । 

हुनु के पर्दथ्यो भनें, प्रवेशिका परिक्षा पछि उच्च शिक्षा पढ्नेहरु आफूलाई अव्वल लागेका उच्च माविमा भर्ना भएर पढाईलाई अगाडी बढाउन् । त्यो गर्न नपाउने वा नसक्नेहरु कुनै सीप सिक्न लागुन् । खास निश्चित अवधिको सीपमुलक तालिम वा व्यावसायिक तालिम लिएर आत्मनिर्भर बन्न सकुन् । 

तर दुःखको कुरा, हरेक बर्ष १८ वर्ष पुरा भएका २ लाख व्यक्तिले नयाँ पासपोर्ट बनाउने गरेको राहदानी विभागको तथ्यांक छ । तिनिहरु मध्ये झण्डै शतप्रतिशत मध्यपूर्वका देश र मलेशियाको रोजागार वजार पुग्छन् । पछिल्लो तथ्याँक अनुसार दैनिक १२ सय भन्दा धेरै रोजागारीका लागि त्रिभुवन विमानस्थल भएर बाहिरिने गरेका छन् । भारतको बाटो भएर असुरक्षित रुपमा उड्नेहरुको संख्या कुनै निकायसँग छैन । 

स्वदेशको श्रम वजारबाट पलायन भएको जनशक्तीले मुलुकको अर्थतन्त्र धनेको छ । मुलुकको गार्हस्थ्य उत्पादन (जीडीपी)मा २९ दशमलव २ प्रतिशत रेमिट्यान्सले योगदान गरेको छ । गएको आर्थिक बर्षमा ६ खर्व १७ अर्व रेमिट्यान्स पठाउनेहरुले नै देशको आर्थिक कृयाकलापलाई चलायमान बनाएको यथार्थ हो । 

प्रवेशिका परिक्षाको नतिजा धेरैका लागि विविध अवशर लिएर आएको छ । मञ्जन देवकोटा जस्ता युवाका लागि कमाउने देश जान ठूलो जहाज चढ्ने सपना पुरा गर्ने अवशर लिएर । उनका बाबुआमाका लागि अव कमाई हुन्छ भन्ने विश्वास लिएर । विभिन्न चरणका दलालहरु र बैदेशिक रोजगार व्यवसायीका लागि लैना गाई रुपी युवा लिएर । सरकारका लागि केहि करोड रेमिट्यान्स थप्ने युवा जनशक्ति लिएर । अनी कामदारका भोका कुनै देशका लागि १६-१८ घण्टा खट्ने सस्तो कामदार लिएर । हो, त्यसैले प्रवेशिका परिक्षाले धेरैका लागि धेरै खालका अवशरहरु लिएर आयो । 

त्यसैले त आजभोलि गाउँघरतिर एउटा आहान चलेको छ, ‘छोरीले एसएलसी दिए घर खान्दान हेरिन्छ । छोराले एसएलसी दिए पासपोर्ट बनाउन ऋण खोजिन्छ ।’ 

यो पनि पढ्नुहोस् 

तातो खाडीको कडा रमादान भोग्दै गैर मुस्लिमहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय