किन पठाउने खाडीमा खद्दामा ?

लक्ष्मण खनाल, युएई 

नेपालमा खाडीका देशहरुमा घरेलु कामदारका रुपमा महिलालाई पठाउने विषयमा छलफल हुने जानकारी प्राप्त भएसँगै हामी कार्यरत खाडीमा पनि यस विषयमा बहस सुरु भएको छ । 

घरेलु कामदार महिलाका बारेमा यहाँको परिस्थीति बुझ्न जरुरी छ । पहिलो कुरा त सुरक्षाको समस्या छ । सामान्य तरिकाले हेर्दा खाडी मुलुकहरु (मुस्लिम देशहरु) मा महिलाको इज्जत र सुरक्षा हुने भनिएता पनि महिला कामदारको हकमा त्यो देखिदैन । घरेलु कामदारहरुलाई मानसिक, शारिरिक यातना दिएका घटनाहरु प्रायः जसो बाहिर आउने गरेका छन । 

दोस्रो कुरा म्यानपावर वा दलालहरुले महिलालाई झुठ्ठा कुरा गरेर प्रलोभन देखाएर ल्यउने गरेका हुन्छन । नेपाली महिला कामदारहरु खाडीमा आएर शुरुमा घरमा रहेका विद्युतिय उपकरणहरु जस्तै आइरन, वासिंग मेसिन, ओभन, मिक्सरहरु आदी सहज तरिकाले चलाउन जान्दैनन् । त्यहि बहानामा तलब नदिने वा कम दिने गरेको पनि पाइन्छ । मलिकसँग त्यहिंबाट सम्बन्ध विग्रन्छ र शुरु हुन्छन् अन्य समस्याहरु । 

घरेलु कामदारको तलव धेरै राम्रो पनि हुँदैन । घरेलु महिला कामदारले खाडीमा कमाउने पैसा भन्दा धेरै पैसा नेपालमा नै थोरै मेहनत र समयमा कमाउन सक्छन । 

हुनत सरकारले नेपाली महिलालाई खाडीमा महिला कामदारको रुपमा जानलाई स्थगित गरे पनि विभिन्न बहानामा र भारत वा श्रीलंकाको बाटो हुँदै मोटो रकम दिएर नेपाली महिला खाडीमा आइपुगिरहेका छन् । यसको पछाडी देशमा रोजगारीको अवसर र उपयुक्त वातावरणको अभाव पनि हो । त्यसको लागि सरकारले तालिम र विभिन्न परियोजनाहरु ल्याएर महिलालाई नेपालमै स्वआर्जन गर्न सक्ने बनाउन पहल गर्नु पर्छ ।

खाडी मुलुकहरुमा रहेका घरेलु महिला कामदार विभिन्न समस्यामा परे भने पनि घरबाट निस्कन नपाउने, विभिन्न डर धम्की दिएर मालिकले दबाएर राख्ने र यौनजन्य समस्याहरु युवतीहरु भन्न डराउने वा लुकाउन खोज्ने आदी कारणले पनि तत्काल उद्दार गर्न पनि समस्या हुनेगर्छ । त्यसैले खाडीमा घरेलु महिला कामदार पठाउने नीति बनाउनुको साटो यसलाई पूर्र्ण रुपमा बन्द गरी अन्य क्षेत्रको रोजगारीमा पठाउने र स्वदेशमै रोजगारीका अवशरहरु सिर्जना गर्नु नै भोली समस्या आउन नदिने उपाय हो । 

(खनाल, नेपाल पत्रकार महासंघ युएई शाखाका सचिव हुन्) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय