बाबु बेपत्ता भए नेपालमा, छोरो मलेसियामा

सुनिल न्यौपाने, सुनसरी 

गर्मी चढ्दै गएको बेला । पूर्वी तराईको एउटा दक्षिणी गाउँ । हामी(भेषराज पोखरेल र म) तारादेवी भुजेलको घर खोज्दै विहानै सुनसरीको रामगञ्ज बेल्गछिया पुग्यौं । सानो गाउँका बीचमा भेटियो तारादेवीको घर । घरमा जेठो छोरा, बुहारी र नातिनी छन् । एउटै घरमा बसेपनि उनीहरुको भातभान्सा भनें अलग्गै छ । तारादेवीसँग छन् उनका छोरी र ज्वाईं ।

२०५८ सालको कुरो । तारादेवीका श्रीमान कर्णबहादुर भुजेल विहानको खाना खाएर निस्केका थिए । लगत्तै गाउँमा खवर आयो उनलाई सेनाले समातेर लग्यो । तारादेवीले त्यसपछि सेनाका व्यारेक, प्रहरीका चौकी धेरै चहारिन् श्रीमान् खोज्दै । तर उनी कतै फेला परेनन् । हरेक ठाउँबाट उनले जवाफ पाइरहिन् हामीलाई थाहा  छैन ।

यो पीडाको आँशुलाई उनले जसोतसो धानिरहिन् । हुर्कंदै गरेका छोराछोरी थिए । तिनकै मुख हेरेर उनी घरव्यवहार धानेर बसिन् । यहिबीचमा उनले जेठो छोरा र छोरीको विहे गरिदिइन् ।

कान्छो छोरो दिपक कमाउन कतार गए । त्यहाँ तीन बर्ष बसेर फर्के उनी । केहि समयको नेपाल बसाई पछि उनी मलेसिया जान ठिक्क परे । छोरो हिंड्दाको सम्झना ताजै छ तारादेवीलाई । उनी भन्छिन् “मैले हिंड्ने बेलामा पनि टीका लगाईदिंदा रुन मन लाग्ला, लगाई दिन्न टीको, तेरो टुँगो पनि छैन जाने, त्यसैले कुनै मन्दिरमा गएर मेरो नामको टीको सम्झेर मन्दिरको प्रसादी लगाउनु भन्दा होइन आमाको हातको टीको लगाएर जान्छु भनेर टीको लगाएर गयो ।”

२०७१ भदौको कुरा हो । डेल्टा मेनपावर कम्पनीबाट उनी मलेसियाको लियोपार्ड नामको कम्पनीमा काम गर्न मलेसिया उडे । उनले त्यहाँ पुगेर आफू काममा लागेको र काम पनि ठिकै छ भन्ने खवर गरे । बेला बेला फोनमा कुरा हुन्थ्यो । ३० हजार पैसा पनि पठाए । नराम्रो मान्नुपर्ने कुरा केहि थिएन ।

पूर्वी तराईमा दशैं र तिहार पछि आउने छठ पर्वको ठूलै महत्व छ । सूर्यको उपासना गरिने यस पर्वलाई निक्कै धुमधामका साथ मनाइन्छ । भुजेल परिवारले पनि बर्षौदेखि यो पर्व मनाउँदै आएको छ ।

दिपक मलेसिया गएको दुई महिना भएको थियो । छठको दिन विहान उनले घरमा फोन गरे । आमासँग भलाकुसारी, सञ्चोविसञ्चोको कुरा गरे । अनी आफ्नो पनि राम्रो होस् भनेर छठमा भाकल गरिदिन भने । तर दुर्भाग्य राम्रो भविष्यको कामनामा भाकल गरिदिन गरेको त्यहि फोन नै अहिलेसम्मका लागि अन्तिम फोन भएको छ । दिपक त्यसयता बेखवर छन् ।

“गएर ठिकै भो, अव काममा लागें, राम्रै छ काम भन्थ्यो । नराम्रो त केहि देखाएन । राम्रै छ ठिकै छु भन्थ्यो, त्यसपछि त खै केहि खवर छैन । अस्ती कात्तिकमा एक बर्ष नाघेर यति आयो । खै कुनै अत्तोपत्तो छैन” दिपककी दिदि संगिताले भनिन् ।

कतारबाट फर्केपछि दिपकलाई आमाले त मलेसिया न जा भनेकी थिइन् रे । लरक्क परेको ज्यानको छोरो कतै मलेसियामै भुलेर हराउला की भन्ने डर पहिल्यै रहेछ तारादेवीलाई । उनी भन्छिन् “मान्छे पनि ठूलो ज्यानको थियो, राम्रो पनि छ । त्यसैले मैले के भनेकी थिएँ भनें तँ जता गएपनि केटी मन पराउँछस्, तैले कुनै केटी खोजेको छन् भनें कमाएर आइज तँ जुन केटी भन्छस् म त्यैसँग विहे गरिदिन्छु । तर मलेसियाको ठाउँमा केटीहरु धेरै हुन्छन अरे, त्यस्तो लफडामा चैं नपर है भनें । हाँस्दै त्यस्तो केहि छैन भन्दै गएको ।”

छोरो बेखवर भएपछि तारादेवी कहिले मेनपावरको कार्यालयमा दौडिरहेकी छन् त कहिले ज्योतिषीकोमा हात देखाउन पुग्छिन् । कसैले उनको जेल परेको छ भन्छन्, कसैले थुप्रै पैसा कमाएर सुख्खले बसेको भन्छन् । तारादेवीलाई चाहिं छोराले एकपटक फोन मात्रै गरिदिए पुग्थ्यो भन्ने लागेको छ । “छोरालाई त म के भनौं र ?” उनी भन्छिन् “कमाउन पठाएको हो, कमाउन सकिनस् भनें घर आइज । उसको कमाई मलाई चाहिएन । कुनै केटीसँग उतै घरजम गरेर बस्न मन छ भनें पनि म आमा हुँ, मसँग भन्न अप्ठ्रो छ भनें दिदि भिनाजु हुनुहुन्छ । कसैलाई पनि म ठिकै छु, राम्रै छु, म यतै घरजम गरेर बस्छु भन्दियो भनें पनि मलाई हुन्छ ।”

यो तस्वीरमा देखिएका दिपक भुजेललाई तपाईले मलेसियामा कहिं देख्नु भएको छ की ? देख्नुभएको छ भनें तपाईले नेपालमा परिवारलाई ९८००९८०२१५ मा खवर गरिदिनु होला । यसैगरी सरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, सुनसरीको फोन नम्वर ०२५-६२०६८८ मा पनि खवर गरिदिन सक्नुहुन्छ । देश परदेशका मलेसिया सहकर्मी सुदिप निउरेको सम्पर्क नम्वर ०१६७१०५२३० मा पनि तपाईले उनका बारेमा जानकारी गराइदिन सक्नुहुन्छ । आशा गरौं मलेसियामा बेखवर रहेका दिपक भुजेल परिवारको सम्पर्कमा आउनेछन् ।

(भेषराज पोखरेलको सहयोगमा)

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय